Skip to main content
Advertisement1200×100-inside-1

लेखक: space4k

बाढीले ४ खर्ब ८ अर्बको क्षति, पुनर्निर्माणमा सवा ७ खर्ब आवश्यक : अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

काठमाडौं, १२ कात्तिक । भोटेकोशी तथा कालीगण्डकी करिडोरलगायतका क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोबाट चार खर्ब आठ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा प्रभावित नागरिकको पुनर्स्थापनाका लागि सात खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको सरकारले जनाएको छ ।

राष्ट्रियसभाअन्तर्गत गठित भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बिहीबार बसेको बैठकमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले क्षतिको विवरण प्रस्तुत गर्दै पुनर्निर्माणको काम छिट्टै अघि बढाउने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार बाढीबाट दुई खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ भने एक खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ ।

विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सरकारले विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) तथा छिमेकी मुलुक भारत र चीनसँग छलफल अघि बढाएको छ । पुनर्निर्माणमा सकेसम्म अनुदान र सहुलियतपूर्ण ऋण परिचालन गर्ने सरकारको योजना छ ।

सवा दुई खर्बका पुनर्निर्माण आयोजना अनुमोदन

सचिव उपाध्यायका अनुसार विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि विभिन्न मन्त्रालयबाट प्रस्ताव गरिएका दुई खर्ब २५ अर्ब ७७ करोड आठ लाख रुपैयाँ बराबरका आयोजना विपद् परिषद्बाट अनुमोदन भइसकेका छन् ।

सम्बन्धित मन्त्रालयहरूले प्राथमिकताका आधारमा आयोजना छनोट गरी खरिद प्रक्रिया र ठेक्का आह्वानका लागि अर्थ मन्त्रालयबाट आवश्यक सहमति लिने तयारी गरेका छन् ।

भौतिक पूर्वाधार, ऊर्जा तथा सिँचाइ क्षेत्रका आयोजनालाई प्राथमिकतामा राखेर पुनर्निर्माण अघि बढाउने तयारी भइरहेको छ ।

राष्ट्रिय योजना आयोगले विपद्पछिको विस्तृत आवश्यकता आकलन (पीडीएनए) गरिरहेको र उक्त अध्ययन अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

विपद् कोषमा १८ अर्बभन्दा बढी, स्थानीय तहमा साढे २४ करोड मात्रै

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पर्याप्त रकम भए पनि प्रभावित स्थानीय तहसम्म राहत रकम पुग्ने प्रक्रिया सुस्त देखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीका अनुसार दुवै कोषमा कुल १८ अर्ब २८ करोड पाँच लाख ३२ हजार ५९३ रुपैयाँ मौज्दात छ ।

तर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित जिल्लाका स्थानीय तहलाई हालसम्म २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराइएको छ । त्यसमध्ये १३ करोड ५० लाख रुपैयाँ स्थानीय तहमा पुगिसकेको जानकारी बैठकमा गराइएको थियो ।

सचिव दुवाडीले जटिल कानुनी प्रक्रिया र कोष सञ्चालनसम्बन्धी व्यवस्थाका कारण रकम परिचालनमा समस्या देखिएको बताए ।

उनका अनुसार विपद् व्यवस्थापनका लागि एक अर्ब रुपैयाँ निकासा गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहलाई रकम उपलब्ध गराउने व्यवस्था छ ।

विस्थापित परिवारलाई मासिक १५ हजार राहत

सरकारले बाढीबाट विस्थापित परिवारलाई अस्थायी आवासका लागि छ महिनासम्म आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

पाँच जनासम्म सदस्य रहेको परिवारलाई मासिक १५ हजार रुपैयाँ र पाँच जनाभन्दा बढी सदस्य भएको परिवारलाई थप प्रत्येक सदस्यका लागि मासिक दुई हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

त्यस्तै, विपद् व्यवस्थापन तथा उद्धारका लागि नेपाल प्रहरीलाई ९७ करोड, सशस्त्र प्रहरी बललाई ६६ करोड र नेपाली सेनामार्फत परिचालन हुने गरी ९१ करोड रुपैयाँसहित कुल दुई अर्ब ५४ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रभावितको पुनर्स्थापनाका लागि जग्गा पहिचान पूरा

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले भोटेकोशी बाढी प्रभावित नागरिकको पुनर्स्थापनाका लागि आवश्यक जग्गा पहिचानको काम सम्पन्न भएको जानकारी दिए ।

नापी विभागका महानिर्देशकको अध्यक्षतामा गठित समितिले उपयुक्त जग्गा पहिचान गरेको हो ।

प्रभावित नागरिकलाई पुरानो बासस्थानबाट धेरै टाढा स्थानान्तरण गर्दा समस्या हुने भएकाले सम्भव भएसम्म प्रभावित क्षेत्रनजिकै सुरक्षित स्थानमा बस्ती विकास गर्ने तयारी गरिएको छ ।

पहिचान भएका जग्गामा बस्ती विकास तथा पुनर्स्थापनाको काम पूर्वाधार विकास मन्त्रालयले अघि बढाउनेछ ।

निजी जग्गा खरिद तथा अधिग्रहण प्रक्रियालाई सहज बनाउन आवश्यक कानुनी संशोधनबारे समेत छलफल भइरहेको सचिव भुजेलले जानकारी दिए ।

उनका अनुसार भोटेकोशी बाढीबाट १६ वटा सहकारी संस्था प्रभावित भएका छन् । ती संस्थाको पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।

सरकारले विपद्मा ज्यान गुमाएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

पुनर्निर्माण छिटो अघि बढाउने सरकारको प्रतिबद्धता

सरकारले पुनर्निर्माणलाई नियमित बजेट, अन्तर्राष्ट्रिय अनुदान र सहुलियतपूर्ण ऋणसँग जोडेर अघि बढाउने तयारी गरेको छ ।

तर ठूलो आर्थिक क्षति, पुनर्निर्माणका लागि आवश्यक स्रोत र प्रभावित स्थानीय तहसम्म राहत रकम पुग्ने प्रक्रियाबीच देखिएको अन्तरले कार्यान्वयनमा चुनौती रहेको संकेत गरेको छ ।

संसदीय समितिले प्रभावित क्षेत्रको वास्तविक क्षति र पुनर्स्थापनाको अवस्थाबारे सरकारी निकायसँग विस्तृत विवरण माग गरेको छ ।

समितिले प्राप्त विवरणका आधारमा प्रभावित क्षेत्रमा स्थलगत अध्ययन गरी स्थानीय जनप्रतिनिधि र नागरिकसँग प्रत्यक्ष छलफल गर्ने तयारीसमेत गरेको छ ।

कोशीमा दसैँका १० दिनमा ५७ जनाको मृत्यु, २२५ घटनामा ६५ घाइते

विराटनगर, १२ कात्तिक। कोशी प्रदेशमा यस वर्षको दसैँ समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। तर चाडपर्वको १० दिनको अवधिमा विभिन्न आपराधिक तथा दुर्घटनाजन्य घटनामा ५७ जनाले ज्यान गुमाएका छन् भने ६५ जना घाइते भएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म प्रदेशका १४ जिल्लामा कुल २२५ वटा घटना दर्ता भएका छन्। ती घटनामध्ये आत्महत्या, कुटपिट, विष सेवन र आगलागीका घटना उल्लेख्य रहेका छन्। आत्महत्याका घटनामा मात्रै ४० जनाको मृत्यु प्रहरीको तथ्यांकअनुसार दसैँ अवधिमा आत्महत्यासम्बन्धी ४४ घटना भएका छन्। ती घटनामा ४० जनाको मृत्यु भएको छ।

त्यस्तै, कुटपिटका ३६ घटनामा ३१ जना घाइते भएका छन्। विष सेवनका २४ घटनामा तीन जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन्। प्रदेशभर आगलागीका २३ घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यसका अतिरिक्त धारिलो हतियार प्रहार, डुबेर मृत्यु, जनावरको आक्रमण तथा करेन्ट लाग्नेलगायतका घटनामा पनि मानवीय क्षति भएको छ। प्रहरीले विभिन्न घटनामा संलग्न रहेको आरोपमा ५९ जनालाई पक्राउ गरेको छ।

दसैँ सुरक्षामा आठ हजारभन्दा बढी प्रहरी परिचालन चाडपर्वका बेला शान्तिसुरक्षा कायम गर्न कोशी प्रदेश प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको थियो। दसैँ अवधिभर प्रदेशका विभिन्न जिल्लामा आठ हजार १३३ भन्दा बढी प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यात्रुको सुरक्षा र सहजताका लागि प्रदेशका ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको थियो। साथै मोबाइल तथा पैदल गस्ती, संयुक्त चेकजाँच र प्रमुख राजमार्गहरूमा स्कर्टिङको व्यवस्था गरिएको थियो। तिहार र छठमा पनि सुरक्षा व्यवस्था कडा बनाइने कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले छिटपुट आपराधिक तथा दुर्घटनाजन्य घटना भए पनि समग्र शान्तिसुरक्षाको अवस्था नियन्त्रणमा रहेको बताएका छन्। उनका अनुसार प्रहरीको सक्रिय परिचालन, नियमित गस्ती र सुरक्षा निगरानीका कारण दसैँमा ठूला सुरक्षा चुनौती उत्पन्न भएनन्।

आगामी तिहार तथा छठ पर्वलाई समेत सुरक्षित र व्यवस्थित बनाउन विशेष सुरक्षा व्यवस्थालाई निरन्तरता दिइने उनले जानकारी दिए। दसैँ शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीको मूल्यांकन रहे पनि १० दिनमै ५७ जनाको मृत्यु र ६५ जना घाइते भएको तथ्यांकले चाडपर्वका बेला दुर्घटना न्यूनीकरण, मानसिक स्वास्थ्य सचेतना र नागरिक सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।

इजरायलको चुनावमा नेतान्याहुलाई धक्का, विपक्षीलाई ६७ सिट तर सरकार गठनमा चुनौती

काठमाडौं । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धन पछाडि परेको छ । करिब ९० प्रतिशत मतगणना सम्पन्न हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ भने विपक्षी दलहरूले कुल ६७ सिट हासिल गरेका छन् । ‘द टाइम्स अफ इजरायल’का अनुसार विपक्षी दलहरूले समग्रमा बहुमत हासिल गर्ने संकेत देखिए पनि उनीहरूबीचको राजनीतिक विभाजनका कारण नयाँ सरकार गठन चुनौतीपूर्ण बन्ने देखिएको छ । हालसम्मको मतगणनाअनुसार यहुदी नेतृत्वका विपक्षी दलहरूले ४८ सिट र अरब नेतृत्वका दलहरूले १९ सिट प्राप्त गरेका छन् । तर यहुदी नेतृत्वका अधिकांश विपक्षी दल अरब नेतृत्वका दलसँग सत्ता सहकार्य गर्न अनिच्छुक देखिएकाले नेतान्याहुविरोधी गठबन्धन निर्माण सहज छैन ।

इजरायलको १२० सदस्यीय संसद् नेसेटमा सरकार गठनका लागि कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी दलहरूको कुल सिट संख्या बहुमतभन्दा बढी भए पनि राजनीतिक सहमति जुटाउन नसके सरकार गठनमा जटिलता आउन सक्छ । यसैबीच, विपक्षी नेता गदी आइसेनकोटले निर्वाचन परिणामले नेतान्याहु नेतृत्वको सरकारप्रति जनताको असन्तुष्टि र अविश्वास प्रकट गरेको बताएका छन् । उनले राजनीतिक परिवर्तन, राष्ट्रिय सुरक्षा र अनिवार्य सैनिक सेवाप्रति प्रतिबद्ध नयाँ सरकार गठनका लागि प्रयास गर्ने बताएका छन् ।

डेमोक्रेट्स पार्टीका अध्यक्ष यायर गोलनले पनि विपक्षी दलहरूबीच सरकार गठनका विषयमा वार्ता अघि बढाउने घोषणा गरेका छन् । उनले अरब नेतृत्वका दलहरूलाई समेत सहकार्यमा समेट्नुपर्ने धारणा राखेका छन् । गोलनले विवादास्पद न्यायिक सुधारका प्रयास रोक्न, लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउन र युवापुस्तामा भविष्यप्रतिको विश्वास जगाउन नयाँ सरकार आवश्यक रहेको बताएका छन् । यद्यपि, निर्वाचनको अन्तिम परिणाम आउन बाँकी छ । सैनिकसहितका मतदाताको बाँकी मतगणनाले सिट संख्यामा परिवर्तन ल्याउन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन् । अब इजरायलको राजनीतिक भविष्य अन्तिम मतपरिणामसँगै विपक्षी दलहरूबीच हुने सत्ता समीकरण र गठबन्धन वार्तामा निर्भर रहने देखिएको छ ।

भोटेकोशी र कालीगण्डकी विपद्को वास्तविक क्षति विवरणको लागि संसदीय समितिको निर्देशन

काठमाडौं । भोटेकोशी र कालीगण्डकी करिडोरमा आएको विपद्बाट भएको मानवीय र भौतिक क्षतिको वास्तविक अवस्था पत्ता लगाउन संसदीय विशेष समितिले सक्रियता बढाएको छ। समितिले विपद् प्रभावित क्षेत्रको आधिकारिक र विस्तृत विवरण एकदेखि दुई दिनभित्र उपलब्ध गराउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएको छ। भोटेकोशी र कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका प्रमुखहरूसँग विपद्को क्षति, उद्धार र प्रभावित नागरिकको अवस्थाबारे छलफल गरिएको हो।

बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले भोटेकोशी क्षेत्रका ४९ वटा वडा प्रभावित भएको उल्लेख गर्दै प्रत्येक वडाको छुट्टाछुटै विवरण तयार पार्न निर्देशन दिए। उनले विपद्का कारण मृत्यु भएका र बेपत्ता व्यक्तिको संख्या, प्रभावित परिवारको अवस्था, बालबालिकाको शिक्षामा परेको असर, महिला, अपाङ्गता भएका व्यक्ति, एकल महिला र ज्येष्ठ नागरिकको अवस्थासमेत समेटेर प्रतिवेदन तयार गर्नुपर्ने बताए। प्रभावित नागरिकको वास्तविक अवस्था पहिचानमा जोड दिँदै सभापति पौडेलले विपद्पछि राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यक्रम प्रभावकारी बनाउन विश्वसनीय तथ्यांक अनिवार्य रहेको बताए।

विशेषगरी विपद्बाट बढी प्रभावित भएका र राज्यको अतिरिक्त सहयोग आवश्यक पर्ने नागरिकको अवस्था पहिचान गर्नुपर्ने उनको भनाइ थियो। संविधानले जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकलाई सुविधा र संरक्षणको व्यवस्था परिकल्पना गरेको उल्लेख गर्दै उनले सरकारी निकायलाई तथ्यांक संकलनमा थप सक्रिय हुन आग्रह गरे। समितिले सुरक्षा निकाय र सरकारी संयन्त्रबाट प्राप्त हुने आधिकारिक विवरणका आधारमा विपद् प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गर्ने तयारी गरेको छ। निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि र प्रभावित नागरिकसँग प्रत्यक्ष छलफल गरी सरकारी तथ्यांक र वास्तविक अवस्थाबीच तुलना गरिनेछ।

सभापति पौडेलका अनुसार सरकारी निकायबाट प्राप्त विवरणलाई स्थानीय तहका जनप्रतिनिधि तथा प्रभावित नागरिकसँगको अन्तरक्रियामार्फत थप पुष्टि गरिनेछ। यसबाट विपद्का कारण भएको वास्तविक क्षति, प्रभावित परिवारको आवश्यकता र राहत तथा पुनर्स्थापनाका प्राथमिकता पहिचान गर्न सहयोग पुग्ने समितिको अपेक्षा छ। एकदेखि दुई दिनभित्र समग्र विवरण बुझाउन आग्रह गर्दै सभापति पौडेलले सरकारी संयन्त्रले विपद्सम्बन्धी तथ्यांक संकलन गरिरहेको उल्लेख गरे। उनले एकदेखि दुई दिनभित्र समग्र विवरण उपलब्ध भए समितिले जनप्रतिनिधि र प्रभावित नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम अघि बढाउने बताए। तथ्यांक संकलन तथा प्रतिवेदन तयारीको नियमित अनुगमन समितिको सचिवालयले गर्नेछ। बैठकमा समय अभावका कारण सबै विषयमा विस्तृत छलफल हुन नसकेको उल्लेख गर्दै सभापति पौडेलले आवश्यकताअनुसार पुनः बैठक बसेर थप समीक्षा गरिने जानकारी दिए। भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद्बाट प्रभावित प्रत्येक वडाको वास्तविक अवस्था पहिचान गरी तथ्यपरक प्रतिवेदन तयार पार्नु समितिको मुख्य उद्देश्य रहेको छ। समितिको निर्देशनपछि सुरक्षा निकायबाट प्राप्त हुने विवरणले विपद्को वास्तविक क्षति र प्रभावित नागरिकको अवस्थाबारे थप स्पष्ट जानकारी दिने अपेक्षा गरिएको छ।

इनम सापकोटा प्रकरणले न्यायालयमा तरंग, प्रधानन्यायाधीश शर्माले आरोपको खण्डन गरे, नेपाल बारले निष्पक्ष छानबिनको माग गर्यो

काठमाडौं । बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ न्यायिक अधिकारीहरूको नाम जोडिएपछि न्यायालयमा नयाँ विवाद उत्पन्न भएको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्माले आफूसँग सम्बन्धित भनिएका समाचारको कडा खण्डन गरेका छन् भने नेपाल बार एसोसिएसनले सार्वजनिक भएका विवरणको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले इनम सापकोटासँग जोडेर आफ्नो नाममा प्रकाशित समाचार आधारहीन, झूटो र कपोलकल्पित भएको दाबी गरेका छन्। समाचारमा उल्लेख गरिएका व्यक्ति तथा घटनासँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै उनले त्यस्ता सामग्रीको भर्त्सना गरेका हुन्। यसअघि ‘दियो पोस्ट’ले प्रधानन्यायाधीश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदको नाम जोड्दै अमेरिकामा घुससम्बन्धी कारोबार भएको दाबीसहित समाचार प्रकाशित गरेको थियो। उक्त समाचारमा अनुसन्धानका क्रममा रहेका इनम सापकोटाको मोबाइलमा भेटिएको भनिएको कारोबार विवरणलाई आधार बनाइएको थियो। तर प्रधानन्यायाधीश शर्माले समाचारमा उल्लेख गरिएका व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजानसमेत नरहेको बताएका छन्। उनीहरूसँग कहिल्यै भेटघाट वा सम्पर्क नभएको दाबी गर्दै उनले आफूविरुद्ध नियोजित रूपमा भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाएका छन्। समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाका घटनाका बेला आफू प्रधानन्यायाधीश पदमा समेत नरहेको उनको भनाइ छ। तथ्यहीन विवरणका आधारमा आफ्नो नाम जोडेर सार्वजनिक भ्रम फैलाइएको भन्दै उनले आपत्ति जनाएका छन्।
नेपाल बारको चासो : आरोपको सत्यतथ्य छानबिन गर्न माग यसैबीच, नेपाल बार एसोसिएसनले इनम सापकोटा प्रकरणमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडिएर सार्वजनिक भएका विवरणप्रति गम्भीर चासो व्यक्त गरेको छ। हाल हिरासतमा रहेका सापकोटासँग न्यायाधीश हरि फुयाल र प्रधानन्यायाधीश शर्माको नाम जोडिएका भनिएका सन्देश तथा संवादका विवरण सञ्चारमाध्यममा सार्वजनिक भएपछि बारले छानबिनको माग अघि सारेको हो। बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा न्यायपालिकाको उच्च नेतृत्व र न्यायाधीशहरूको आचरणसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेकाले त्यसलाई सामान्य समाचारका रूपमा मात्रै लिन नहुने उल्लेख छ। बारले यस्ता संवेदनशील विषयमा सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र पारदर्शी छानबिन आवश्यक रहेको जनाएको छ। न्यायपालिकासँग सम्बन्धित उच्च पदस्थ अधिकारीहरूले आफ्नो पदीय मर्यादा, आचारसंहिता र नैतिक जिम्मेवारीप्रति विशेष संवेदनशीलता अपनाउनुपर्नेमा पनि बारले जोड दिएको छ।
दोषी प्रमाणित भए पद र हैसियत नहेरी कारबाही गर्न माग नेपाल बारले सम्बन्धित सक्षम निकायलाई सार्वजनिक भएका आरोप र विवरणमाथि समयबद्ध अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउन आग्रह गरेको छ। छानबिनबाट कानुनविपरीत कार्य भएको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको पद, प्रतिष्ठा वा हैसियतको परवाह नगरी कानुनबमोजिम कारबाही गर्नुपर्ने बारको माग छ। तर आरोप पुष्टि नभएको अवस्थामा सम्बन्धित व्यक्तिको प्रतिष्ठा र न्यायपालिकाको संस्थागत मर्यादा जोगिने गरी स्पष्टता प्रदान गर्नुपर्नेमा पनि बारले जोड दिएको छ। इनम सापकोटा प्रकरणमा सार्वजनिक भएका सन्देश तथा कारोबारसम्बन्धी दाबीहरूको आधिकारिक पुष्टि हुन बाँकी छ। प्रधानन्यायाधीशले आरोप अस्वीकार गरिसकेको अवस्थामा नेपाल बारले माग गरेको छानबिन कसरी अघि बढ्छ भन्ने विषय अब सार्वजनिक चासोको केन्द्रमा परेको छ। न्यायपालिकाको नेतृत्वसँग जोडिएका गम्भीर आरोपले न्यायिक संस्थाप्रतिको सार्वजनिक विश्वासमा असर पार्न सक्ने भएकाले आरोपको सत्यता स्थापित गर्नु र निर्दोष व्यक्तिको प्रतिष्ठा संरक्षण गर्नु दुवै उत्तिकै महत्त्वपूर्ण देखिएको छ।

ललितपुरमा तिहार–छठको रौनकसँगै फूलको महोत्सव, ४५० भन्दा बढी प्रजातिका फूल एकै ठाउँमा

ललितपुर । तिहार र छठ पर्वको नजिकिँदै गर्दा ललितपुरमा फूलको महोत्सव सुरु भएको छ। फूलप्रेमी, व्यवसायी र सर्वसाधारणलाई लक्षित गर्दै बिहीबारदेखि १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरु भएको हो। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा भएको पाँचदिने प्रदर्शनीमा स्वदेशमै उत्पादित गोदावरी फूलका विभिन्न जातसहित यस वर्ष भित्रिएका नयाँ प्रजातिका फूल र बिरुवा आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारासहित आयोजित प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल र बिरुवाको अवलोकन र खरिद गर्न सकिने व्यवस्था गरिएको छ। ८६ स्टलमा फूलको प्रदर्शनीमा कुल ८६ वटा स्टल राखिएका छन्। तीमध्ये ७८ वटा व्यावसायिक स्टल, एउटा प्लान्ट क्लिनिक, चारवटा अफिसियल स्टल, दुईवटा प्रतियोगितात्मक स्टल र एउटा फोटो सेल्फी स्टल रहेका छन्।

प्रदर्शनीमा सहभागी नर्सरी तथा पुष्प फार्महरूबीच गोदावरी फूलका पाँच विधामा प्रतिस्पर्धा गराइएको छ। मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा उत्कृष्ट फूल छनोट गरिनेछ। यसका अतिरिक्त उत्कृष्ट स्टल र यस वर्षदेखि थप गरिएको उत्कृष्ट पुष्प सजावट विधामा पनि प्रतिस्पर्धा हुनेछ। विजेताहरूलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। पाँच दिनमा एक करोड ३० लाखको कारोबार हुने अपेक्षा गरिएको छ र आयोजकले पाँचदिने प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरेका छन्। प्रदर्शनीमार्फत एक करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ। तिहार र छठ पर्वमा घर, आँगन, कार्यालय र सार्वजनिक स्थल सजाउन फूलको माग बढ्ने भएकाले प्रदर्शनीले स्वदेशी पुष्प व्यवसायको बजार विस्तारमा सहयोग पुग्ने विश्वास आयोजकको छ। विशेषगरी गोदावरी फूलको व्यावसायिक उत्पादन, नयाँ प्रजातिको प्रवर्द्धन र स्वदेशी नर्सरी व्यवसायीलाई उपभोक्तासँग प्रत्यक्ष जोड्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो। फूलप्रेमीहरूले प्रदर्शनीमा विभिन्न रङ र आकारका गोदावरी फूलको अवलोकन गर्नुका साथै मनपरेका फूल र बिरुवा खरिद गर्न सक्नेछन्। पाँच दिनसम्म चल्ने प्रदर्शनीले चाडपर्वको रौनक बढाउनुका साथै नेपाली पुष्प व्यवसायको सम्भावना र बजार विस्तारलाई समेत उजागर गर्ने अपेक्षा गरिएको छ।

प्रधानाध्यापकसहित चार जनाविरुद्ध पुस्तकालयको १७ लाख अनुदान हिनामिना मुद्दा दायर

काठमाडौं । विद्यालयको पुस्तकालय विकासका लागि सरकारले उपलब्ध गराएको लाखौँ रुपैयाँ अनुदान रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जाजरकोटको कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालयका लागि प्राप्त १७ लाख ४१ हजार ४४६ रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समिति सदस्य जनकबहादुर नेपाली, तत्कालीन प्रधानाध्यापक धनबहादुर सिंह, तत्कालीन लेखा सहायक धिरेन्द्रबहादुर सिंह र तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिचन्द्र जैसीलाई प्रतिवादी बनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा जिल्ला शिक्षा कार्यालयबाट विद्यालयको पुस्तकालय विकासका लागि उपलब्ध गराइएको रकम पदाधिकारी तथा कर्मचारीले ऋण सापटीका नाममा लिएर फिर्ता नगरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा चारै जनाले आपसी मिलेमतोमा कानुनविपरीत ऋण सापटी लिएको देखाएर विद्यालयको रकम बाँडेर लिएको पाइएको आयोगको दाबी छ । आयोगका अनुसार सरकारी तथा सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याउने बदनियतले उक्त रकम गैरकानुनी रूपमा प्रयोग गरिएको थियो । यसबाट विद्यालयलाई १७ लाख ४१ हजार ४४६ रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको अख्तियारको निष्कर्ष छ ।

आयोगले चारै जनाविरुद्ध कानुनबमोजिम सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ । विद्यालयमा विद्यार्थीको अध्ययन तथा शैक्षिक गुणस्तर सुधारका लागि छुट्याइएको रकम नै अनियमितताको आरोपमा तानिएपछि सार्वजनिक शैक्षिक संस्थामा अनुदानको पारदर्शिता र आर्थिक जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । यद्यपि, आरोपपत्र दायर हुँदैमा प्रतिवादीहरू दोषी प्रमाणित भएका होइनन् । उनीहरूमाथि लगाइएको आरोपको अन्तिम निरूपण विशेष अदालतबाट हुनेछ ।

सेयर बजारमा लगातार दोस्रो दिन उछाल, नेप्से २७ सयको नजिक, कारोबार रकम साढे ८ अर्ब नाघ्यो

काठमाडौं । नेपाली सेयर बजारमा लगातार दोस्रो दिन उत्साहजनक वृद्धि देखिएको छ। बुधबार उच्च अंकले उकालो लागेको सेयर बजारले बिहीबार पनि आफ्नो बढ्दो लयलाई निरन्तरता दिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ३१.५४ अंकले बढ्दै २६९५.६० विन्दुमा पुगेको छ। यससँगै नेप्से परिसूचक २७ सय विन्दुको निकै नजिक पुगेको छ। बुधबार पनि नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको थियो। यसरी दुई कारोबार दिनमै नेप्से कुल ६४.८३ अंकले उकालो लागेको छ।

लगातारको वृद्धिले सेयर बजारमा सकारात्मक माहोल सिर्जना गरेको छ। सूचकसँगै कारोबार रकममा पनि उछाल बजारमा उत्साह बढेसँगै सेयर कारोबार रकमसमेत उल्लेखनीय रूपमा वृद्धि भएको छ। बुधबार ७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बिहीबार कारोबार रकम बढेर ८ अर्ब ५७ करोड रुपैयाँभन्दा माथि पुगेको छ। बिहीबार ४५० वटा कम्पनी तथा धितोपत्रका स्क्रिप्सको कुल २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन कुल ८ अर्ब ५७ करोड ९८ हजार ८२३ रुपैयाँ बराबरको कारोबार भएको छ।

बेनिहाइड्रोपावरमा सकारात्मक सर्किट, अन्य कम्पनीका लगानीकर्ता पनि उत्साहित बिहीबारको कारोबारमा बेनी हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। बुधबार पनि उक्त कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको थियो। त्यस्तै, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ८.७२ प्रतिशतले वृद्धि भएको छ। नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत र एनआईसी एसिया बैंकको ४.५९ प्रतिशतले बढेको छ। अब नेप्सेले २७ सयको सीमा पार गर्ला? लगातार दुई दिनको उच्च वृद्धि र कारोबार रकममा आएको सुधारले बजारमा लगानीकर्ताको सक्रियता बढेको संकेत गरेको छ। नेप्से परिसूचक अब २७ सय विन्दु पार गर्न केवल ४.४० अंक टाढा छ। यद्यपि, लगातारको वृद्धिले बजार थप उकालो लाग्ने निश्चित भने हुँदैन। आगामी कारोबारमा लगानीकर्ताको सहभागिता, खरिदबिक्रीको चाप र कारोबार रकमको प्रवृत्तिले बजारको आगामी दिशा निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ ग्रहण गरे

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको विशेष समारोहमा सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभएको हो।

असोजको अन्तिम साता सम्पन्न महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले यसअघि नै बडादशैँको फूलपातीका दिन शपथ ग्रहण गरी पदभार सम्हालिसक्नुभएको थियो। थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्र प्राप्त गर्नुभएको थियो। १५औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय कार्यसमितिमा कुल २३१ जना निर्वाचित भएका थिए।

बिहीबारको समारोहमा उपस्थित भएका पदाधिकारी र केन्द्रीय सदस्यहरूले औपचारिक रूपमा शपथ लिएका छन्। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार विभिन्न कारणले समारोहमा उपस्थित हुन नसकेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पछि पार्टीको आन्तरिक व्यवस्थाअनुसार शपथ गराइनेछ। विदेशमा रहेका नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरूले भर्चुअल माध्यमबाट शपथ ग्रहण कार्यक्रममा सहभागी हुने जानकारी पनि निर्वाचन समितिलाई गराएका छन्।

मोइन अलीको अर्धशतक र राहुल यादवको बलिङमा जनकपुरको पहिलो जित, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं । इङ्लिस स्टार अलराउन्डर मोइन अलीको उत्कृष्ट अर्धशतक र युवा बलर राहुल यादवको धारिलो बलिङको मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित दर्ता गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा जितको खाता खोलेको हो। काठमाडौंले प्रस्तुत गरेको ११६ रनको सामान्य लक्ष्य जनकपुरले १७.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।

जनकपुरको जितमा अनुभवी ब्याटर मोइन अलीले अविजित ५८ रनको महत्त्वपूर्ण योगदान दिए भने हसन अलीले अविजित ४० रन जोड्दै टोलीलाई सहज जितसम्म पुर्‍याए। मोइनले ५१ बलको सामना गर्दै तीन चौका र तीन छक्का प्रहार गरे। सुरुआती दुई विकेट सस्तैमा गुमाएको जनकपुरको इनिङलाई उनले संयमित रूपमा अघि बढाए। उनलाई उत्कृष्ट साथ दिएका हसनले एक चौका र तीन छक्कासहित ४० रन बनाए। यी दुई ब्याटरले तेस्रो विकेटका लागि अविजित ७९ रनको साझेदारी गर्दै काठमाडौंको पुनरागमनको सम्भावना समाप्त पारे।

सामान्य लक्ष्य पछ्याए पनि जनकपुरको सुरुआत भने अपेक्षाअनुसार हुन सकेको थिएन। दोस्रो ओभरमै ओपनर तृतराज दास व्यक्तिगत ५ रनमा आउट भएपछि टोली दबाबमा परेको थियो। काठमाडौंका रिपोन मण्डलको बलमा उनी स्मित पटेलबाट क्याच आउट भएका थिए। त्यसपछि मोइन अलीले मायन यादवसँग दोस्रो विकेटका लागि ३० रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे। तर छैटौँ ओभरमा मायन ९ रनमा रनआउट भएपछि जनकपुरले दोस्रो विकेट गुमायो। त्यसपछि क्रिजमा आएका हसन अलीले मोइनसँग मिलेर जिम्मेवारीपूर्ण ब्याटिङ गरे।

दुवैले अनावश्यक जोखिम नलिई खराब बललाई बाउन्ड्रीमा परिणत गर्दै लक्ष्यतर्फ अघि बढे। मोइनको अनुभव र हसनको आक्रामक ब्याटिङको संयोजन काठमाडौंका बलरमाथि भारी पर्‍यो। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौं गोर्खाजले निराशाजनक प्रदर्शन गरेको थियो। जनकपुरका बलरसामु काठमाडौंका ब्याटर खुलेर खेल्न सकेनन्। नियमित अन्तरालमा विकेट गुमाएपछि काठमाडौं १९.३ ओभरमा ११५ रनमै समेटियो। काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए।

जनकपुरका युवा बलर राहुल यादव काठमाडौंको ब्याटिङ क्रम ध्वस्त पार्ने मुख्य खेलाडी बने। उनले उत्कृष्ट लाइन र लेन्थमा बलिङ गर्दै ३१ रन खर्चेर चार महत्त्वपूर्ण विकेट लिए। त्यस्तै, सइफ हसनले दुई विकेट हात पार्दा मोइन अली, कप्तान हरमित सिंह र ललित राजवंशीले समान एक–एक विकेट लिए। जनकपुरको अनुशासित बलिङका कारण काठमाडौंले सुरुआतदेखि नै रन बनाउने गति बढाउन सकेन। ब्याटिङ र बलिङ दुवैमा योगदान दिएका मोइन अली जनकपुरको जितका प्रमुख नायक बने। उनले बलिङमा एक विकेट लिनुका साथै लक्ष्य पछ्याउने क्रममा अविजित अर्धशतक प्रहार गर्दै आफ्नो अलराउन्ड क्षमता प्रमाणित गरे। यस जितसँगै जनकपुर बोल्ट्सले एनपीएलको तेस्रो संस्करणमा पहिलो सफलता हात पारेको छ।

अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सम्पूर्ण निकाय उच्च सतर्कताका साथ तयारीमा

काठमाडाैं । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको छ।

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र केही हावाहुरीको सम्भावना भने यथावत् रहेको छ।

सम्भावित मौसमी जोखिमबाट सर्वसाधारणलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले ठाउँ-ठाउँमा माइकिङमार्फत सचेतना फैलाइरहेका छन्। उता पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पदयात्रा तथा पर्वतारोहणमा निस्कनुअघि आधिकारिक मौसम पूर्वानुमान अध्यावधिक गरेर मात्र निर्णय लिन पर्यटक एवं पर्वतारोही टोलीहरूलाई आग्रह गरेका छन्।

हवाई सुरक्षालाई उच्च प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई पूर्ण तयारी अवस्थामा राख्न कडा निर्देशन दिएको छ।

यसैगरी विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले पनि आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गरी पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणमा आह्वान गरेका छन्।

नागरिकलाई कुनै पनि प्रकारका भ्रामक अफवाहको पछि नलागी आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न र मौसम पूर्वानुमानका आधारमा आवश्यक सजगता अपनाउँदै सुरक्षित रहन सरकारले विशेष अपिल गरेको छ।

चक्रवाती आँधीको प्रभावले हवाई उडानमा चुनौती, प्राधिकरणले सतर्कता अपनाउन आग्रह

काठमाडौं । चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती आँधीको प्रभावले नेपालका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा, मेघगर्जनसहित चट्याङ, तीव्र हावाहुरी तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाइएको छ।

प्राधिकरणका अनुसार आँधीको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हवाई गतिविधि प्रभावित हुन सक्नेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ। कात्तिक १२ देखि १४ गतेसम्म मौसमको प्रभाव बढी पर्न सक्ने प्राधिकरणले २०८३ साल कात्तिक १२ गते बिहीबारदेखि कात्तिक १४ गते शनिबारसम्म मौसमको प्रभाव बढी पर्न सक्ने जनाएको छ।

प्रतिकूल मौसमका कारण हवाई उडान तथा विमानस्थल सञ्चालनमा चुनौती उत्पन्न हुन सक्ने भएकाले सम्बन्धित निकायलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिम न्यूनीकरण गरी हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक तयारी गर्न तथा उडान सुरक्षालाई उच्च प्राथमिकतामा राख्न प्राधिकरणले सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ। त्यस्तै, चक्रवाती आँधीका कारण उडान समयतालिकामा परिवर्तन वा ढिलाइ हुन सक्ने भएकाले यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनी तथा विमानस्थलसँग सम्पर्क गरी जानकारी लिन पनि प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले हवाई यातायातलाई सुरक्षित, नियमित, प्रभावकारी र विश्वसनीय बनाउन प्रतिबद्ध रहेको जनाएको छ।

एनपीएलको स्वास्थ्य साझेदार बन्यो आर्य फार्माल्याब, क्यानसँग तीनवर्षे सम्झौता

काठमाडौं। औषधि उत्पादन क्षेत्रमा क्रियाशील आर्य फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा नेपाल क्रिकेट सङ्घ (क्यान) सँग तीन वर्षका लागि सहकार्य गर्ने सम्झौता गरेको छ।स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले क्रिकेट खेलमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित क्यानसँग सहकार्य अघि बढाएको हो। कम्पनीका अनुसार यस साझेदारीको मुख्य उद्देश्य खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै आम नागरिकमा स्वस्थ जीवनशैलीसम्बन्धी चेतना फैलाउनु रहेको छ।आर्य फार्माल्याबले आफ्नो तीन दशक लामो यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै एनपीएलमार्फत नागरिकलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी उपलब्ध गराउने लक्ष्य राखेको छ। यस सहकार्यअन्तर्गत एनपीएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कम्पनीले विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको जनाएको छ।  मैदानमा स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुका साथै दर्शकलाई लक्षित गरी मनोरञ्जनात्मक र खेलकुदसम्बन्धी गतिविधिसमेत आयोजना गरिएका छन्। यी कार्यक्रमले क्रिकेट हेर्न मैदान पुग्ने दर्शकलाई मनोरञ्जनसँगै आफ्नो स्वास्थ्यप्रति सचेत रहन प्रेरित गर्ने कम्पनीको अपेक्षा छ।

आर्य फार्माल्याबले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहन गर्न विशेष पुरस्कारको व्यवस्था गरेको छ। कम्पनीका अनुसार ‘हेल्दी पार्टनरसिप अवार्ड’ अन्तर्गत प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन र खेलभावना देखाउने दुई खेलाडीलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ। यसरी प्रत्येक खेलमा दुई खेलाडीले कुल ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। कम्पनीले खेलाडीको योगदानको कदर गर्नुका साथै खेलभावना, अनुशासन र उत्कृष्ट प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कारको व्यवस्था गरिएको जनाएको छ।

एनपीएलका खेलाडीलाई मात्र नभई दर्शकलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ। ‘हटविट मुमेन्ट अफ द म्याच’ अन्तर्गत प्रत्येक खेलमा एक जना दर्शकलाई उक्त पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ। यस कार्यक्रमले दर्शकको सहभागिता र उत्साह बढाउनुका साथै क्रिकेट प्रतियोगितालाई थप मनोरञ्जनात्मक बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ। खेलाडी र दर्शकलाई प्रदान गरिने पुरस्कारमार्फत प्रत्येक खेलमा कुल ७० हजार रुपैयाँ वितरण हुने व्यवस्था गरिएको छ।

आर्य फार्माल्याबले स्थापनाको ३०औँ वर्षमा सुरु गरेको यस सहकार्यलाई संस्थागत यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। कम्पनीले नेपालमा लोकप्रिय बन्दै गएको क्रिकेटलाई स्वास्थ्य सचेतना विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा उपयोग गर्ने योजना बनाएको जनाएको छ। विशेषगरी एनपीएलजस्तो लोकप्रिय प्रतियोगितामा सहभागी खेलाडी, दर्शक तथा क्रिकेटप्रेमीमार्फत स्वास्थ्यसम्बन्धी सन्देश व्यापक रूपमा फैलाउन सकिने कम्पनीको विश्वास छ। आर्य फार्माल्याबका अनुसार क्यानसँगको तीनवर्षे साझेदारीले खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्ध सुदृढ बनाउनुका साथै स्वस्थ जीवनशैली अपनाउन नागरिकलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

पोखराका ग्रामीण बस्तीमा आन्तरिक र विदेशी पर्यटकको चहलपहल

पोखरा । पर्यटकीय सिजन शुरु भएसँगै पोखरा आसपासका ग्रामीण बस्तीमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ। शहरको कोलाहलभन्दा टाढा प्रकृतिसँग रमाउन चाहने पर्यटकको रोजाइमा गाउँका होमस्टे पर्न थालेका छन्। सस्तो प्याकेज, स्थानीय खानपान, मौलिक संस्कृति र हिमशृङ्खलाको मनमोहक दृश्यले पर्यटकलाई गाउँतर्फ आकर्षित गरेको हो। दशैँ सकिएलगत्तै कास्कीका विभिन्न ग्रामीण बस्तीमा पर्यटकको आगमन बढ्दा होमस्टे सञ्चालकहरू उत्साहित भएका छन्। पोखरा महानगर आसपासका डाँडाकाँडामा रहेका होमस्टेमा स्वदेशी तथा विदेशी पाहुनाको उपस्थिति बढ्दै गएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित हेम्जाकोटमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ। हिमश्रृङ्खलाको मनोरम दृश्य, शान्त वातावरण र गाउँको मौलिक जीवनशैलीले हेम्जाकोट आउने पर्यटकलाई आकर्षित गरिरहेको छ।

पोखरा घुम्न आउने पर्यटकसमेत नजिकैका ग्रामीण बस्तीमा पुगेर केही समय बिताउन रुचाउन थालेका छन्। ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) का सचिव भीमराज पौडेलकाअनुसार पोखरा आउने पर्यटकलाई आसपासका गाउँसम्म पु¥याउनसके ग्रामीण पर्यटनले थप गति लिनसक्छ। प्राकृतिक सौन्दर्य र स्थानीय आतिथ्यताका कारण गाउँका होमस्टे पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको उहाँले बताउनु भयो। होमस्टेमा अहिले पाहुनाहरुको आगमन राम्रो रहेको बताउनु भयो। हप्ताको दुई दिन बिदा भएकाले शुक्रवार र शनिवार धेरै पर्यटकहरु आउने गरेको उहाँको भनाइ छ।

पर्यटकीय सिजन शुरु भएसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष पाहुनाको उपस्थिति उल्लेख्य रूपमा बढेको भन्दै होमस्टे सञ्चालक उमा गुरुङ पनि खुशी हुनुहुन्छ। पर्यटकको आगमन बढ्दा स्थानीयस्तरमै आम्दानीको अवसर सिर्जना भएको उहाँको भनाइ छ। कोरोनापछि ठप्प भएको होमस्टे अहिले पुनः तंग्रिएको उहाँको भनाइ छ। गाउँमा पर्यटक पुग्न थालेपछि स्थानीय गतिविधि पनि बढेका छन्। होमस्टेमा पाहुनालाई सहज र आत्मीय अनुभव दिलाउन सञ्चालकहरूले मौलिक घर, स्थानीय परिकार, प्राकृतिक वातावरण र परम्परागत आतिथ्यतालाई प्राथमिकता दिन थालेका छन्।

पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलकाअनुसार गाउँमा पर्यटकको बसाइलाई सहज र आकर्षक बनाउन विभिन्न तालिम तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। मानिसहरु प्रकृतिसँग रमाउने भएकाले पोखराका होमस्टेहरु उपयुक्त बन्दै गएको बताउनु भयो। रैथाने खानेकुराका कारण पनि गाउँ मन पर्ने गरेको उहाँको भनाइ छ। पर्यटकलाई बस्ने सुविधासँगै स्थानीय संस्कृति, मौलिक घर र खानपानको अनुभव दिलाउन सके ग्रामीण पर्यटनबाट स्थानीय समुदायले थप लाभ लिन सक्ने उहाँको भनाइ छ। दशैँपछि कास्कीका गाउँमा बढेको पर्यटकको चहलपहलले ग्रामीण पर्यटनमा नयाँ उत्साह थपेको छ। प्रकृतिसँग नजिक रहेर मौलिक जीवनशैलीको अनुभव लिन चाहने पर्यटकको आकर्षण बढ्दै जाँदा गाउँका होमस्टे स्थानीय रोजगारी र आम्दानीको महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ।

एनपीएलको तेस्रो संस्करणबाट ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले आईतवार कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपीएलको प्रायोजन, टिकट बिक्री तथा अन्य स्रोतबाट क्यानले उक्त परिमाणमा आर्थिक कारोबार गर्ने अनुमान गरिएको जानकारी दिनुभएको हो ।

उहाँकाअनुसार प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै करिव २० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । टिकटिङलगायत अन्य स्रोतबाट हुने आम्दानीसमेत जोड्दा क्यानअन्तर्गतको एनपीएलले ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने उहाँको भनाइ छ । फ्रेन्चाइज टोलीका मालिकहरूले पनि प्रतियोगिताका लागि क्यानले गर्ने खर्चकै हाराहारीमा खर्च गर्ने अनुमान गरिएको खड्काले बताउनु भयो ।

यसअनुसार एनपीएलको तेस्रो संस्करणको एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिव डेढ अर्ब रुपैयाँ पुग्ने उहाँको अनुमान छ । खड्काले एनपीएलको तेस्रो संस्करणका लागि पुरस्कार राशि पनि बढाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउनेछन् भने तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

पहिलो र दोस्रो संस्करणमा पनि व्यक्तिगत तथा टोलीगत पुरस्कारको व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले यसपटक एनपीएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमतिमा पुरस्कार राशि निर्धारण गरिएको बताउनु भयो । क्यानको नेतृत्वले नेपाली क्रिकेटलाई आर्थिक रूपमा सबल बनाउने र संस्थाको कार्यकाललाई उपलब्धिमूलक बनाउने लक्ष्यसहित काम गरिरहेको उहाँको भनाइ छ । एनपीएलको पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले आर्थिक रूपमा उल्लेखनीय प्रगति गरेको उहाँले बताउनु भयो । एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पु¥याउने अपेक्षा क्यानले गरेको छ ।