Skip to main content
Advertisement1200×100-inside-1

लेखक: space4k

बालेन्द्र नेतृत्वको सरकार राष्ट्रियता र जनजीविकाको सवालमा असफल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता लेखनाथ दाहालले बालेन्द्र साह नेतृत्वको सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफल भइसकेको टिप्पणी गर्नुभएको छ ।
मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले बजेट कार्यान्वयन समेत प्रभावकारी रुपमा हुन नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । सरकार गठन भएको आठ महनिासम्म समेत भौतिक विकासका कुनैपनि ठेक्का प्रक्रिया अगाडि नबढेको उहाँको भनाइ छ । उहाँले अर्थमन्त्री स्वर्णिम वाग्लेले खर्च व्यवस्थापन र  बजेट कार्यान्वयनमा ध्यान दिन नसकेको आरोप समेत लगाउनु भयो । वाग्ले कानूनतः नेपालको अर्थमन्त्री भएपनि वल्र्ड बैंक र युएनडिपीको जागिरे भएको आरोप लगाउनु भयो । विश्व बैंकबाट ऋण लिएर फजुल खर्च कसरी गर्ने भन्ने कुरामा मात्र अर्थमन्त्री केन्द्रित रहेको उहाँको आरोप छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध र विगतका विवादबारे दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउनुभयो । उहाँले सरकारका प्रतिनिधि र सत्तारुढ दलका नेताहरुले भारतलाई लिएर दिएका अभिव्यक्तिले मुलुकको स्वाभिमानमा गम्भीर चोट पु¥याएको पनि बताउनुभयो । उहाँले सरकारले बाढी प्रभावित नागरिकको पुनःस्थापनामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा जीटीटीएफ लिडर्स कन्फ्रेन्स

काठमाडाैं ।  कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा जीटीटीएफ लिडर्स कन्फ्रेन्स मंगलवार सम्पन्न भएको छ । कन्फ्रेन्सको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे ।
एकदिने कन्फ्रेन्समा १ सय २० जनाको सहभागिता रहेको तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । वरिष्ठ प्रशिक्षक श्रेष्ठको सहयोगमा ग्लोबल ट्रेडिसनल तेक्वान्दो फेडेरेसन ९जीटीटीएफ० का अध्यक्ष जुन लिले कन्फ्रेन्स सञ्चालन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनओसीका अध्यक्ष श्रेष्ठले कोटेश्वर तेक्वान्दो डोजोङ राम्रो खेलाडी उत्पादन गर्ने डोजाङका रुपमा स्थापित भएको बताउदै कन्फ्रेन्सले सहभागीको आत्मविश्वास बृद्धिमा पनि सहयोग पुग्ने धारणा व्यक्त गरे । वरिष्ठ प्रशिक्षक श्रेष्ठले कन्फ्रेन्स सञ्चालनका लागि दक्षिण कोरिायबाट आएका अध्यक्ष लिलगायत सबैलाई धन्यवाद दिए । कार्यक्रममा जीटीटीएफकी उपाध्यक्ष हियोक लि जीटीटीएफ नेपालका अध्यक्ष सुरेन्द्र पराजुली लगायतको उपस्थिति रहेको थियो ।

गोलबजारका तत्कालीन नगर प्रमुख तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारसम्बन्धी ठेक्का विवादित व्यक्तिलाई रकम हिनामिना गरेको, सम्झौता नगरी आधा राजस्व असुल गरी बाँकी राजस्व रकम हिनामिना गरेको भन्ने व्यहोराको उजुरीको आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

नगरप्रमुख तेली र उपप्रमुख रेशम कुमारी थापासमेतका प्रतिवादीहरुले आपसी मिलेमतो र सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी एक आपसमा गरकानुनी लाभ लिने बदनियतले रकम हिनामिना गरेको देखिएको आयोगले जनाएको छ ।

नगरप्रुमख तेली, उपप्रमुख थापा, सो नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, तत्कालीन राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध एक करोड ६० लाख ४६ हजार ३४४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसैगरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्याल र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतोविरुद्ध एक करोड ३३ लाख ११ हजार ४३१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुविरुद्ध सजाय हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबिच शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबिच उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार तथा अध्ययनरत नेपाली विद्यार्थीका सवालमा छलफल भएको छ ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मङ्गलबार भएको शिष्टाचार भेटवार्तामा दुई देशबिचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको हो ।
भेटमा साइप्रसका विभिन्न विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई अध्ययनका क्रममा आवश्यक सहयोग उपलब्ध गराउने, उनीहरूको हित संरक्षण गर्ने र सम्भावित समस्याको समाधानका लागि सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो ।
साइप्रस नेपाली विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्ने गन्तव्य मुलुकमध्ये एक रहेकाले त्यहाँ अध्ययनरत विद्यार्थीलाई आवश्यक सहजीकरण गर्न साइप्रस सरकारका तर्फबाट सहयोग गर्ने विषयमा समेत छलफल भएको छ । दुवै पक्षले उच्च शिक्षाको क्षेत्रमा विगतदेखि हुँदै आएको सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा थप विस्तार गर्ने विषयमा पनि विचारविमर्श गरेका थिए ।
सो अवसरमा शिक्षामन्त्री पोखरेलले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) उपलब्ध गराउने तथा विदेशबाट प्राप्त शैक्षिक उपाधिको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रियालाई सहज बनाउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताउनुभयो ।
उहाँले विगतमा त्रिभुवन विश्वविद्यालयबाट हुँदै आएको शैक्षिक उपाधिको समकक्षता निर्धारणसम्बन्धी कार्य अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको जानकारी दिँदै यस प्रक्रियामा आवश्यक नीतिगत सुधारका कामसमेत भइरहेको उल्लेख गर्नुभयो।
भेटमा राजदूत भ्रीयोनिडेसले नेपाल र साइप्रसबीचको आपसी हित तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो।

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ। राष्ट्रिय भेलाको तयारीका क्रममा आज पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक सम्पन्न भएको छ।

बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा एउटै बुझाइ र लय विकास गर्नु राष्ट्रिय भेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो।

पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले सिंगो पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने निर्णय गरेको उल्लेख गर्दै उहाँले केन्द्रीय कमिटीको तेस्रो बैठकका निर्णयको आलोकमा पार्टी पङ्क्तिलाई उत्साहित बनाउँदै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुटाउन पनि राष्ट्रिय भेला सफल हुने विश्वास व्यक्त गर्नुभयो।

स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै उहाँले २०८२ सालको निर्वाचनको परिणाम क्षणिक र अस्थायी धक्का भएको पार्टीको बुझाइलाई व्यवहारबाट प्रमाणित गर्दै एमालेलाई पुरानै राजनीतिक धारमा फर्काउनुपर्ने बताउनुभयो। राष्ट्रिय भेलामार्फत पार्टी पङ्क्तिलाई उत्साहित र सक्रिय बनाउँदै आगामी राजनीतिक चुनौतीको सामना गर्न तयार पारिने उहाँको भनाइ थियो।

“सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,” उपाध्यक्ष पौडेलले भन्नुभयो।

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गर्नुभयो। भेलाको सन्देश पार्टी पङ्क्ति र जनस्तरसम्म पुर्‍याउन व्यापक प्रचारप्रसारमा जुट्न पनि उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।

बैठकको अध्यक्षता गर्नुभएका पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको तयारीका क्रममा अहिलेसम्म भएका कामबारे जानकारी गराउनुभएको थियो। उहाँले राष्ट्रिय भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित कुल ३ हजार १६४ जनाको सहभागिता रहने जानकारी दिनुभयो।

एमालेका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना सहभागी हुनेछन्।

त्यसैगरी, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जनाको सहभागिता रहनेछ।

पालिकास्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुनेछन्। त्यस्तै, संघीय संसद् तथा राष्ट्रिय सभासहित ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना सहभागी हुनेछन्। जनसंगठनबाट ९६ जनाको सहभागिता रहने एमालेले जनाएको छ।

राष्ट्रिय भेलालाई पार्टीको आन्तरिक एकता सुदृढ गर्ने, संगठनलाई थप सक्रिय बनाउने तथा आगामी निर्वाचन र राजनीतिक गतिविधिका लागि पार्टी पङ्क्तिलाई एकताबद्ध रूपमा परिचालित गर्ने महत्वपूर्ण अवसरका रूपमा एमालेले लिएको छ।

दसैँमा कोशीमा ४१३ सवारी दुर्घटना, २२ जनाको मृत्यु

विराटनगर  । कोशी प्रदेशमा दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म ४१३ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ भने ७४६ जना घाइते भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार दसैँ अवधिमा सबैभन्दा धेरै सवारी दुर्घटना मोरङमा भए पनि मानवीय क्षति सुनसरीमा बढी भएको छ।
दुर्घटनामा मृत्यु हुनेमा १७ पुरुष र पाँच महिला छन्। मृतकमध्ये एक जना सवारी चालक र दुई जना बालिका रहेका छन्। घाइतेमध्ये ३६ जनाको अवस्था गम्भीर र ७१० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा ७१ जना सवारी चालक छन्। ती सबै चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा तीनवटा चौपायासमेत मरेका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक विकास थपलियाका अनुसार दसैँ अवधिमा मोरङमा सबैभन्दा धेरै १७० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने २९१ जना घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ।
मानवीय क्षतिका हिसाबले सुनसरी सबैभन्दा प्रभावित जिल्ला बनेको छ। सुनसरीमा ८७ वटा दुर्घटना हुँदा आठ पुरुष र दुई महिलासहित १० जनाको मृत्यु भएको प्रहरी निरीक्षक थपलियाले बताए। त्यहाँ दुर्घटनामा परी १५६ जना घाइते भएका छन्। घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर छ।
त्यस्तै, झापामा ८४ वटा दुर्घटना हुँदा दुई पुरुष र दुई महिलासहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा १३९ जना घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर छ। उदयपुरमा भएका ३३ वटा दुर्घटनामा तीन पुरुष र एक महिलासहित चार जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सुनसरी, मोरङ, झापा र उदयपुरमा भएका दुर्घटनामा मात्रै मानवीय मृत्यु भएको हो। अन्य जिल्लामा भएका दुर्घटनामा मानवीय क्षति नभए पनि मानिसहरू घाइते भएका छन्।
इलाममा १० वटा दुर्घटनामा २० जना, पाँचथरमा सात दुर्घटनामा १२ जना, खोटाङमा सात दुर्घटनामा नौ जना, ओखलढुंगामा पाँच दुर्घटनामा सात जना, संखुवासभामा चार दुर्घटनामा छ जना र ताप्लेजुङमा तीन दुर्घटनामा छ जना घाइते भएका छन्।
त्यस्तै, धनकुटा, भोजपुर र सोलुखुम्बुमा एक–एक वटा दुर्घटना हुँदा कुल १० जना घाइते भएका छन्। तेह्रथुममा भने दसैँ अवधिमा कुनै पनि सवारी दुर्घटना नभएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए।
दसैँ अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ४५७ वटा सवारीसाधन कारबाहीमा परेका छन्। ती सवारीसाधनलाई कारबाही गर्दा २५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको थपलियाले बताए।

विराटनगरबाट २० लाख मूल्यको भारतीय स्कार्पियो बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट करिब २० लाख रुपैयाँ मूल्य पर्ने भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी बेवारिसे अवस्थामा बरामद गरेको छ ।
विराटनगर महानगरपालिका–४ स्थित नहरचोकमा सोमबार सडक किनारबाट प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएको हो । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडी रोक्ने क्रममा चालकले गाडी छाडेर फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी सहायक निरीक्षक (असई) डम्बर गिरीको कमान्डमा खटिएको टोलीले गाडी नियन्त्रणमा लिएको हो । महिन्द्रा कम्पनीको सेतो रङको बीआर ११ पीए ४२५४ नम्बरको स्कार्पियोको आवश्यक कागजात फेला नपरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गाडी भन्सार छली गरी नेपाल भित्र्याइएको वा चोरी पैठारी गरेर ल्याइएको हुन सक्ने आशंका गरिएको छ । आवश्यक कागजात नभेटिएपछि थप अनुसन्धान तथा कारबाहीका लागि गाडी विराटनगर भन्सार कार्यालयमा पठाइएको उनले बताए ।
प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सप्तकोशी जेटबोट दुर्घटना छानबिन गर्न समिति

विराटनगर । सप्तकोशी नदीमा भएको जेटबोट दुर्घटनाको छानबिन गर्न कोशी प्रदेश सरकारले समिति गठन गरेको छ। प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा गठित समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले दुर्घटनाको कारण, घटनाक्रम र जिम्मेवारीबारे अध्ययन तथा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो। गत कात्तिक ८ गते धनकुटा, भोजपुर र उदयपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने तीन जना बेपत्ता भएका थिए। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन समितिलाई जिम्मेवारी दिइएको जानकारी दिए। बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार प्रभावकारी बनाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ। यसैगरी, बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने र पर्यटक सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

विपद्प्रभावित प्रत्येक वडामा कति राहत पुग्यो ? सरकारसँग विस्तृत विवरण माग्दै संसदीय समिति

काठमाडौँ : राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद्प्रभावित प्रत्येक वडामा पुगेको राहत र क्षतिको विस्तृत विवरण सरकारसँग माग्ने भएको छ।

मंगलबार बसेको बैठकमा समिति सभापति कृष्णप्रसाद पौडेलले समग्रमा वितरण गरिएको राहतको रकम मात्र पर्याप्त नहुने बताए। प्रभावित पालिका र वडामा कति नगद, खाद्यान्न तथा अन्य सहायता पुग्यो भन्ने स्पष्ट विवरण आवश्यक रहेको उनको भनाइ थियो।

प्रभावित करिब ४९ वडाबारे आफूले जानकारी पाएको उल्लेख गर्दै पौडेलले वडागत तथ्याङ्क व्यवस्थित रूपमा उपलब्ध गराउन सम्बन्धित मन्त्रालयसँग समन्वय गर्न सचिवालयलाई आग्रह गरे।

समितिले क्षतिको वैज्ञानिक अभिलेखीकरणलाई प्राथमिकता दिने जनाएको छ। वडा अध्यक्ष र प्राविधिकको हस्ताक्षरसहित तयार गरिने विवरणमा मृतक तथा बेपत्ताको सङ्ख्या, प्रभावित बालबालिकाको अवस्था, पशुपन्छी र खेतीपातीको क्षतिसँगै परिवारको सामाजिक तथा आर्थिक अवस्था समेट्ने योजना छ।

रोजगारी, उद्योग–व्यवसाय र विद्यालय सञ्चालनको अवस्थासमेत अभिलेखमा राख्नुपर्ने पौडेलले बताए। सरकारी विवरण र स्थानीय नागरिकबाट प्राप्त जानकारीबीच फरक देखिए सम्बन्धित निकायलाई बोलाएर जवाफ मागिने उनको भनाइ थियो।

प्रस्तावित कार्ययोजनाअनुसार समितिले कात्तिक १७ देखि २१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका विपद्प्रभावित क्षेत्र अनुगमन गर्ने तयारी गरेको छ। धादिङको गल्छी, नुवाकोटको विदुर र रसुवाको धुन्चेमा सरोकारवालासँग छलफल गर्ने प्रस्ताव छ।

बैठकमा सांसदहरूले गोरखा तथा बूढीगण्डकी करिडोरका प्रभावित क्षेत्रलाई पनि अनुगमनमा समेट्नुपर्ने बताएका थिए। अनुगमनमा मानसिक स्वास्थ्य, रोजगारी र कृषिलगायतका विषयका विज्ञ तथा सम्बन्धित सरकारी प्रतिनिधिलाई सहभागी गराउनुपर्ने उनीहरूको सुझाव थियो।

बिहीबार बेलुकादेखि शनिबारसम्म वर्षाको सम्भावना, हिमाली यात्रामा सावधानी अपनाउन आग्रह

काठमाडौँ : चक्रवातको अवशेष नेपालनजिक आउने सम्भावनासँगै बिहीबार बेलुकादेखि शनिबारसम्म विभिन्न स्थानमा वर्षा हुन सक्ने प्रारम्भिक पूर्वानुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ।

वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार जलवाष्पसहित आउने प्रणाली माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिँदा नेपालमा वर्षा हुने सम्भावना छ। तर प्रणालीको गति, तीव्रता र नेपालनजिक आइपुग्दाको अवस्थाअनुसार प्रभाव परिवर्तन हुन सक्ने उनले बताइन्।

पोखरेलका अनुसार धेरै स्थानमा हल्कादेखि मध्यम तथा थोरै स्थानमा भारी वर्षा हुन सक्छ। पछिल्लो पूर्वानुमानमा वर्षाको तीव्रता केही कम देखिए पनि जोखिमयुक्त क्षेत्रमा सतर्कता आवश्यक रहेको उनको भनाइ छ।

विशेषगरी उच्च हिमाली क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न तथा मौसम प्रतिकूल हुने अवस्थामा माथिल्लो क्षेत्रको यात्रा नगर्न उनले सुझाव दिइन्। पहिरोको जोखिम भएका सडक र क्षेत्रमा यात्रा गर्दा मौसम तथा सडकको अवस्था बुझ्न पनि उनले आग्रह गरिन्।

धान काट्ने समय भएकाले किसानले मौसम पूर्वानुमानअनुसार कामको योजना बनाउनुपर्ने उनको सुझाव छ।

मनसुनपछिको समयमा पनि चक्रवातका अवशेष वा न्यूनचापीय प्रणालीका कारण नेपालमा वर्षा र हिमपात हुन सक्ने उनले स्पष्ट पारिन्। हल्लाका आधारमा त्रसित हुने वा जोखिमलाई बेवास्ता गर्नेभन्दा आधिकारिक मौसम सूचनाअनुसार गतिविधि तय गर्न उनले आग्रह गरिन्।

 स्थापना दिवसमा तरुण दलको सामाजिक अभियान, एक महिनाभित्र युवा लक्षित ६ कार्यक्रम ल्याउने

काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ७४औँ स्थापना दिवसका अवसरमा विभिन्न जिल्लामा सामाजिक तथा रचनात्मक कार्यक्रम आयोजना गरेको छ।

मंगलबार काठमाडौँको संकटा मन्दिर परिसरमा सरसफाइ अभियानको नेतृत्व गर्दै अध्यक्ष मनिष कोइरालाले तरुण दललाई युवाको आवाज र जनतासँग जोडिएको संस्थाका रूपमा अघि बढाउने बताए।

कोइरालाका अनुसार स्थापना दिवसमा करिब ३० देखि ३५ जिल्लामा रक्तदान, अस्पतालमा फलफूल वितरण, फुटबल प्रतियोगिता र धार्मिकस्थल सरसफाइजस्ता कार्यक्रम सञ्चालन गरिएका छन्। बाँके, वीरगञ्ज र धादिङलगायतका क्षेत्रमा पनि सरसफाइ अभियान सञ्चालन भइरहेको उनले जानकारी दिए।

तरुण दलप्रति समाजमा रहेको बुझाइ बदल्दै सामाजिक रूपान्तरण र युवाको सशक्तीकरणमा केन्द्रित हुने उनको भनाइ थियो।

प्रविधिको विकाससँगै युवालाई कृत्रिम बौद्धिकतासम्बन्धी क्षेत्रमा जोड्ने योजना रहेको पनि कोइरालाले बताए। आगामी एक महिनाभित्र युवा लक्षित छवटा नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

ज्येष्ठ नागरिकलाई ‘बोझ’ ठान्ने सोच बदल्नुपर्छ : डा. चित्रलेखा मेरी मासी

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयकी अधिकारी डा. चित्रलेखा मेरी मासीले ज्येष्ठ नागरिकलाई कमजोर, अनुत्पादक र परनिर्भर ठान्ने सोचले उनीहरूको अधिकारमा बाधा पुर्‍याइरहेको बताएकी छन्।

काठमाडौँ भ्रमणका क्रममा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मासीले उमेरका आधारमा मानिसको क्षमता र जीवनको मूल्य निर्धारण गर्ने प्रवृत्ति गम्भीर विभेद भएको बताइन्। ज्येष्ठ नागरिकलाई दया वा कल्याणका पात्रका रूपमा मात्र हेर्नुभन्दा अधिकारसम्पन्न व्यक्तिका रूपमा स्वीकार गर्नुपर्ने उनको भनाइ छ।

निश्चित उमेर पुगेपछि मानिसले समाजमा योगदान दिन सक्दैन भन्ने धारणा गलत रहेको उनले बताइन्। उमेरकै आधारमा ऋण, बीमा, रोजगारी वा अन्य अवसरबाट वञ्चित गर्ने अभ्यासले उनीहरूको आर्थिक र सामाजिक सहभागिता सीमित बनाउने उनको भनाइ थियो।

वृद्धावस्था सबैका लागि एकैनास नहुने उल्लेख गर्दै मासीले व्यक्तिको स्वास्थ्य, क्षमता र आवश्यकताअनुसार नीति बनाउनुपर्ने बताइन्। परिवारले समेत ज्येष्ठ नागरिकको सट्टा सबै निर्णय गरिदिने अभ्यासले आत्मनिर्णयको अधिकार खोस्ने उनले उल्लेख गरिन्।

मासीका अनुसार ज्येष्ठ नागरिकको अधिकार संरक्षणका लागि कानुनी रूपमा बाध्यकारी अन्तर्राष्ट्रिय सन्धि निर्माणको प्रक्रिया अघि बढिरहेको छ। सन् २०२७ को अन्त्यसम्म प्रारम्भिक मस्यौदा तयार हुने अपेक्षा रहेको उनले बताइन्।

सन्धि निर्माणमा ज्येष्ठ नागरिक स्वयं, प्रतिनिधिमूलक संस्था र मानव अधिकार निकायको सहभागिता आवश्यक रहेको उनको भनाइ छ। विपन्न तथा सीमान्तकृत समुदायको आवाज समेट्न आर्थिक, भौगोलिक र पहुँचसम्बन्धी अवरोध हटाउनुपर्ने उनले बताइन्।

युवा र ज्येष्ठ नागरिकका सवाल परस्पर जोडिएका भन्दै उनले पुस्ताबीचको सहकार्यमा जोड दिइन्। जीवनको प्रारम्भिक चरणमा भोगिएको असमानता वृद्धावस्थामा थप गहिरिन सक्ने भएकाले सबै उमेर समूहलाई समेट्ने दृष्टिकोण आवश्यक रहेको उनको भनाइ थियो।

ज्येष्ठ नागरिकको आत्मसम्मान, निर्णय गर्ने अधिकार र समान सहभागिता सुनिश्चित गर्न सके मात्रै दीर्घायुलाई मानव सभ्यताको उपलब्धिका रूपमा मनाउन सकिने मासीले बताइन्।

एनपीएलले होटल व्यवसायमा चहलपहल, खेलकुद पर्यटन विस्तारको अवसर देख्छन् व्यवसायी

काठमाडौँ : नेपाल प्रिमियर लिगले खेलकुदसँगै होटल तथा पर्यटन व्यवसायमा पनि चहलपहल बढाएको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताएका छन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शाहले प्रतियोगितामा सहभागी स्वदेशी तथा विदेशी खेलाडी, प्रशिक्षक र समर्थकको बसाइले होटल, खानपान तथा यातायात क्षेत्रमा प्रत्यक्ष लाभ पुगेको बताए।

आठवटै फ्रेन्चाइज टोली ठूला होटलसँग आबद्ध रहेको र खेलाडी तथा प्रशिक्षकले लामो समय सेवा लिने भएकाले आतिथ्य उद्योगमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ। विभिन्न जिल्लाबाट आफ्नो टोलीको खेल हेर्न आउने समर्थकले पनि आर्थिक गतिविधि बढाएको उनले बताए।

शाहले एनपीएललाई पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा योजनाबद्ध ढङ्गले विकास गर्नुपर्नेमा जोड दिए। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाजस्ता क्रिकेटप्रेमी दर्शक भएका मुलुकबाट पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ थियो।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नतिसँगै थप अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सम्भावना बढेको उनले बताए। विदेशी टोलीको सहभागिता र प्रतियोगिताको अन्तर्राष्ट्रिय प्रसारणलाई नेपालको पर्यटन प्रचारसँग जोड्नुपर्ने उनको सुझाव छ।

शाहका अनुसार नेपाली होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता बनाए पनि आगमन करिब ११ देखि १२ लाखको हाराहारीमा छ। पर्यटन क्षेत्रको लगानीअनुसार लाभ लिन अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार आवश्यक रहेको उनले बताए।

विपद्का कारण कुनै क्षेत्रमा समस्या देखिँदा समग्र नेपाल असुरक्षित रहेको सन्देश जान नदिन पनि उनले आग्रह गरे। पर्यटन गन्तव्यको अवस्था, सुरक्षा र उपलब्ध सेवाबारे स्पष्ट सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ थियो।

सरकारको मूल्याङ्कन सामाजिक सञ्जालबाट होइन, परिणामबाट हुनुपर्छ : आर्यन राई

काठमाडौँ : श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार परिणाममुखी कामभन्दा प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन्।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा राईले सरकारको उपलब्धि मापन गर्ने आधार सामाजिक सञ्जालको चर्चा र अल्गोरिदम हुन नसक्ने बताए। नागरिकले अनुभूति गर्ने काम र वास्तविक परिणामबाट सरकारको मूल्याङ्कन हुनुपर्ने उनको भनाइ थियो।

राईले प्रधानमन्त्री बालेन्द्र साह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अभिव्यक्तिप्रति असहमति जनाउँदै संसद्मा प्रश्न उठाउने बताए। विशेषगरी सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने उनको माग थियो।

नेपालले पञ्चशीलको सिद्धान्तअनुसार सबै मुलुकसँग सन्तुलित र सुमधुर सम्बन्ध राख्नुपर्नेमा उनले जोड दिए। तर मैत्रीपूर्ण सम्बन्धका नाममा राष्ट्रिय सार्वभौमिकतामा सम्झौता गर्न नहुने उनको भनाइ थियो।

राष्ट्रियता र सीमाका विषयमा सत्ता तथा प्रतिपक्षभन्दा माथि उठेर साझा धारणा बनाउनुपर्ने उनले बताए। देशको सार्वभौमिकताको पक्षमा उभिनु कुनै अर्को राष्ट्रको विरोध गर्नु नभएको उनको भनाइ थियो।

फरक मत राख्ने व्यक्तिमाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने प्रवृत्तिप्रति पनि उनले चिन्ता व्यक्त गरे। दलप्रतिको अन्धसमर्थनभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिन उनले युवालाई आग्रह गरे।

हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’, उल्टो खटमा देवताको नगर परिक्रमा

काठमाडौँ : काठमाडौँको हाँडीगाउँमा ‘कहीँ नभएको जात्रा’का रूपमा परिचित चोक्टे नारायणको जात्रा मनाइएको छ। उल्टो खटमा देवता राखेर नगर परिक्रमा गराइने यो जात्रा स्थानीय मौलिक संस्कृति र धार्मिक परम्पराको विशिष्ट उदाहरण मानिन्छ।

अन्य जात्रामा खटको गजुर माथि र देवताको मूर्ति तल राख्ने चलन भए पनि यस जात्रामा गजुर तल र मूर्ति माथि राखिन्छ। ब्रह्मा, विष्णु र महेश्वरसँग सम्बन्धित तीनवटा खट हाँडीगाउँका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ।

भक्तजनले खट बोकेर नगर परिक्रमा गराउनुका साथै विशेष शैलीमा घुमाउने गर्छन्। यही अनौठो शैली र धार्मिक विधिले जात्रालाई अन्य जात्राभन्दा फरक बनाएको छ।

जात्राको उत्पत्तिबारे विभिन्न जनश्रुति प्रचलित छन्। नारायण भगवान्लाई प्रसन्न पार्न संसारमै नभएको शैलीमा जात्रा गर्ने भाकलपछि यो परम्परा सुरु भएको किंवदन्ती चर्चित छ। यसैसँग जोडेर ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान प्रचलनमा आएको विश्वास गरिन्छ।

काठमाडौँ उपत्यकाको प्राचीन बस्ती हाँडीगाउँमा मनाइने यो जात्राले स्थानीय नेवार समुदायको सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परालाई जीवन्त राख्दै आएको छ।