

विराटनगर । सप्तकोशी नदीमा भएको जेटबोट दुर्घटनाको छानबिन गर्न कोशी प्रदेश सरकारले समिति गठन गरेको छ। प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा गठित समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले दुर्घटनाको कारण, घटनाक्रम र जिम्मेवारीबारे अध्ययन तथा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो। गत कात्तिक ८ गते धनकुटा, भोजपुर र उदयपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने तीन जना बेपत्ता भएका थिए। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन समितिलाई जिम्मेवारी दिइएको जानकारी दिए। बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार प्रभावकारी बनाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ। यसैगरी, बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने र पर्यटक सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

सम्बन्धित खबर











