
बिहीबार बेलुकादेखि शनिबारसम्म वर्षाको सम्भावना, हिमाली यात्रामा सावधानी अपनाउन आग्रह
काठमाडौँ : चक्रवातको अवशेष नेपालनजिक आउने सम्भावनासँगै बिहीबार बेलुकादेखि शनिबारसम्म विभिन्न स्थानमा वर्षा हुन सक्ने प्रारम्भिक पूर्वानुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ।
वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार जलवाष्पसहित आउने प्रणाली माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिँदा नेपालमा वर्षा हुने सम्भावना छ। तर प्रणालीको गति, तीव्रता र नेपालनजिक आइपुग्दाको अवस्थाअनुसार प्रभाव परिवर्तन हुन सक्ने उनले बताइन्।
पोखरेलका अनुसार धेरै स्थानमा हल्कादेखि मध्यम तथा थोरै स्थानमा भारी वर्षा हुन सक्छ। पछिल्लो पूर्वानुमानमा वर्षाको तीव्रता केही कम देखिए पनि जोखिमयुक्त क्षेत्रमा सतर्कता आवश्यक रहेको उनको भनाइ छ।
विशेषगरी उच्च हिमाली क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न तथा मौसम प्रतिकूल हुने अवस्थामा माथिल्लो क्षेत्रको यात्रा नगर्न उनले सुझाव दिइन्। पहिरोको जोखिम भएका सडक र क्षेत्रमा यात्रा गर्दा मौसम तथा सडकको अवस्था बुझ्न पनि उनले आग्रह गरिन्।
धान काट्ने समय भएकाले किसानले मौसम पूर्वानुमानअनुसार कामको योजना बनाउनुपर्ने उनको सुझाव छ।
मनसुनपछिको समयमा पनि चक्रवातका अवशेष वा न्यूनचापीय प्रणालीका कारण नेपालमा वर्षा र हिमपात हुन सक्ने उनले स्पष्ट पारिन्। हल्लाका आधारमा त्रसित हुने वा जोखिमलाई बेवास्ता गर्नेभन्दा आधिकारिक मौसम सूचनाअनुसार गतिविधि तय गर्न उनले आग्रह गरिन्।
