Skip to main content
Advertisement1200×100-inside-1

 स्थापना दिवसमा तरुण दलको सामाजिक अभियान, एक महिनाभित्र युवा लक्षित ६ कार्यक्रम ल्याउने

काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ७४औँ स्थापना दिवसका अवसरमा विभिन्न जिल्लामा सामाजिक तथा रचनात्मक कार्यक्रम आयोजना गरेको छ।

मंगलबार काठमाडौँको संकटा मन्दिर परिसरमा सरसफाइ अभियानको नेतृत्व गर्दै अध्यक्ष मनिष कोइरालाले तरुण दललाई युवाको आवाज र जनतासँग जोडिएको संस्थाका रूपमा अघि बढाउने बताए।

Advertisement1200×100-inside-1

कोइरालाका अनुसार स्थापना दिवसमा करिब ३० देखि ३५ जिल्लामा रक्तदान, अस्पतालमा फलफूल वितरण, फुटबल प्रतियोगिता र धार्मिकस्थल सरसफाइजस्ता कार्यक्रम सञ्चालन गरिएका छन्। बाँके, वीरगञ्ज र धादिङलगायतका क्षेत्रमा पनि सरसफाइ अभियान सञ्चालन भइरहेको उनले जानकारी दिए।

तरुण दलप्रति समाजमा रहेको बुझाइ बदल्दै सामाजिक रूपान्तरण र युवाको सशक्तीकरणमा केन्द्रित हुने उनको भनाइ थियो।

प्रविधिको विकाससँगै युवालाई कृत्रिम बौद्धिकतासम्बन्धी क्षेत्रमा जोड्ने योजना रहेको पनि कोइरालाले बताए। आगामी एक महिनाभित्र युवा लक्षित छवटा नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए।