Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ज्येष्ठ नागरिकलाई ‘बोझ’ ठान्ने सोच बदल्नुपर्छ : डा. चित्रलेखा मेरी मासी

Advertisement800×200-1

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयकी अधिकारी डा. चित्रलेखा मेरी मासीले ज्येष्ठ नागरिकलाई कमजोर, अनुत्पादक र परनिर्भर ठान्ने सोचले उनीहरूको अधिकारमा बाधा पुर्‍याइरहेको बताएकी छन्।

काठमाडौँ भ्रमणका क्रममा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मासीले उमेरका आधारमा मानिसको क्षमता र जीवनको मूल्य निर्धारण गर्ने प्रवृत्ति गम्भीर विभेद भएको बताइन्। ज्येष्ठ नागरिकलाई दया वा कल्याणका पात्रका रूपमा मात्र हेर्नुभन्दा अधिकारसम्पन्न व्यक्तिका रूपमा स्वीकार गर्नुपर्ने उनको भनाइ छ।

निश्चित उमेर पुगेपछि मानिसले समाजमा योगदान दिन सक्दैन भन्ने धारणा गलत रहेको उनले बताइन्। उमेरकै आधारमा ऋण, बीमा, रोजगारी वा अन्य अवसरबाट वञ्चित गर्ने अभ्यासले उनीहरूको आर्थिक र सामाजिक सहभागिता सीमित बनाउने उनको भनाइ थियो।

वृद्धावस्था सबैका लागि एकैनास नहुने उल्लेख गर्दै मासीले व्यक्तिको स्वास्थ्य, क्षमता र आवश्यकताअनुसार नीति बनाउनुपर्ने बताइन्। परिवारले समेत ज्येष्ठ नागरिकको सट्टा सबै निर्णय गरिदिने अभ्यासले आत्मनिर्णयको अधिकार खोस्ने उनले उल्लेख गरिन्।

मासीका अनुसार ज्येष्ठ नागरिकको अधिकार संरक्षणका लागि कानुनी रूपमा बाध्यकारी अन्तर्राष्ट्रिय सन्धि निर्माणको प्रक्रिया अघि बढिरहेको छ। सन् २०२७ को अन्त्यसम्म प्रारम्भिक मस्यौदा तयार हुने अपेक्षा रहेको उनले बताइन्।

सन्धि निर्माणमा ज्येष्ठ नागरिक स्वयं, प्रतिनिधिमूलक संस्था र मानव अधिकार निकायको सहभागिता आवश्यक रहेको उनको भनाइ छ। विपन्न तथा सीमान्तकृत समुदायको आवाज समेट्न आर्थिक, भौगोलिक र पहुँचसम्बन्धी अवरोध हटाउनुपर्ने उनले बताइन्।

युवा र ज्येष्ठ नागरिकका सवाल परस्पर जोडिएका भन्दै उनले पुस्ताबीचको सहकार्यमा जोड दिइन्। जीवनको प्रारम्भिक चरणमा भोगिएको असमानता वृद्धावस्थामा थप गहिरिन सक्ने भएकाले सबै उमेर समूहलाई समेट्ने दृष्टिकोण आवश्यक रहेको उनको भनाइ थियो।

ज्येष्ठ नागरिकको आत्मसम्मान, निर्णय गर्ने अधिकार र समान सहभागिता सुनिश्चित गर्न सके मात्रै दीर्घायुलाई मानव सभ्यताको उपलब्धिका रूपमा मनाउन सकिने मासीले बताइन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर