Skip to main content
Advertisement1200×100-inside-1

लेखक: space4k

काठमाडौं महानगरमा निःशुल्क कानूनी सेवा लिनेको संख्या १ लाख ६०६

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४३ महिनाको अवधिमा १ लाख ६०६ जनालाई निःशुल्क कानूनी सेवा प्रदान गरेको जनाएको छ। बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले २०७० चैत २ गतेदेखि शुरु गरिएको निःशुल्क कानूनी सेवा लिनेको संख्या १ लाख ६०६ पुगेको जानकारी दिनुभएको हो। उहाँकाअनुसार आर्थिक अवस्था कमजोर भएका तथा न्यायमा पहुँच पु¥याउन कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गरी महानगरपालिकाले उक्त सेवा सञ्चालनमा ल्याएको थियो।

उहाँले कानूनी परामर्श लिनसमेत शुल्क तिर्नुपर्ने र आर्थिक अभावका कारण न्याय प्राप्त गर्न कठिन हुने नागरिकको गुनासोलाई सम्बोधन गर्न महानगरले उक्त सेवा शुरु गरेको जानकारी दिनुभयो। महानगरपालिकाले विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा कानुन विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नका रूपमा परिचालन गरी नागरिकलाई निःशुल्क कानूनी सेवा उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ।

उहाँले न्याय सबै नागरिकका लागि समान र सहज पहुँचयोग्य हुनुपर्ने बताउँदै विपन्न वर्ग, एकल महिला, अपांगता भएका व्यक्ति तथा आर्थिक रूपमा कमजोर नागरिकलाई न्यायका लागि ऋण लिनुपर्ने अवस्था अन्त्य गर्ने महानगरको उद्देश्य रहेको बताउनु भयो। उहाँकाअनुसार निःशुल्क कानूनी सेवा लिनेमा ११ हजार ४ सय ६३ जना ज्येष्ठ नागरिक, ४ सय ५६ जना अपाङ्गता भएका व्यक्ति, १ सय ७५ जना बालबालिका र ४२ हजार १ सय ८८ जना महिला रहेका छन्।

अस्पतालमा बिरामीका लागि रगतको माग निरन्तर बढ्दै

काठमाडौं । असन सेवा समितिले बुधबार असन टोल र सुन्धारामा रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग र काठमाडौं महानगरपालिकाको विशेष सहकार्यमा कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ। ‘रक्तदान जीवनदान’ भन्ने भावनाका साथ आयोजित कार्यक्रममा असनका स्थानीय बासिन्दाले रक्तदान गरेका छन्। कार्यक्रममा रक्तदान गर्ने सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको छ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटीले अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्दै गएको र रक्तसञ्चार केन्द्रमा मौज्दात घटेपछि सर्वसाधारणलाई रक्तदान गर्न विशेष आग्रह गरेको छ। बडादशैँको लामो बिदाका कारण केन्द्रिय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम सञ्चालन हुन नसकेको र अस्पतालमा बिरामीका लागि रगतको माग दिनानुदिन बढ्दै गएकाले अभाव भएको रेडक्रसले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा सबै रक्तसमूहको होल ब्लड र प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) लगायतका रक्तघटकको मौज्दात सकिएको छ। यसले गर्दा बिरामीलाई आवश्यक रगत व्यवस्थापन गर्न कठिनाइ भइरहेको सोसाइटीको भनाइ छ। डा. यादवले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवा–युवतीलाई रक्तदान गर्न आग्रह गर्नुभयो।

नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानमा रहेका रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा सञ्चालन गर्दै आएको छ। बिरामीका लागि रगत आवश्यक परेमा वा रक्तदानसम्बन्धी जानकारी लिन केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१–५३८८४८५ र ०१–५३८८४८६ मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ। त्यस्तै, निःशुल्क हटलाइन नम्बर ११३० मा पनि सम्पर्क गर्न सकिनेछ।

पशुपति क्षेत्र विकास कोषको गेट अगाडि स्थानीयको धर्ना जारी

काठमाडौं । तिलगंगा क्षेत्र (ब्लक बी–१३) का स्थानीयले १७८ दिनदेखि पशुपति क्षेत्र विकास कोषको गेट अगाडि धर्ना दिईरहेका छन्। उनीहरूले कोषको गुरुयोजना कार्यान्वयनका क्रममा आफूलाई अन्याय भएको भन्दै धर्ना दिएका हुन्। स्थानीयको आरोप छ कि सरकारले उनीहरूलाई सुकुम्बासीको व्यवहार गर्दै रातारात घरटहरा भत्काएको छ। गत वैशाख १८ र १९ गते सरकारले वागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउने क्रममा तिलगंगा क्षेत्रका बस्तीका घरटहरा पनि भत्काएको थियो। त्यसपछि स्थानीयले गौशालास्थित पशुपति क्षेत्र विकास कोषको मुख्य गेट अगाडि धर्ना दिन थालेका छन्। उनीहरूको दाबी छ कि उनीहरू सुकुम्बासी नभई लालपुर्जा, भवन निर्माण सम्पन्न प्रमाणपत्र र कर तिरेका कागजातसहित बसोबास गरिरहेका नागरिक हुन्।

स्थानीय सुदर्शन गौतमले सरकारले आफूलाई अन्याय गरेको आरोप लगाउँदै विस्थापित परिवारलाई पुनर्वास गराउनुपर्ने वा आफ्नो जग्गा फिर्ता गर्नुपर्ने बताएका छन्। सरकारले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा पाँच वटा वस्तीलाई स्थानान्तरण गरी गोठाटार मुलपानी क्षेत्रमा पुनर्वास गराउनेगरी स्थानीयसँग सम्झौता गरेको थियो। चार वटा बस्ती स्थानान्तरण भए पनि गौतमका अनुसार राज्यले आफूलाई अन्याय गरेको छ। प्रभावित परिवारले स्थानान्तरणको विकल्प स्वीकार गरे पनि सरकारले त्यसअनुसार व्यवस्था नगरेको उनले बताए।

गौतमले भने, “गुरुयोजना कार्यान्वयन गर्ने भएमा हामीलाई गोठाटार क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने नभए बस्दै आएको जग्गा उपलब्ध गराउनुपर्नेछ।” उनले बस्ती भत्काउने निर्णय छिटो गर्ने सरकारले प्रभावितलाई न्याय दिन ढिलाइ गरेको गुनासो गरे। स्थानीयको सम्पत्ति २०५३ सालदेखि रोक्का रहेको र घरटहरा भत्किएपछि परिवारहरू थप समस्यामा परेको उनले बताए। गौतमले प्रभावित परिवारसँग जग्गासम्बन्धी कागजात, वडा कार्यालयको प्रतिवेदन, महान्यायाधिवक्ताको राय र पशुपति क्षेत्र विकास कोषसम्बन्धी कानूनी व्यवस्थालगायतका आधारमा समस्याको समाधान गर्न सरकारसँग माग गरेका छन्।

गौतमका अनुसार प्रभावित पक्षले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँगको छलफलमा आवश्यक कागजात र सम्झौतासम्बन्धी प्रमाण पुनः बुझाएका छन्। मन्त्रीले घटनाबारे पर्याप्त जानकारी नपाई घर भत्काएको विषयमा सम्बन्धित निकायसँग कागजात मागिएको जानकारी दिएको उनले बताए। स्थानीयका अनुसार उनीहरूको समस्या काठमाडौं महानगरपालिकाको नगरसभामा समेत उठाइएको छ। सम्बन्धित क्षेत्रका सांसदले पनि संसद्मा प्रभावित नागरिकलाई न्याय दिनुपर्ने विषय उठाएको गौतमको भनाइ छ। यद्यपि, लामो समयसम्म माग सम्बोधन नभएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। गौतमले प्रधानमन्त्री कार्यालय र ‘हेलो सरकार’मा समेत निवेदन दिएको उल्लेख गर्दै सम्बन्धित निकायबाट ठोस निर्णय नआएको बताए। उनले शान्तिपूर्ण धर्नाबाट सुनुवाई नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्। प्रभावित स्थानीयले आफूहरूले अतिरिक्त सुविधा नभई पहिले भएका निर्णय कार्यान्वयन र न्यायोचित पुनर्वास मात्रै मागेको बताएका छन्। उनीहरूले सरकारले घरटहरा भत्काउनुअघि र पछि अपनाएका प्रक्रिया तथा आफ्नो सम्पत्ति अधिकारसम्बन्धी प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।

सलिको गल्फ प्रतियोगिता शनिबार गोकर्ण गल्फ कोर्समा हुने

काठमाडौं । सलिको गल्फ प्रतियोगिता आगामी शनिबार गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा आयोजना हुने भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) द्वारा आयोजित एकदिने प्रतियोगितामा करिव एक सय एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन्। आयोजक सलिकोले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएका छन्। नेपाली कर्पोरेट क्षेत्रका खेलाडीको सहभागिता रहने गोकर्ण गल्फ कोर्सको डाइरेक्टर दीपक आचार्यले जानकारी दिए।

प्रतियोगिता कुल १८ होलको पार ७२ कोर्समा हुनेछ। प्रतियोगिताको पार थ्री को दशौं होलमा होल इन वान गर्ने पहिलो खेलाडीले टाटा नेक्सन गाडी प्राप्त गर्नेछन्। यो पुरस्कार प्रतियोगिताको मुख्य आकर्षण रहेको छ। कर्पोरेट प्रतियोगिता भएकाले नगद पुरस्कार नहुने भएको छ। पुरुषतर्फ विजेता र उपविजेता, बेस्ट ग्रस, महिलामा विजेता र उपविजेता, ६० वर्षमाथिका खेलाडीबीच सिनियर विजेता तथा ७० वर्षमाथिका खेलाडीबीच सुपर सिनियर विजेतालाई पुरस्कृत गरिनेछ। मोस्ट बर्डिज, क्लोजेस्ट टु द पिन, लङ्गेस्ट ड्राइभ र ‘सलिको ३० वर्षको विश्वास’ विधामा पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

सलिकोका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्की क्षेत्रीले सलिको गल्फ प्रतियोगिता २०२६ आयोजना गर्न पाउँदा खुशी व्यक्त गर्दै प्रतियोगिताले सरोकारवालाहरू तथा बृहत् कर्पोरेट समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउने बताए। ‘यस्ता खेलकुद प्रतियोगिता प्रतिष्पर्धामा मात्र सिमित हुँदैनन्। यसले सौहार्दपूर्ण सम्बन्ध विकास गर्न, व्यावसायिक सम्बन्धलाई बलियो बनाउन तथा साझा मूल्य, इमानदारी, खेल भावना र पारस्परिक सम्मानका माध्यमबाट मानिसहरूलाई एकै ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने।

अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप कात्तिक १३ गतेदेखि चितवनमा

चितवन । चितवनमा पहिलोपल्ट हुन लागेको अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप कात्तिक १३ गतेदेखि आयोजना हुने भएको छ। चितवन तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२६ यसै कात्तिक १३ देखि १५ गतेसम्म हुने भएको हो। चितवनमा पहिलोपल्ट यति ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको चितवन तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले जानकारी दिए। चितवनस्थित राप्ती नगरपालिकाको भण्डारामा आयोजकले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

नेपालका सातवटै प्रदेशसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका करिब आठ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए। च्याम्पियनसिपमा पुम्से र ग्योरोगी विधाअन्तर्गत विभिन्न उमेर तथा तौलसमूहमा प्रतिष्पर्धा हुनेछ। रत्ननगरपालिकास्थित सौराहको रत्ननगर सभाहलमा खेल हुने भएको छ।

चितवन तेक्वान्दो डोजाङका रोशन खानले चितवनमा तेक्वान्दो खेलको विकास गर्ने र नेपाली खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अवसर दिने उद्देश्यले सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्न लागिएको बताए। टिम च्याम्पियनले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका संयोजक प्रज्वल दवाडीले ग्यरोगीतर्पm सब जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्सेमा गरी कुल ६४ स्वर्ण, ६४ रजत र १२८ कांस्य पदकका लागि प्रतिष्पर्धा हुने बताए।

नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश तेक्वान्दो संघ र चितवन जिल्ला तेक्वान्दो संघको सहयोग तथा समन्वयमा उक्त च्याम्पियनसिप हुँदै छ। प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष, उत्कृष्ट ग्योरोगी महिला, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने जानकारी दिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीबीच प्रतिष्पर्धा गराउँदै उनीहरूको क्षमता अभिवृद्धि र अनुभव आदानप्रदान गर्ने लक्ष्य आयोजकको छ। साथैे खेलमार्पmत सौराहाको पर्यटन प्रवद्र्धनसँग पनि जोड्ने बताइएको छ। सौराहालाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने र चितवनको पहिचान अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ।

जैविक विविधता संरक्षणका लक्ष्य हासिल गर्न सामूहिक प्रयासमा जोड

काठमाडाैं । सन् २०३० सम्म जैविक विविधता संरक्षणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्यहरू हासिल गर्न प्रभावकारी कार्यान्वयन, दिगो वित्तीय व्यवस्थापन र सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ। ‘नेपालको जैविक विविधतासम्बन्धी दृष्टिकोण : महत्त्वाकाङ्क्षादेखि कार्यान्वयनसम्म’ विषयक कार्यक्रममा सहभागीहरूले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजनालाई ठोस उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताएका हुन्।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, यूएनडीपीले नेपालको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजनासम्बन्धी भिडियो प्रस्तुत गरेको थियो। भिडियो सन्देशमार्फत कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पारिस्थितिकीय प्रणालीको संरक्षण, खाद्य सुरक्षा, नागरिकको जीविकोपार्जन तथा वातावरणीय उत्थानशीलताका लागि जैविक विविधता महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले संरक्षणसम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा उतार्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा जैविक विविधतासम्बन्धी महासन्धिको सचिवालय तथा यूएनडीपीको जैविक विविधता वित्त पहलका प्रतिनिधिहरूले संरक्षणका लागि सामूहिक प्रयास र दिगो वित्तीय स्रोत परिचालनमा जोड दिएका थिए। प्यानल छलफलमा युवा, आदिवासी जनजाति तथा स्थानीय समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, इसिमोडका प्रतिनिधिले अन्तर्राष्ट्रिय वातावरणीय कोषमार्फत स्रोत परिचालन गर्ने अवसर रहेको उल्लेख गर्दै जैविक विविधता संरक्षणमा सामुदायिक वनको भूमिका महत्त्वपूर्ण हुने बताए। यूएनडीपीका प्रतिनिधिले राष्ट्रिय रणनीति तथा कार्ययोजनालाई जैविक विविधता संरक्षणसँगै दिगो विकास र साझेदारी विस्तार गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए। कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव दीपक ज्ञवालीले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजनामा स्पष्ट सूचकसहित ३६ वटा लक्ष्य निर्धारण गरिएको जानकारी दिनुभयो। ती लक्ष्य हासिल गर्न प्रभावकारी समन्वय, साझा जिम्मेवारी र मापनयोग्य प्रगति आवश्यक रहेको उहाँको भनाइ थियो। कार्यक्रमले सन् २०३० सम्मका जैविक विविधतासम्बन्धी लक्ष्यहरू हासिल गर्न पर्याप्त लगानी, समावेशी सहभागिता र सरकारका सबै तहबीच सहकार्य आवश्यक रहेको साझा सन्देश दिएको छ।

तीन महिनामा साढे ६ खर्बको आयात, व्यापार घाटा ५ खर्ब ३२ अर्ब पुगेको छ

काठमाडौं, ११ कात्तिक। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार उल्लेखनीय रूपमा बढेको छ। आयात र निर्यात दुवैमा वृद्धि भए पनि आयातको तुलनामा निर्यातको हिस्सा कम हुँदा मुलुकको व्यापार घाटा थप चुलिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म नेपालले ६ खर्ब ४६ अर्ब रुपैयाँबराबरका वस्तु आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ४ खर्ब ६८ अर्ब रुपैयाँभन्दा बढीका वस्तु आयात गरेको थियो।

यस अवधिमा निर्यात व्यापारमा पनि उल्लेखनीय सुधार देखिएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट १ खर्ब १४ अर्ब रुपैयाँबराबरका वस्तु निर्यात भएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७२ अर्ब रुपैयाँबराबरका वस्तु निर्यात भएका थिए। यस आधारमा निर्यात व्यापार ५७.०३ प्रतिशतले बढेको विभागले जनाएको छ। निर्यातको वृद्धिदर आयातको तुलनामा उच्च रहे पनि कुल व्यापारमा आयातको हिस्सा ठूलो भएकाले व्यापार घाटा घट्न सकेको छैन।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार घाटा ५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ३ खर्ब ९५ अर्ब रुपैयाँ थियो। यसरी एक वर्षको अवधिमा व्यापार घाटा ३४.७१ प्रतिशतले बढेको छ। रकमका आधारमा हेर्दा गत वर्षको तुलनामा यस वर्षको पहिलो तीन महिनामै व्यापार घाटा करिब १ खर्ब ३७ अर्ब रुपैयाँले बढेको देखिन्छ। आयात र निर्यात दुवै बढ्नुले वैदेशिक व्यापारको कारोबार विस्तार भएको संकेत गरे पनि व्यापार घाटामा भएको वृद्धिले नेपालको आयातमुखी अर्थतन्त्रको चुनौती कायमै रहेको देखाउँछ। निर्यातको वृद्धिलाई दिगो बनाउँदै स्वदेशी उत्पादन, औद्योगिक क्षमता र निर्यातयोग्य वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने आवश्यकता देखिएको छ।

ओलीको दाबी: देशको स्वतन्त्रता र स्वाधीनता संकटमा, आन्दोलनको तयारी गर्नुपर्ने

काठमाडौं, ११ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको स्वतन्त्रता र स्वाधीनता संकटमा परेको दाबी गर्दै त्यसको रक्षाका लागि आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन्। बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक अवस्था गम्भीर बन्दै गएको टिप्पणी गरे। उनले परिस्थितिलाई थप बिग्रन नदिन र मुलुकलाई स्वतन्त्रता तथा स्वाधीनताको अभ्यास गर्न सक्ने अवस्थामा पुर्‍याउन आन्दोलन अपरिहार्य भएको बताए।

‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ। देश कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ,’ ओलीले भने। अध्यक्ष ओलीले वर्तमान सरकारमाथि नागरिकको बोल्ने स्वतन्त्रता कुण्ठित गरेको आरोपसमेत लगाए। देशमा खुलेर आफ्ना विचार राख्न नसकिने वातावरण सिर्जना गरिएको दाबी गर्दै उनले राज्य आतंक र गुण्डाराज मौलाएको टिप्पणी गरे। सरकार निरंकुशतातर्फ अघि बढिरहेको उनको आरोप थियो।

ओलीले देशको राजनीतिक परिस्थितिलाई अत्यन्त संवेदनशील अवस्थामा पुगेको उल्लेख गर्दै यसबाट मुलुकलाई निकास दिने जिम्मेवारी एमालेको काँधमा आएको बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई मूल लक्ष्य बनाएर एमाले अघि बढिरहेको उल्लेख गर्दै उनले आधुनिक नेपाल निर्माणको अभियानलाई निरन्तरता दिन पार्टी थप सशक्त र संगठित हुनुपर्नेमा जोड दिए। उनले पार्टीको नीति, विचार र सिद्धान्तमा दृढ रहँदै अनुशासित तथा एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

अध्यक्ष ओलीले गत फागुन २१ गते सम्पन्न निर्वाचनप्रति पनि असन्तुष्टि व्यक्त गरे। उक्त निर्वाचनलाई उनले सामान्य लोकतान्त्रिक अभ्यास नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृंखलाका रूपमा टिप्पणी गरे। एमाले सत्य, न्याय, राष्ट्रिय हित र जनताको पक्षमा निरन्तर उभिँदै आएको दाबी गर्दै ओलीले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले सफलता हासिल गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा एमालेका नवनियुक्त केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका थिए। उनीहरूलाई अध्यक्ष ओलीले शपथ गराएका थिए। पार्टी महासचिव शंकर पोखरेलले सञ्चालन गरेको कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरूको उपस्थिति थियो।

आईजीपी कार्कीले प्रहरी प्रमुखहरूलाई जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिए

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालयका प्रमुखहरूलाई आआफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयबाट भर्चुअल कन्फरेन्समार्फत आयोजित कार्यक्रममा आईजीपी कार्कीले समसामयिक विषयमा आवश्यक निर्देशन दिँदै प्रहरी कार्यालयहरूलाई आफ्नो जिम्मेवारीप्रति सक्रिय र जिम्मेवार भएर काम गर्न आग्रह गरेका हुन्।

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय, राजमार्ग तथा ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालय, प्रहरी गण तथा गुल्म र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता थियो। त्यसैगरी, प्रहरी निरीक्षकको नेतृत्वमा रहेका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरू पनि भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो। आईजीपी कार्कीले प्रहरी संगठनअन्तर्गतका सबै कार्यालयलाई तोकिएको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न निर्देशन दिएका थिए।

नेप्सेमा उत्साहजनक वृद्धि, साउन ३० यताकै उच्च विन्दुमा

काठमाडौं । बुधबार नेपाली सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले उकालो लाग्दै २ हजार ६६४ विन्दुमा पुगेको छ । यो साउन ३० गतेयताकै उच्च विन्दु हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । मंगलबार ५ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार बढेर ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यो कारोबार रकम भदौ ३० गतेयताकै उच्च हो ।

बुधबार कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य बढेको छ । कुल २४१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३५ कम्पनीको मूल्य घटेको छ भने तीन कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । बुधबारको कारोबारमा जलविद्युत् क्षेत्रका कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढी देखिएको छ । जलविद्युत् समूहको परिसूचक २.०६ प्रतिशतले बढ्दै अन्य समूहलाई पछि पारेको छ । व्यापार समूहबाहेक सबै समूहगत परिसूचक सकारात्मक देखिएका छन् । बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, वित्त समूह १.५५ प्रतिशत, होटल तथा पर्यटन १.३४ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत र जीवन बीमा समूह १.५९ प्रतिशतले बढेका छन् ।

बुधबार सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीको सूचीमा हालै सूचीकृत बेनी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, बुटवल पावर कम्पनीको सेयर मूल्य १०.६० प्रतिशतले वृद्धि भएको छ । सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य ६.२६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२ प्रतिशत, युनियन हाइड्रोपावरको ५.८६ प्रतिशत र सान्जेनको ५.८१ प्रतिशतले बढेको छ ।

समग्रमा बुधबारको कारोबारले सेयर बजारमा सकारात्मक माहोल देखाएको छ । परिसूचक र कारोबार रकम दुवै बढ्नुका साथै अधिकांश कम्पनीको सेयर मूल्य उकालो लाग्दा बजारमा खरिद चाप बढेको संकेत मिलेको छ । विशेषगरी जलविद्युत् क्षेत्रमा देखिएको सक्रियताले बुधबारको बजार वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । यद्यपि, एक दिनको वृद्धिलाई मात्र आधार मानेर बजारको आगामी दिशा निश्चित गर्न सकिँदैन ।

स्पेनमा दुई रेल ठोक्किँदा ३९ जनाको मृत्यु, दर्जनौँ घाइते

म्याड्रिड। स्पेनको टोलेडो प्रान्तमा बुधबार बिहान दुईवटा उच्च गतिको यात्रुवाहक रेल आपसमा ठोक्किँदा कम्तीमा ३९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन् भने क्षतिग्रस्त रेलका डिब्बामा फसेका यात्रुको खोजी तथा उद्धार कार्य जारी छ। स्पेनको राजधानी म्याड्रिडबाट दक्षिणी सहर सेभियातर्फ गइरहेका रेल टोलेडो प्रान्तको लस येबेनेस र उर्दाबीच दुर्घटनामा परेका हुन्। स्थानीय समयअनुसार बुधबार बिहान करिब ८ बजेर ५४ मिनेटमा दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा स्पेनको सरकारी रेल सेवा प्रदायक रेन्फे (Renfe) को एभीई (AVE) उच्च गतिको रेल र निजी कम्पनी इरियो (Iryo) को रेल संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। प्रारम्भिक विवरणअनुसार इरियो कम्पनीको रेल लिकमा रोकिएको अवस्थामा थियो। सोही लिकमा पछाडिबाट आएको रेन्फेको रेल रोकिएको रेलसँग ठोक्किएको बताइएको छ। शक्तिशाली ठक्करका कारण रेलका केही डिब्बा लिकबाट बाहिर निस्किएका छन् भने कम्तीमा दुईवटा डिब्बा रेलमार्गको किनारबाट तल खसेका छन्।

दुर्घटनापछि सार्वजनिक भएका भिडियो तथा तस्बिरमा रेलका डिब्बाहरू क्षतिग्रस्त भएको, यात्रुहरू जमिनमा लडिरहेको र उद्धारकर्मीले घाइतेलाई उपचारका लागि लैजाँदै गरेको देखिन्छ। घटनास्थलमा ठूलो संख्यामा एम्बुलेन्स, दमकल, प्रहरी तथा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एलबीसीका अनुसार दुर्घटनामा परेको इरियो रेलमा १४७ र रेन्फेको रेलमा २९७ यात्रु सवार थिए। यद्यपि दुवै रेलमा रहेका यात्रुको कुल संख्याबारे विभिन्न सञ्चारमाध्यमले फरक विवरण सार्वजनिक गरेका छन्।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ। स्पेनको रेडियो नेटवर्क कादेना सेरले सरकारी स्रोतलाई उद्धृत गर्दै इरियो रेल रोकिएको स्थानमा रातो संकेत रहेको र त्यसका बाबजुद अर्को रेललाई अगाडि बढ्न अनुमति दिइएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। यस घटनाले रेलको संकेत प्रणाली, सञ्चालन नियन्त्रण तथा स्वचालित सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। दुर्घटनापछि स्पेनका सुरक्षा निकायले व्यापक उद्धार अभियान सञ्चालन गरेका छन्।

चक्रवात ‘अर्नव’को प्रभाव बिहीबारदेखि, किसान र पर्यटन क्षेत्रलाई सतर्क रहन सुझाव

चक्रवात ‘अर्नव’को प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा देखिन सक्ने भन्दै कृषि तथा पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। बंगालको खाडीमा विकसित चक्रवातले देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी, मेघगर्जन र चट्याङ तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् तथा प्रवक्ता विभूति पोखरेलका अनुसार चक्रवातको मार्ग र गति अझै निश्चित भएको छैन। मध्य र पूर्वी नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्छ।

मध्य र पूर्वी तराईमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ भने सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा शुक्रबार बेलुका र शनिबार असिना पनि पर्न सक्छ। लामो समय वर्षा नभएका स्थानमा एकैपटक ठूलो वर्षा हुँदा पहिरोको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त सडक तथा क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन पोखरेलले आग्रह गरे। उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको सम्भावना भएकाले पदयात्रालगायत पर्यटकीय गतिविधिमा पनि सतर्कता आवश्यक रहेको उनले बताए।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कृषि मौसमविद् रामेश्वर रिमालले क्षति कम गर्न किसानलाई पूर्वतयारी गर्न आग्रह गरेका छन्। पाकिसकेको धान काट्न मिल्ने अवस्था भए उपलब्ध मेसिन तथा साधन प्रयोग गरी सुरक्षित रूपमा भित्र्याउनुपर्ने तर मौसमको अवस्था हेरेर मात्र काम गर्नुपर्ने उनको सुझाव छ। तराईमा हावाहुरीले पाकेको धान ढल्ने जोखिम रहेकाले धानखेतमा पानी जम्न नदिन निकासको व्यवस्था मिलाउन उनले आग्रह गरे।

धान ढलेमा लामो समय खेतमै नछाड्ने र पानीमा डुबेको बाली मौसम सुध्रिएपछि सकेसम्म चाँडो उठाएर सुकाउनुपर्ने उनले बताए। काटिसकेको धान भिजे आलीकान्ला वा बाँसका भाटाको सहायताले पानी तर्काएर सुकाउन सकिन्छ। चक्रवातको सम्भावित प्रभाव रहने अवधिमा मल तथा विषादी छर्ने काम स्थगित गर्न रिमालले आग्रह गरे। वर्षाले मल र विषादी बगाएर लैजाने र बालीले पोषण लिन नपाउने भएकाले मौसम सुध्रिएपछि मात्र प्रयोग गर्नु उचित हुने उनले बताए।

भारतीय पक्षबाट रकम नआउँदा कटहरी रेल स्टेसन निर्माणमा अन्योल

विराटनगर, ११ कात्तिक – नेपालतर्फको जग्गा तथा मुआब्जा विवाद समाधान भए पनि भारतीय पक्षबाट रकम निकासा नहुँदा मोरङको कटहरीस्थित रेल स्टेसन निर्माण अन्योलमा परेको छ। वर्षौँदेखि प्रतीक्षामा रहेको आयोजना अघि बढ्न नसक्दा कटहरीसम्म मालवाहक रेल सञ्चालन गर्ने योजना अधुरै छ। कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीका अनुसार गत आर्थिक वर्ष भारतीय कम्पनी महतारा विल्टकमले २० करोड ५६ लाख भारतीय रुपैयाँमा निर्माणको ठेक्का पाए पनि भारत सरकारले रकम निकासा नगर्दा काम सुरु हुन सकेन। यस वर्ष पनि अघिल्लो वर्षभन्दा १० प्रतिशत बढी रकममा ठेक्का लागेको जानकारी आएको उनले बताए। नेपालतर्फको मुआब्जा विवाद सर्वोच्च अदालतको २०८२ कात्तिकको आदेशपछि समाधान भएको हो।
भारतको बथनाहादेखि कटहरीको महेशपुरसम्म १८.६ किलोमिटर रेलमार्ग र दुईवटा स्टेसन निर्माण गर्ने सम्झौता नेपाल–भारतबीच सन् २०११ मा भएको थियो। सन् २०१८ मै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना अझै पूरा भएको छैन। हाल विराटनगर–१८ भेडियारीस्थित एकीकृत भन्सार जाँच चौकीसम्म करिब आठ किलोमिटर रेलमार्गमा मालवाहक रेल सञ्चालन भइरहेको छ। भेडियारीदेखि कटहरीसम्म अधिकांश क्षेत्रमा लिक बिछ्याइए पनि स्टेसन, मालसामान झार्ने प्लेटफर्म र अन्य आवश्यक पूर्वाधार निर्माण हुन बाँकी छ। कटहरी–१ महेशपुरमा कार्गो स्टेसन, गोदाम, भन्सार शाखा र कर्मचारी आवासलगायत संरचना निर्माण गर्नुपर्नेछ। काम तत्काल सुरु भए दुई वर्षभित्र कटहरीसम्म रेल सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ। रेल सञ्चालनमा आए ढुवानी लागत घट्ने, आयात–निर्यात सहज हुने र स्थानीय आर्थिक गतिविधि बढ्ने उद्योगी–व्यवसायीको विश्वास छ। तर रकम निकासाको अन्योलले आयोजना अघि बढ्न नसक्दा यसको लाभ लिन स्थानीयले अझै प्रतीक्षा गर्नुपर्ने भएको छ।

झापामा हवाई फायर गरी ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा – झापा गाउँपालिका–१ सालमारामा प्रहरीले हवाई फायर गरी दुई लागूऔषध तस्करलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सालमारा निवासी ३० वर्षीय सलमान मिया र ३६ वर्षीय नसिम अक्तर मिया छन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १२:३० बजे विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतको कुत्तुवाभिट्टाबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा सलमानले लगाएको कुर्ताको दाहिने खल्तीमा रहेको साबुनको रातो बट्टाभित्र ब्राउन सुगर फेला परेको थियो। बरामद पदार्थ प्लास्टिकसहित १६६ ग्राम ३४० मिलिग्राम र प्लास्टिकबाहेक १५० ग्राम १४० मिलिग्राम छ।

प्रहरीले उनीहरू सवार मे ७ प ३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल, बीआर ३७ एए ५३८० नम्बरको होन्डा साइन मोटरसाइकल र दुई थान मोबाइल सेट पनि बरामद गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ।

पक्राउ परेका दुवैलाई बरामद सामग्रीसहित अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको छ। आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लैजाने तयारी भइरहेको छ।

४२ जिल्लामा अधिवेशन बाँकी, मिति तोक्न केन्द्रीय कार्यसमिति बैठक बस्ने

काठमाडौं – नेपाली कांग्रेसले बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन आगामी मंसिर मसान्तभित्र सम्पन्न गर्ने तयारी गरेको छ। अधिवेशनको निश्चित मिति भने केन्द्रीय कार्यसमिति बैठकबाट तय गरिने जनाइएको छ।

कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरेको थियो। समय अभावका कारण जिल्ला र प्रदेश अधिवेशन पछि गर्ने निर्णय गर्दै वडा, पालिका, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रका अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गरिएको थियो। महाधिवेशनका लागि आवश्यक प्रतिनिधि छनोट गर्ने उद्देश्यले प्राथमिकताका साथ ती अधिवेशन गरिए पनि बाँकी संगठनात्मक प्रक्रिया महाधिवेशनपछि पूरा गर्ने गरी राखिएको थियो।

कांग्रेसका ७७ जिल्लामध्ये एउटा मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी ४२ जिल्लामा अधिवेशन हुन बाँकी छ। महाधिवेशन प्रतिनिधि छनोट निर्वाचन क्षेत्रबाट हुने भएकाले एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै जिल्ला अधिवेशन गरिएको थियो। अब बाँकी जिल्लाका साथै प्रदेश अधिवेशनसमेत मंसिर मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य कांग्रेसले लिएको छ।