Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ओलीको दाबी: देशको स्वतन्त्रता र स्वाधीनता संकटमा, आन्दोलनको तयारी गर्नुपर्ने

Advertisement800×200-1

काठमाडौं, ११ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको स्वतन्त्रता र स्वाधीनता संकटमा परेको दाबी गर्दै त्यसको रक्षाका लागि आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन्। बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक अवस्था गम्भीर बन्दै गएको टिप्पणी गरे। उनले परिस्थितिलाई थप बिग्रन नदिन र मुलुकलाई स्वतन्त्रता तथा स्वाधीनताको अभ्यास गर्न सक्ने अवस्थामा पुर्‍याउन आन्दोलन अपरिहार्य भएको बताए।

‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ। देश कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ,’ ओलीले भने। अध्यक्ष ओलीले वर्तमान सरकारमाथि नागरिकको बोल्ने स्वतन्त्रता कुण्ठित गरेको आरोपसमेत लगाए। देशमा खुलेर आफ्ना विचार राख्न नसकिने वातावरण सिर्जना गरिएको दाबी गर्दै उनले राज्य आतंक र गुण्डाराज मौलाएको टिप्पणी गरे। सरकार निरंकुशतातर्फ अघि बढिरहेको उनको आरोप थियो।

ओलीले देशको राजनीतिक परिस्थितिलाई अत्यन्त संवेदनशील अवस्थामा पुगेको उल्लेख गर्दै यसबाट मुलुकलाई निकास दिने जिम्मेवारी एमालेको काँधमा आएको बताए। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई मूल लक्ष्य बनाएर एमाले अघि बढिरहेको उल्लेख गर्दै उनले आधुनिक नेपाल निर्माणको अभियानलाई निरन्तरता दिन पार्टी थप सशक्त र संगठित हुनुपर्नेमा जोड दिए। उनले पार्टीको नीति, विचार र सिद्धान्तमा दृढ रहँदै अनुशासित तथा एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

अध्यक्ष ओलीले गत फागुन २१ गते सम्पन्न निर्वाचनप्रति पनि असन्तुष्टि व्यक्त गरे। उक्त निर्वाचनलाई उनले सामान्य लोकतान्त्रिक अभ्यास नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृंखलाका रूपमा टिप्पणी गरे। एमाले सत्य, न्याय, राष्ट्रिय हित र जनताको पक्षमा निरन्तर उभिँदै आएको दाबी गर्दै ओलीले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले सफलता हासिल गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा एमालेका नवनियुक्त केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका थिए। उनीहरूलाई अध्यक्ष ओलीले शपथ गराएका थिए। पार्टी महासचिव शंकर पोखरेलले सञ्चालन गरेको कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरूको उपस्थिति थियो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर