Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

स्पेनमा दुई रेल ठोक्किँदा ३९ जनाको मृत्यु, दर्जनौँ घाइते

Advertisement800×200-1

म्याड्रिड। स्पेनको टोलेडो प्रान्तमा बुधबार बिहान दुईवटा उच्च गतिको यात्रुवाहक रेल आपसमा ठोक्किँदा कम्तीमा ३९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन् भने क्षतिग्रस्त रेलका डिब्बामा फसेका यात्रुको खोजी तथा उद्धार कार्य जारी छ। स्पेनको राजधानी म्याड्रिडबाट दक्षिणी सहर सेभियातर्फ गइरहेका रेल टोलेडो प्रान्तको लस येबेनेस र उर्दाबीच दुर्घटनामा परेका हुन्। स्थानीय समयअनुसार बुधबार बिहान करिब ८ बजेर ५४ मिनेटमा दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा स्पेनको सरकारी रेल सेवा प्रदायक रेन्फे (Renfe) को एभीई (AVE) उच्च गतिको रेल र निजी कम्पनी इरियो (Iryo) को रेल संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। प्रारम्भिक विवरणअनुसार इरियो कम्पनीको रेल लिकमा रोकिएको अवस्थामा थियो। सोही लिकमा पछाडिबाट आएको रेन्फेको रेल रोकिएको रेलसँग ठोक्किएको बताइएको छ। शक्तिशाली ठक्करका कारण रेलका केही डिब्बा लिकबाट बाहिर निस्किएका छन् भने कम्तीमा दुईवटा डिब्बा रेलमार्गको किनारबाट तल खसेका छन्।

दुर्घटनापछि सार्वजनिक भएका भिडियो तथा तस्बिरमा रेलका डिब्बाहरू क्षतिग्रस्त भएको, यात्रुहरू जमिनमा लडिरहेको र उद्धारकर्मीले घाइतेलाई उपचारका लागि लैजाँदै गरेको देखिन्छ। घटनास्थलमा ठूलो संख्यामा एम्बुलेन्स, दमकल, प्रहरी तथा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एलबीसीका अनुसार दुर्घटनामा परेको इरियो रेलमा १४७ र रेन्फेको रेलमा २९७ यात्रु सवार थिए। यद्यपि दुवै रेलमा रहेका यात्रुको कुल संख्याबारे विभिन्न सञ्चारमाध्यमले फरक विवरण सार्वजनिक गरेका छन्।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ। स्पेनको रेडियो नेटवर्क कादेना सेरले सरकारी स्रोतलाई उद्धृत गर्दै इरियो रेल रोकिएको स्थानमा रातो संकेत रहेको र त्यसका बाबजुद अर्को रेललाई अगाडि बढ्न अनुमति दिइएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। यस घटनाले रेलको संकेत प्रणाली, सञ्चालन नियन्त्रण तथा स्वचालित सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। दुर्घटनापछि स्पेनका सुरक्षा निकायले व्यापक उद्धार अभियान सञ्चालन गरेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर