

झापामा हवाई फायर गरी ब्राउन सुगरसहित दुई जना पक्राउ


झापा – झापा गाउँपालिका–१ सालमारामा प्रहरीले हवाई फायर गरी दुई लागूऔषध तस्करलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सालमारा निवासी ३० वर्षीय सलमान मिया र ३६ वर्षीय नसिम अक्तर मिया छन्।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १२:३० बजे विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतको कुत्तुवाभिट्टाबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा सलमानले लगाएको कुर्ताको दाहिने खल्तीमा रहेको साबुनको रातो बट्टाभित्र ब्राउन सुगर फेला परेको थियो। बरामद पदार्थ प्लास्टिकसहित १६६ ग्राम ३४० मिलिग्राम र प्लास्टिकबाहेक १५० ग्राम १४० मिलिग्राम छ।
प्रहरीले उनीहरू सवार मे ७ प ३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल, बीआर ३७ एए ५३८० नम्बरको होन्डा साइन मोटरसाइकल र दुई थान मोबाइल सेट पनि बरामद गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ।
पक्राउ परेका दुवैलाई बरामद सामग्रीसहित अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको छ। आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लैजाने तयारी भइरहेको छ।

सम्बन्धित खबर









