
विराटनगरबाट २० लाख मूल्यको भारतीय स्कार्पियो बरामद
विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट करिब २० लाख रुपैयाँ मूल्य पर्ने भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी बेवारिसे अवस्थामा बरामद गरेको छ ।
विराटनगर महानगरपालिका–४ स्थित नहरचोकमा सोमबार सडक किनारबाट प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएको हो । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडी रोक्ने क्रममा चालकले गाडी छाडेर फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी सहायक निरीक्षक (असई) डम्बर गिरीको कमान्डमा खटिएको टोलीले गाडी नियन्त्रणमा लिएको हो । महिन्द्रा कम्पनीको सेतो रङको बीआर ११ पीए ४२५४ नम्बरको स्कार्पियोको आवश्यक कागजात फेला नपरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गाडी भन्सार छली गरी नेपाल भित्र्याइएको वा चोरी पैठारी गरेर ल्याइएको हुन सक्ने आशंका गरिएको छ । आवश्यक कागजात नभेटिएपछि थप अनुसन्धान तथा कारबाहीका लागि गाडी विराटनगर भन्सार कार्यालयमा पठाइएको उनले बताए ।
प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
