

काठमाडौँ : नेपाल प्रिमियर लिगले खेलकुदसँगै होटल तथा पर्यटन व्यवसायमा पनि चहलपहल बढाएको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताएका छन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शाहले प्रतियोगितामा सहभागी स्वदेशी तथा विदेशी खेलाडी, प्रशिक्षक र समर्थकको बसाइले होटल, खानपान तथा यातायात क्षेत्रमा प्रत्यक्ष लाभ पुगेको बताए।
आठवटै फ्रेन्चाइज टोली ठूला होटलसँग आबद्ध रहेको र खेलाडी तथा प्रशिक्षकले लामो समय सेवा लिने भएकाले आतिथ्य उद्योगमा सकारात्मक प्रभाव परेको उनको भनाइ छ। विभिन्न जिल्लाबाट आफ्नो टोलीको खेल हेर्न आउने समर्थकले पनि आर्थिक गतिविधि बढाएको उनले बताए।
शाहले एनपीएललाई पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा योजनाबद्ध ढङ्गले विकास गर्नुपर्नेमा जोड दिए। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाजस्ता क्रिकेटप्रेमी दर्शक भएका मुलुकबाट पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ थियो।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नतिसँगै थप अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सम्भावना बढेको उनले बताए। विदेशी टोलीको सहभागिता र प्रतियोगिताको अन्तर्राष्ट्रिय प्रसारणलाई नेपालको पर्यटन प्रचारसँग जोड्नुपर्ने उनको सुझाव छ।
शाहका अनुसार नेपाली होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता बनाए पनि आगमन करिब ११ देखि १२ लाखको हाराहारीमा छ। पर्यटन क्षेत्रको लगानीअनुसार लाभ लिन अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार आवश्यक रहेको उनले बताए।
विपद्का कारण कुनै क्षेत्रमा समस्या देखिँदा समग्र नेपाल असुरक्षित रहेको सन्देश जान नदिन पनि उनले आग्रह गरे। पर्यटन गन्तव्यको अवस्था, सुरक्षा र उपलब्ध सेवाबारे स्पष्ट सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ थियो।

सम्बन्धित खबर











