

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दै छन्। कीर्तिपुरस्थित टीयू मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा सुदूरपश्चिम सिजनको पहिलो जितको खोजीमा छ भने पोखरा आफ्नो पहिलो खेलमै जित निकाल्ने प्रयासमा छ।
सुदूरपश्चिम उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। उक्त खेलमा टोली ८७ रनमै सीमित भएको थियो। त्यसैले पोखराविरुद्ध ब्याटिङमा सुधार गर्नु टोलीको प्राथमिकता हुनेछ। प्रशिक्षक मिसबाह उल हकले पहिलो खेलमा ब्याटिङ राम्रो हुन नसकेको र आगामी खेलमा त्यो कमजोरी सुधार्नुपर्ने बताएका थिए। दुईपटकको फाइनलिस्ट सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्डर प्रदर्शनमा टोलीले अपेक्षा राखेको छ।
अघिल्ला दुई संस्करणमा प्लेअफ पुग्न नसकेको पोखरा यसपटक सुरुवातदेखि नै दाबेदारका रूपमा प्रस्तुत हुने प्रयासमा छ। कुशल भुर्तेलको कप्तानीमा रहेको टोलीले यस सिजन विदेशी खेलाडीमा ठूलो भरोसा राखेको छ। बंगलादेशका शाकिब अल हसनसहित केही अनुभवी विदेशी खेलाडी पोखराको टोलीमा छन्।
आमने–सामनेको रेकर्डमा भने सुदूरपश्चिम अघि छ। एनपीएलका अघिल्ला दुई सिजनमा भएका दुवै भेटमा सुदूरपश्चिमले पोखरालाई हराएको थियो। पहिलो सिजन ५ रनले र दोस्रो सिजन १८ रनले जित निकालेको थियो। यसपटक भने पोखरा आफूलाई बलियो टोलीका रूपमा देखाउन सुदूरपश्चिमलाई हराउने लक्ष्यका साथ मैदान उत्रिने छ।

सम्बन्धित खबर











