
मुगुमा डीपीआरको नाममा सरकारी रकम हिनामिना, पूर्वप्रमुख रिमालसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित तीनजना र परामर्शदाता एलाइड इन्जिनियरिङ प्रा.लि.विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
३९ लाख ४० हजार ३०९ रुपैयाँबराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएकाहरूमा रिमालबाहेक कार्यालयका तत्कालीन लेखापाल रुनबहादुर सेजुवाल, काठमाडौंको नयाँ बानेश्वरमा कार्यालय रहेको परामर्शदाता कम्पनी एलाइड इन्जिनियरिङ प्रा.लि. र कम्पनीका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढा छन्। अख्तियारले प्रत्येकसँग ३९ लाख ४० हजार ३०९ रुपैयाँ बिगो मागदाबी गरेको छ।
मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले कमिसन खाई डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७ मा कार्यालयले खानेपानी योजनाहरूको डीपीआर निर्माणका लागि परामर्श सेवा खरिद गर्दा प्रचलित खरिद कानुनविपरीत प्याकेजिङ गरेको पाइएको अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
अख्तियारका अनुसार उनीहरूले फर्जी कागजात तयार गरी मूल्यांकन प्रतिवेदन बनाएका थिए। त्यसकै आधारमा झुट्टा बिल भरपाई तयार गरी ३९ लाख ४० हजार ३०९ रुपैयाँ सरकारी सम्पत्ति हिनामिना गरिएको आरोप छ।
