प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी तीव्र, मोदीले मिश्रीमार्फत पठाए शुभकामना सन्देश
काठमाडौँ, कात्तिक २० — प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई सफल र फलदायी बनाउन उच्च प्राथमिकताका साथ तयारी भइरहेको भारत सरकारले जनाएको छ। नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शाहसँग भेट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश सुनाएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मिश्रीले भ्रमणलाई अर्थपूर्ण बनाउन भारत सरकारका तर्फबाट आवश्यक गृहकार्य भइरहेको जानकारी दिए।
भेटमा प्रधानमन्त्री शाहले भदौ १० को भोटेकोशी–त्रिशूली हिमबाढीपछि भारतले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे। विपद्का बेला भारतले राहत सामग्री र उद्धार टोली पठाएको तथा प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत ऐक्यबद्धता जनाएको उनले स्मरण गरे। विदेश सचिव मिश्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी प्रधानमन्त्री शाहलाई दिएका छन्। उक्त मार्गमा बिहीबार परीक्षण सञ्चालनसमेत भएको जानकारी उनले गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणको तयारीसँगै दुई देशका साझा चासो, भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजना, लगानी र द्विपक्षीय सहकार्यको प्रगतिबारे जानकारी लिएका थिए। मिश्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी द्विपक्षीय संयन्त्रका नियमित बैठक सम्पन्न भएको बताए। भेटमा आगामी भ्रमणका क्रममा अघि बढाउन सकिने सम्भावित योजना तथा सहकार्यका विषयमा पनि छलफल भएको जनाइएको छ।
काठमाडौँस्थित भारतीय दूतावासका अनुसार भेटवार्तामा द्विपक्षीय पहलहरूको कार्यान्वयन र प्रधानमन्त्री शाहको आगामी भ्रमणका सन्दर्भमा विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने सम्भावनाबारे कुराकानी भएको थियो। प्रधानमन्त्री शाह मङ्सिर दोस्रो साता औपचारिक भ्रमणमा भारत जाने तयारीमा छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार भ्रमणको औपचारिक मिति छिट्टै घोषणा हुनेछ। मोदीको निमन्त्रणामा हुन लागेको यो नयाँ सरकार गठनपछिको प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमण हुनेछ। यसअघि उनी संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका गएका थिए। यसैबीच, विदेश सचिव मिश्रीले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेट गरेका छन्। लामिछानेको सचिवालयका अनुसार भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धबारे छलफल भएको थियो। मिश्रीले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलगायतसँग भेट गरेका थिए। उनी बिहीबारै स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।















