

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारत र बंगलादेशतर्फ करिब ३० अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले निर्यात आम्दानी गत वर्षभन्दा बढ्ने अपेक्षा व्यक्त गरे। पछिल्ला तीन–चार महिनामा मासिक करिब पाँच अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको र विस्तृत हिसाब तयार भइरहेको उनले बताए।
भोटेकोशी–त्रिशूली बाढीबाट निर्यातका लागि स्वीकृत आयोजनामा क्षति पुगेपछि रोकिएको बंगलादेशतर्फको आपूर्ति पुनः सुरु भएको श्रेष्ठले जानकारी दिए। प्रभावित आयोजनाको विकल्पमा अन्य आयोजनाको विद्युत् निर्यात गर्न स्वीकृति प्राप्त भएपछि आपूर्ति सञ्चालन गरिएको हो। नेपालले आन्तरिक माग पूरा गरेर बाँकी रहेको वर्षायामको विद्युत् भारतको द्विपक्षीय सम्झौता र प्रतिस्पर्धी ऊर्जा बजारमार्फत बिक्री गर्दै आएको छ।
बंगलादेशसँगको पाँचवर्षीय सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् निर्यात गर्ने व्यवस्था छ। वैकल्पिक आयोजनाबाट निर्यात निरन्तर हुनु अतिरिक्त विद्युत्को बजार व्यवस्थापनका लागि महत्त्वपूर्ण रहेको प्राधिकरणले जनाएको छ।

सम्बन्धित खबर











