

उपत्यकामा तीन महिनामा १ हजार १६२ फरार कसुरदार पक्राउ, झन्डै १६ करोड जरिवाना असुल


काठमाडौँ — काठमाडौँ उपत्यकामा प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत तीन महिनामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक हजार १६२ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार पक्राउ परेकाहरूबाट ३०२ वर्ष चार महिना १८ दिन कैद सजाय कार्यान्वयन गर्नुका साथै १५ करोड ७८ लाख ९८ हजार ७०७ रुपैयाँ जरिवाना असुल गरिएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अर्थात् साउनदेखि असोजसम्म अपराध नियन्त्रण, शान्ति सुरक्षा र अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकता दिएर प्रहरी परिचालन गरिएको बताए। सोही अवधिमा विभिन्न कारागार तथा हिरासतबाट फरार भएका थप ६७ जना पनि पक्राउ परेका छन्।
उपत्यकामा प्रहरीको उपस्थिति बढाउन तीन महिनामा २३ हजार २४३ पटक मोबाइल गस्ती, २० हजार ८८७ पटक पैदल गस्ती र ११ हजार ३४९ पटक मोटरसाइकल गस्ती गरिएको छ। नियमित तथा आकस्मिक चेकजाँच भने छ हजार १७ पटक गरिएको प्रहरीले जनाएको छ। लागुऔषध कारोबार नियन्त्रणका क्रममा प्रहरीले तीन महिनामा ४४४ वटा मुद्दा दर्ता गरी ३७८ जनालाई पक्राउ गरेको छ। उनीहरूबाट ७२ किलो ८६ ग्राम २२८ मिलिग्राम गाँजा, १३ किलो ३९८ ग्राम पोलेन र ७६७ ग्राम ९५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। ट्रमाडोललगायतका दुई लाख ९५ हजार ६७६ एम्पुल तथा चक्कीसमेत बरामद भएको प्रहरीले जनाएको छ।
आर्थिक अपराधतर्फ हुण्डी कारोबारमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी चार वटा मुद्दा दर्ता गरिएको छ। ती मुद्दामा एक करोड ६० लाख ८४ हजार १८० रुपैयाँ बिगो मागदाबी गरिएको थपलियाले जानकारी दिए। भन्सार छली तथा अवैध सुनचाँदी कारोबारमा संलग्न भएको आरोपमा २७ जना पक्राउ परेका छन्। उक्त कारबाहीका क्रममा २३ किलो ८८८ ग्राम सुनजस्तो देखिने पहेँलो धातु बरामद गरिएको प्रहरीले जनाएको छ। जुवातास नियन्त्रणतर्फ १४ वटा मुद्दा दर्ता गरी ११९ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट ४१ लाख ४३ हजार ५७५ रुपैयाँ बरामद भएको छ।

सम्बन्धित खबर









