

काठमाडौं, कात्तिक २० । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा उनले प्रमाणपत्र पेस गरेका हुन्। ओहोदाको प्रमाणपत्र पेस गरेसँगै दलेलाले नेपालका लागि भारतीय राजदूतका रूपमा औपचारिक कूटनीतिक जिम्मेवारी सम्हालेका छन्। राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो।
दलेला कार्यभार सम्हाल्न गत मंगलबार काठमाडौं आइपुगेका थिए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। उनले निवर्तमान राजदूत नवीन श्रीवास्तवको स्थानमा जिम्मेवारी सम्हालेका हुन्। सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेला नेपाल मामिलामा काम गरिसकेका अनुभवी कूटनीतिज्ञ हुन्।
उनले भारतीय विदेश मन्त्रालयको उत्तरी महाशाखामा सन् २००६ देखि २००७ सम्म निर्देशक तथा सन् २०१६ देखि २०१९ सम्म सहसचिवका रूपमा नेपाल र भुटानसँग सम्बन्धित विषय हेरेका थिए। नेपालका लागि राजदूत नियुक्त हुनुअघि उनी भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध हेर्ने सचिव थिए। उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।
भारतीय प्रधानमन्त्रीको कार्यालयमा समेत काम गरेका दलेलासँग अमेरिकालगायत विभिन्न मुलुकमा कूटनीतिक जिम्मेवारी सम्हालेको अनुभव छ। नेपालमा रहँदा दलेलाले भारत सरकारको प्रतिनिधित्व गर्दै दुई देशबीचको कूटनीतिक संवाद, द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विषयमा समन्वय गर्नेछन्। ओहोदाको प्रमाणपत्र राजदूतलाई आफ्नो देशले आधिकारिक प्रतिनिधिका रूपमा नियुक्त गरेको पुष्टि गर्ने औपचारिक कूटनीतिक दस्तावेज हो। शुक्रबार नै राष्ट्रपति पौडेलसमक्ष लाओसका गैरआवासीय राजदूत विथाया जायभोङ र पानामाका गैरआवासीय राजदूत अलोन्सो मिगुएलले पनि छुट्टाछुट्टै विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो।

सम्बन्धित खबर











