
दसैँ खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकको उजुरी, २४० कर्मचारीलाई ४२ लाख भुक्तानी
काठमाडौं, १२ कात्तिक । दसैँमा कानुनअनुसार पाउनुपर्ने चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन्। रोजगारदाता तथा प्रतिष्ठानहरूले श्रम ऐनको व्यवस्था कार्यान्वयन नगरेको भन्दै श्रमिकहरूले विभागको इमेल र अनलाइन पोर्टलमार्फत गुनासो गरेका हुन्। विभागका महानिर्देशक चक्रपाणी पाण्डेका अनुसार दसैँ बिदाअघि कार्यालय समयभित्रै ६ सयभन्दा बढी उजुरी प्राप्त भएका थिए। त्यसपछि पनि थप उजुरी आउने क्रम जारी छ। श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले वर्षमा एकपटक आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्छ। एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई भने काम गरेको अवधिको अनुपातमा रकम उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ। तर कतिपय निजी प्रतिष्ठान, अस्पताल र विद्यालयले कानुनले तोकेको सुविधा नदिएको भन्दै विभागमा उजुरी परेका छन्।
महानिर्देशक पाण्डेले उजुरीपछि सम्बन्धित रोजगारदातालाई चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिए। विभागले दसैँअघि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई पत्राचार गरी कानुनी व्यवस्था कार्यान्वयन गराउन आग्रह गरेको थियो। त्यस्तै, निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई चाडपर्व खर्च उपलब्ध गराउन प्याब्सन र एनप्याब्सनलाई समेत पत्राचार गरिएको थियो। उजुरीपछि २४० कर्मचारीले पाए साढे ४२ लाख चाडपर्व खर्चसम्बन्धी उजुरीपछि रुपन्देहीस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका २४० कर्मचारीलाई कुल ४२ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरिएको विवरण प्राप्त भएको विभागले जनाएको छ। श्रम तथा रोजगार कार्यालय बुटवलले अस्पताललाई कानुनअनुसार रकम उपलब्ध गराउन पत्राचार गरेको थियो। त्यसपछि अस्पतालले कर्मचारीलाई रकम भुक्तानी गरिएको बैंकिङ विवरणसहित जवाफ पठाएको महानिर्देशक पाण्डेले बताए। विभागका अनुसार चाडपर्व खर्च नपाएको विषयमा मात्रै नभई न्यूनतम पारिश्रमिक र नियमित तलब भुक्तानी नभएको गुनासोसमेत आउने गरेको छ। पाण्डेले श्रम ऐनले सुनिश्चित गरेका सुविधा उपलब्ध गराउनु रोजगारदाताको कानुनी दायित्व भएको उल्लेख गर्दै उजुरीमाथि आवश्यक कारबाही अघि बढाइने बताए।
