बालेनको भारत भ्रमणको तयारीमा काठमाडौंमा मिस्री र परराष्ट्रमन्त्री खनालको भेट
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन् । नेपाली समकक्षी अमृतबहादुर राईको निमन्त्रणामा आएका मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने र पुरानो मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ ।
मिस्रीको भ्रमणलाई प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीसँग समेत जोडेर हेरिएको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शाहलाई भारत भ्रमणको निमन्त्रणा दिने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहको भ्रमण यही महिनाको अन्त्यतिर हुने अपेक्षा भए पनि दुवै सरकारले मिति औपचारिक रूपमा घोषणा गरेका छैनन् ।
पदभार सम्हालेपछि भारतमा हुने यो पहिलो द्विपक्षीय भ्रमण हुनेछ । मिस्री र परराष्ट्र सचिव राईबीच बुधबार कार्यभोजसहित प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ । वार्तामा द्विपक्षीय सम्बन्धका विभिन्न पक्ष, नेपालले प्रस्ताव गरेको आर्थिक सहायता प्याकेज, भारतीय सहयोगमा सञ्चालित परियोजनाको समीक्षा र सहकार्यका नयाँ क्षेत्रबारे छलफल हुने बताइएको छ ।
भ्रमणका क्रममा मिस्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार बिहीबार प्रधानमन्त्री शाहसँग भेट गरेपछि उनी नयाँदिल्ली फर्कनेछन् । भारतको विदेश मन्त्रालयले मिस्रीको भ्रमणमा द्विपक्षीय, क्षेत्रीय तथा साझा चासोका अन्तर्राष्ट्रिय विषयमा छलफल हुने जनाएको छ । नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरताका रूपमा हुने यो भ्रमणले समग्र साझेदारी थप सुदृढ गर्ने मन्त्रालयको भनाइ छ ।













