Skip to main content
Advertisement1200×100-inside-1

दसैँमा कोशीमा ४१३ सवारी दुर्घटना, २२ जनाको मृत्यु

विराटनगर  । कोशी प्रदेशमा दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म ४१३ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ भने ७४६ जना घाइते भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार दसैँ अवधिमा सबैभन्दा धेरै सवारी दुर्घटना मोरङमा भए पनि मानवीय क्षति सुनसरीमा बढी भएको छ।
दुर्घटनामा मृत्यु हुनेमा १७ पुरुष र पाँच महिला छन्। मृतकमध्ये एक जना सवारी चालक र दुई जना बालिका रहेका छन्। घाइतेमध्ये ३६ जनाको अवस्था गम्भीर र ७१० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा ७१ जना सवारी चालक छन्। ती सबै चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा तीनवटा चौपायासमेत मरेका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक विकास थपलियाका अनुसार दसैँ अवधिमा मोरङमा सबैभन्दा धेरै १७० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने २९१ जना घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ।
मानवीय क्षतिका हिसाबले सुनसरी सबैभन्दा प्रभावित जिल्ला बनेको छ। सुनसरीमा ८७ वटा दुर्घटना हुँदा आठ पुरुष र दुई महिलासहित १० जनाको मृत्यु भएको प्रहरी निरीक्षक थपलियाले बताए। त्यहाँ दुर्घटनामा परी १५६ जना घाइते भएका छन्। घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर छ।
त्यस्तै, झापामा ८४ वटा दुर्घटना हुँदा दुई पुरुष र दुई महिलासहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा १३९ जना घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर छ। उदयपुरमा भएका ३३ वटा दुर्घटनामा तीन पुरुष र एक महिलासहित चार जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सुनसरी, मोरङ, झापा र उदयपुरमा भएका दुर्घटनामा मात्रै मानवीय मृत्यु भएको हो। अन्य जिल्लामा भएका दुर्घटनामा मानवीय क्षति नभए पनि मानिसहरू घाइते भएका छन्।
इलाममा १० वटा दुर्घटनामा २० जना, पाँचथरमा सात दुर्घटनामा १२ जना, खोटाङमा सात दुर्घटनामा नौ जना, ओखलढुंगामा पाँच दुर्घटनामा सात जना, संखुवासभामा चार दुर्घटनामा छ जना र ताप्लेजुङमा तीन दुर्घटनामा छ जना घाइते भएका छन्।
त्यस्तै, धनकुटा, भोजपुर र सोलुखुम्बुमा एक–एक वटा दुर्घटना हुँदा कुल १० जना घाइते भएका छन्। तेह्रथुममा भने दसैँ अवधिमा कुनै पनि सवारी दुर्घटना नभएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए।
दसैँ अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ४५७ वटा सवारीसाधन कारबाहीमा परेका छन्। ती सवारीसाधनलाई कारबाही गर्दा २५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको थपलियाले बताए।

सप्तकोशी जेटबोट दुर्घटना छानबिन गर्न समिति

विराटनगर । सप्तकोशी नदीमा भएको जेटबोट दुर्घटनाको छानबिन गर्न कोशी प्रदेश सरकारले समिति गठन गरेको छ। प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा गठित समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले दुर्घटनाको कारण, घटनाक्रम र जिम्मेवारीबारे अध्ययन तथा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो। गत कात्तिक ८ गते धनकुटा, भोजपुर र उदयपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने तीन जना बेपत्ता भएका थिए। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन समितिलाई जिम्मेवारी दिइएको जानकारी दिए। बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार प्रभावकारी बनाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ। यसैगरी, बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने र पर्यटक सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

विपद्प्रभावित प्रत्येक वडामा कति राहत पुग्यो ? सरकारसँग विस्तृत विवरण माग्दै संसदीय समिति

काठमाडौँ : राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद्प्रभावित प्रत्येक वडामा पुगेको राहत र क्षतिको विस्तृत विवरण सरकारसँग माग्ने भएको छ।

मंगलबार बसेको बैठकमा समिति सभापति कृष्णप्रसाद पौडेलले समग्रमा वितरण गरिएको राहतको रकम मात्र पर्याप्त नहुने बताए। प्रभावित पालिका र वडामा कति नगद, खाद्यान्न तथा अन्य सहायता पुग्यो भन्ने स्पष्ट विवरण आवश्यक रहेको उनको भनाइ थियो।

प्रभावित करिब ४९ वडाबारे आफूले जानकारी पाएको उल्लेख गर्दै पौडेलले वडागत तथ्याङ्क व्यवस्थित रूपमा उपलब्ध गराउन सम्बन्धित मन्त्रालयसँग समन्वय गर्न सचिवालयलाई आग्रह गरे।

समितिले क्षतिको वैज्ञानिक अभिलेखीकरणलाई प्राथमिकता दिने जनाएको छ। वडा अध्यक्ष र प्राविधिकको हस्ताक्षरसहित तयार गरिने विवरणमा मृतक तथा बेपत्ताको सङ्ख्या, प्रभावित बालबालिकाको अवस्था, पशुपन्छी र खेतीपातीको क्षतिसँगै परिवारको सामाजिक तथा आर्थिक अवस्था समेट्ने योजना छ।

रोजगारी, उद्योग–व्यवसाय र विद्यालय सञ्चालनको अवस्थासमेत अभिलेखमा राख्नुपर्ने पौडेलले बताए। सरकारी विवरण र स्थानीय नागरिकबाट प्राप्त जानकारीबीच फरक देखिए सम्बन्धित निकायलाई बोलाएर जवाफ मागिने उनको भनाइ थियो।

प्रस्तावित कार्ययोजनाअनुसार समितिले कात्तिक १७ देखि २१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका विपद्प्रभावित क्षेत्र अनुगमन गर्ने तयारी गरेको छ। धादिङको गल्छी, नुवाकोटको विदुर र रसुवाको धुन्चेमा सरोकारवालासँग छलफल गर्ने प्रस्ताव छ।

बैठकमा सांसदहरूले गोरखा तथा बूढीगण्डकी करिडोरका प्रभावित क्षेत्रलाई पनि अनुगमनमा समेट्नुपर्ने बताएका थिए। अनुगमनमा मानसिक स्वास्थ्य, रोजगारी र कृषिलगायतका विषयका विज्ञ तथा सम्बन्धित सरकारी प्रतिनिधिलाई सहभागी गराउनुपर्ने उनीहरूको सुझाव थियो।

 स्थापना दिवसमा तरुण दलको सामाजिक अभियान, एक महिनाभित्र युवा लक्षित ६ कार्यक्रम ल्याउने

काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ७४औँ स्थापना दिवसका अवसरमा विभिन्न जिल्लामा सामाजिक तथा रचनात्मक कार्यक्रम आयोजना गरेको छ।

मंगलबार काठमाडौँको संकटा मन्दिर परिसरमा सरसफाइ अभियानको नेतृत्व गर्दै अध्यक्ष मनिष कोइरालाले तरुण दललाई युवाको आवाज र जनतासँग जोडिएको संस्थाका रूपमा अघि बढाउने बताए।

कोइरालाका अनुसार स्थापना दिवसमा करिब ३० देखि ३५ जिल्लामा रक्तदान, अस्पतालमा फलफूल वितरण, फुटबल प्रतियोगिता र धार्मिकस्थल सरसफाइजस्ता कार्यक्रम सञ्चालन गरिएका छन्। बाँके, वीरगञ्ज र धादिङलगायतका क्षेत्रमा पनि सरसफाइ अभियान सञ्चालन भइरहेको उनले जानकारी दिए।

तरुण दलप्रति समाजमा रहेको बुझाइ बदल्दै सामाजिक रूपान्तरण र युवाको सशक्तीकरणमा केन्द्रित हुने उनको भनाइ थियो।

प्रविधिको विकाससँगै युवालाई कृत्रिम बौद्धिकतासम्बन्धी क्षेत्रमा जोड्ने योजना रहेको पनि कोइरालाले बताए। आगामी एक महिनाभित्र युवा लक्षित छवटा नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

सरकारको मूल्याङ्कन सामाजिक सञ्जालबाट होइन, परिणामबाट हुनुपर्छ : आर्यन राई

काठमाडौँ : श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार परिणाममुखी कामभन्दा प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन्।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा राईले सरकारको उपलब्धि मापन गर्ने आधार सामाजिक सञ्जालको चर्चा र अल्गोरिदम हुन नसक्ने बताए। नागरिकले अनुभूति गर्ने काम र वास्तविक परिणामबाट सरकारको मूल्याङ्कन हुनुपर्ने उनको भनाइ थियो।

राईले प्रधानमन्त्री बालेन्द्र साह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अभिव्यक्तिप्रति असहमति जनाउँदै संसद्मा प्रश्न उठाउने बताए। विशेषगरी सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने उनको माग थियो।

नेपालले पञ्चशीलको सिद्धान्तअनुसार सबै मुलुकसँग सन्तुलित र सुमधुर सम्बन्ध राख्नुपर्नेमा उनले जोड दिए। तर मैत्रीपूर्ण सम्बन्धका नाममा राष्ट्रिय सार्वभौमिकतामा सम्झौता गर्न नहुने उनको भनाइ थियो।

राष्ट्रियता र सीमाका विषयमा सत्ता तथा प्रतिपक्षभन्दा माथि उठेर साझा धारणा बनाउनुपर्ने उनले बताए। देशको सार्वभौमिकताको पक्षमा उभिनु कुनै अर्को राष्ट्रको विरोध गर्नु नभएको उनको भनाइ थियो।

फरक मत राख्ने व्यक्तिमाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने प्रवृत्तिप्रति पनि उनले चिन्ता व्यक्त गरे। दलप्रतिको अन्धसमर्थनभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिन उनले युवालाई आग्रह गरे।

हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’, उल्टो खटमा देवताको नगर परिक्रमा

काठमाडौँ : काठमाडौँको हाँडीगाउँमा ‘कहीँ नभएको जात्रा’का रूपमा परिचित चोक्टे नारायणको जात्रा मनाइएको छ। उल्टो खटमा देवता राखेर नगर परिक्रमा गराइने यो जात्रा स्थानीय मौलिक संस्कृति र धार्मिक परम्पराको विशिष्ट उदाहरण मानिन्छ।

अन्य जात्रामा खटको गजुर माथि र देवताको मूर्ति तल राख्ने चलन भए पनि यस जात्रामा गजुर तल र मूर्ति माथि राखिन्छ। ब्रह्मा, विष्णु र महेश्वरसँग सम्बन्धित तीनवटा खट हाँडीगाउँका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ।

भक्तजनले खट बोकेर नगर परिक्रमा गराउनुका साथै विशेष शैलीमा घुमाउने गर्छन्। यही अनौठो शैली र धार्मिक विधिले जात्रालाई अन्य जात्राभन्दा फरक बनाएको छ।

जात्राको उत्पत्तिबारे विभिन्न जनश्रुति प्रचलित छन्। नारायण भगवान्लाई प्रसन्न पार्न संसारमै नभएको शैलीमा जात्रा गर्ने भाकलपछि यो परम्परा सुरु भएको किंवदन्ती चर्चित छ। यसैसँग जोडेर ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान प्रचलनमा आएको विश्वास गरिन्छ।

काठमाडौँ उपत्यकाको प्राचीन बस्ती हाँडीगाउँमा मनाइने यो जात्राले स्थानीय नेवार समुदायको सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परालाई जीवन्त राख्दै आएको छ।

स्वतन्त्रताको चाहनाले राजनीतिमा ल्यायो, अवसर नपाएका कार्यकर्ताको योगदान बिर्सनु हुँदैन : पाण्डे

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले नागरिकले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न र विचार व्यक्त गर्न पाउनुपर्छ भन्ने भावनाले आफू राजनीतिमा आएको बताएका छन्।

पोखरामा मंगलबार आयोजित कार्यक्रममा पाण्डेले बाल्यकालमा लोकतान्त्रिक आन्दोलनमा संलग्न नेताहरूले भोगेका कठिनाइ नजिकबाट देखेको स्मरण गरे।

आफू १०–११ वर्षको हुँदा रामचन्द्र पौडेललगायतका नेता राति घरमा आउने गरेको उल्लेख गर्दै उनले ती नेता किन दिउँसो खुलेर हिँड्न सक्दैनथे भन्ने जिज्ञासाले राजनीतिक चेतना जगाएको बताए। पछि त्यसको कारण बुझ्दै जाँदा स्वतन्त्रता र लोकतन्त्रको पक्षमा उभिने प्रेरणा मिलेको उनको भनाइ थियो।

पाण्डेले राजनीतिक आन्दोलनमा नेताहरूले गरेका त्याग र सङ्घर्ष नयाँ पुस्ताले बुझ्नुपर्नेमा जोड दिए। पार्टीका लागि जेलनेल भोगेका र निरन्तर योगदान दिएका कतिपय कार्यकर्ता राजकीय पदमा पुग्न नसकेको भन्दै उनीहरूको योगदान बिर्सन नहुने बताए।

पद र अवसर पाएका व्यक्तिलाई मात्र सम्झनेभन्दा अवसर नपाएका कार्यकर्तालाई पनि सम्मान गर्नुपर्ने उनको भनाइ थियो।

टाढिएका मतदातासँग सम्बन्ध जोड्न मंसिरभर संवाद अभियान चलाउने गगनको प्रस्ताव

पोखरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न मंसिर महिनाभर देशव्यापी संवाद अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका छन्।

पोखरामा मंगलबार आयोजित कार्यक्रममा थापाले विगतमा कांग्रेससँग जोडिएका तर पछिल्लो समय मतदान नगरेका नागरिकका घरमै पुगेर गुनासा सुन्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। मतदातालाई दोष दिनुभन्दा उनीहरू पार्टीबाट टाढिनुको कारण खोज्नुपर्नेमा उनले जोड दिए।

१५औँ महाधिवेशनपछि कांग्रेस नयाँ सोच र सङ्कल्पसहित अघि बढेको उल्लेख गर्दै उनले विगतका कामको चर्चा मात्र गरेर नपुग्ने बताए। वर्तमानका समस्या समाधान गर्ने प्रतिबद्धता र व्यवहारसहित जनतामाझ जानुपर्ने उनको भनाइ थियो।

थापाले पार्टीका संरचनामा चार पुस्ताको उचित प्रतिनिधित्व आवश्यक रहेको पनि बताए। आगामी स्थानीय तह निर्वाचनमा महिला, विभिन्न जातजाति, भाषाभाषी र समुदायलाई पर्याप्त अवसर दिनुपर्ने उनले उल्लेख गरे।

स्थानीय तहका उम्मेदवार छनोटमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यको निर्णायक भूमिका रहने उनले बताए। पोखरा महानगरपालिकाको उम्मेदवार पोखराकै सदस्यले तथा अन्य क्षेत्रका उम्मेदवार सम्बन्धित क्षेत्रकै सदस्यले छान्ने व्यवस्था रहेको उनको भनाइ थियो।

नेताको स्वागतमा तामझाम गर्ने, सवारीसाधनको लामो लस्कर लगाउने र सर्वसाधारणबाट टाढा रहने शैली बदल्न पनि थापाले आग्रह गरे। जनताले सहजै भेट्न र आफ्ना कुरा राख्न सक्ने व्यवहार विकास भएपछि मात्रै पार्टीमा परिवर्तन आएको अनुभूति हुने उनले बताए।

नक्कली भगवान् जन्मिएर हैरान भयो’ भन्दै ओलीको व्यङ्ग्य, योगलाई ईश्वरसँग जोडिएको दाबी

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धार्मिक आस्थाका नाममा फैलिएको अन्धभक्तिप्रति व्यङ्ग्य गर्दै समाजमा ‘नक्कली भगवान्’ बढेको टिप्पणी गरेका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले दक्षिणतिरबाट आउने जोगीलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्तिमाथि प्रश्न उठाए। पौराणिक प्रसङ्ग उल्लेख गर्दै उनले देवता जन्मिने क्रम रोकिए पनि नक्कली भगवान् जन्मिन नरोकिएको व्यङ्ग्य गरे।

ओलीले योगको प्रारम्भिक उद्देश्य स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकास गर्नु रहेको दाबी गरे। पछिल्लो समय योगलाई ईश्वरवादसँग जोडेर व्याख्या गरिएको उनको भनाइ थियो।

अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, सत्य बोल्न, शान्तिको बाटोमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने उनले बताए। यी मान्यता न्यायपूर्ण र मानवीय समाज निर्माणको सोचसँग मेल खाने उनको भनाइ थियो।

कार्यक्रममा ओलीले प्रतिष्ठानलाई नयाँ खोज–अनुसन्धानसँगै रैथाने ज्ञान, सीप र परम्पराको अध्ययनमा ध्यान दिन आग्रह गरे।

स्वदेशी लेखकका तथ्यपूर्ण विचारलाई पनि कम महत्त्व दिने प्रवृत्ति छ : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा स्वदेशी लेखक र चिन्तकका विचारभन्दा विदेशी लेखकका सामग्रीलाई बढी महत्त्व दिने प्रवृत्ति रहेको बताएका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले नेपाली लेखकका तथ्यपूर्ण र तर्कसङ्गत विचारले समेत पर्याप्त स्थान नपाएको टिप्पणी गरे। आफ्नै देशका विद्वान्को योगदान पहिचान गर्न नसक्नु चिन्ताजनक भएको उनको भनाइ थियो।

अध्ययन तथा लेखनमा विदेशी लेखकका विचारलाई सन्दर्भ बनाउने तर नेपाली लेखकका रचनालाई कम उद्धृत गर्ने अभ्यास रहेको उनले बताए। स्वदेशी ज्ञान, दर्शन, साहित्य र बौद्धिक योगदानको अध्ययन तथा प्रवर्द्धन आवश्यक रहेकोमा उनले जोड दिए।

ओलीले नेपाली लेखक तथा चिन्तकहरूसँग छिट्टै छलफल गर्ने योजना रहेको जानकारीसमेत दिए। स्वदेशी लेखकका रचनालाई अध्ययन र सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने संस्कार विकास गर्नुपर्ने उनको भनाइ थियो।

म्याक्स टाइगरको क्यान खोल्दा भाग्य चम्कियो, तिन जनाले जिते बाइक र स्कुटर

 

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन्। वनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफ जेड एफआई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्।

म्याक्स टाइगरको विशेष पुरस्कार भएको क्यान प्राप्त गरेका यी तीन विजेताले दशैंको बेला अप्रत्याशित रूपमा आकर्षक पुरस्कार जित्ने मौका पाएका हुन्। क्यान खोल्दा नै पुरस्कार पाउँदा उनीहरूको चाडपर्वमा विशेष खुशी थपिएको छ।

पुरस्कार जितेको अनुभव सुनाउँदै धादिङको गल्छीका विजेता संजोग रिमालले भने, ‘क्यान खोल्दै गर्दा यति ठूलो सरप्राइज पाउने सोच पनि गरेको थिइनँ। पुरस्कार जितेको थाहा पाएपछि केही क्षण विश्वासै लागेन। यसपालिको दशैं म्याक्स टाइगरले साँच्चिकै विशेष बनाइदियो।’

म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो। यो अभियानअन्तर्गत १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफ जेड एफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कार स्वरूप प्रोटोन कार जित्ने अवसर पाउने छन्।

अभियानको सुरुवाती चरणमै तीन फरक स्थानका उपभोक्ता विजेता बनेपछि चाडपर्वको उत्साह अझै बढेको कम्पनीले जनाएको छ। दशैंको अवसरमा उपभोक्तालाई पेय पदार्थसँगै खुशी, रोमाञ्च र अविस्मरणीय अनुभव दिन उद्देश्यले ल्याइएको यो अभियानले आगामी दिनमा अझ धेरै उपभोक्ताको दशैं विशेष तुल्याउने विश्वाश गरिएको छ।

‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान अझै जारी छ र पुरस्कार जित्ने अवसर बाँकी नै छ। म्याक्स टाइगरको प्रत्येक क्यानसँग जोडिएको सरप्राइजले उपभोक्तामा उत्सुकता जगाएको छ। यस दशैंमा म्याक्स टाइगरको क्यान खोल्दा स्वाद र ऊर्जा मात्र होइन, ‘के थाहा, अर्को पुरस्कार मेरो नाममा पो छ कि’ भन्ने उत्साह पनि थपिएको छ।

एनपीएलमा उत्साह थप्दै एक्सट्रीम: ७ टोलीका लागि ७ विशेष प्रवेशद्वार तयार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को माहोल प्रतियोगिता सुरु हुनुअघि नै उत्सवमय बनाइरहेको छ, जहाँ एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष activation सुरु गरेको छ। सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीको प्रायोजक रहेको एक्सट्रीमले TU अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर बाहिर ७ टोलीलाई समर्पित ७ वटा गेट तयार गरिसकेको छ। एनपीएलका खेलहरू हुने मुख्य स्थल बाहिर समर्थकहरूलाई टोलीको उत्साहसँग जोड्न यी प्रवेशद्वारहरू समर्पित गरिएको हो, जसमा सम्बन्धित टोलीको पहिचान र एक्सट्रीमको ब्रान्डिङ झल्काइएको छ।

एनपीएल सुरु हुनुअघि नै यस स्तरको activation गर्ने पहिलो ब्रान्ड एक्सट्रीम रहेको कम्पनीले जनाएको छ। एक्सट्रीमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सलाई प्रायोजन साझेदारी गरेको छ। यसकै साथमा एक्सट्रीमले पोल ब्यानर, होर्डिङ, गेट ब्रान्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत एनपीएलको उत्साहलाई अझै व्यापक बनाउन योगदान गरिरहेको छ। एनपीएल सिजन ३ कार्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

क्लासिक टेकको दशैं विशेष अफर : ३ महिना तिर्नुहोस्, ७ महिना सेवा लिनुहोस्

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले २०० एमबीपीएस इन्टरनेटको ३ महिनाको शुल्क रु. ५,७००/- मा ७ महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्।

यस अफरमा ग्राहकहरूले ४ महिनाको इन्टरनेट बोनस, वाइफाइ सिक्स राउटर तथा निःशुल्क जडानको सुविधा पाउनेछन्। दशैंको अवसरमा ग्राहकलाई थप बचतसँगै उच्च गतिको भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले यो अफर सार्वजनिक गरिएको क्लासिक टेकले जनाएको छ। अफरसम्बन्धी थप जानकारी तथा सेवा लिनका लागि ग्राहकहरूले sales@classic.com.np, ०१-५९७०१२८ वा ९७०९१८४१४७ मा सम्पर्क गर्न सक्नेछन्। www.classic.com.np मा सर्तहरू लागू हुनेछन्।

काजोलले फिरिरीको दोस्रो हप्ताको लक्की ड्रमा ३० हजारको उपहार जितिन्

काठमाडौं । नेपाली राइड सेयरिङ तथा डिजिटल सेवा प्लेटफर्म फिरिरी एपका प्रयोगकर्तामध्ये काजोल सुन्धौली दोस्रो हप्ताको लक्की ड्र विजेता बनेकी छिन्। उनले फिरिरीमार्फत बाइक सर्भिस लिएपछि लक्की ड्रमा मोबाइल फोन र ब्याग उपहार प्राप्त गरेकी हुन्। विजेता काजोलका अनुसार आफन्तले फिरिरी एपका बारेमा जानकारी दिएपछि उनले एप डाउनलोड गरेकी थिइन्। काजोलले भनिन्, “एक जना दिदीले फिरिरीका बारेमा भनेपछि मैले डाउनलोड गरेकी थिएँ। नेपालीको आफ्नै राइड सेयरिङ एप भएको भन्ने सुनेँ। त्यसपछि यसको सेवा प्रयोग गर्न थालेँ। मलाई यसको सेवा एकदमै राम्रो लाग्यो। महँगो पनि छैन। नेपाली एप भएपछि झन् प्रयोग गर्नैपर्छ भन्ने लाग्यो। अहिले अरू नाम चलेका धेरै कम्पनी विदेशी छन्।”
फिरिरीका प्रबन्ध निर्देशक कुशल खड्काका अनुसार सञ्चालनमा आएको दुई महिनामै करिब १० हजार राइडर्सले फिरिरीमा जोडिएका छन्। उनले भने, “फिरिरी नेपालीले निर्माण गरेको नेपाली डिजिटल प्लेटफर्म भएकाले यसलाई देशभर विस्तार गर्ने योजना रहेको छ।” हाल काठमाडौं उपत्यकामा सेवा दिइरहेको फिरिरीले चाँडै देशका प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने तयारी गरेको खड्काले जानकारी दिए। फिरिरीमा राइड सेयरिङ सेवाका अतिरिक्त फुड डेलिभरी, होटल बुकिङ, मार्केटप्लेस तथा घरजग्गासम्बन्धी सेवा समेत उपलब्ध छन्। एउटै एपमार्फत विभिन्न डिजिटल सेवा लिन सकिने भएकाले फिरिरीलाई बहुउपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास गर्ने कम्पनीको लक्ष्य छ। फिरिरीले आफ्ना विभिन्न सेवा प्रयोग गर्ने उपभोक्तामध्येबाट प्रत्येक साता लक्की ड्रमार्फत एक जना विजेता छनोट गरी उपहार प्रदान गर्दै आएको छ। यसअघि पहिलो हप्ताको लक्की ड्रमा श्रृजना राज्यलक्ष्मी राणा विजेता बनेकी थिइन्। कम्पनीका अनुसार प्रयोगकर्तालाई फिरिरीका सेवा प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै ग्राहकसँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यले साप्ताहिक लक्की ड्र कार्यक्रम सञ्चालन गरिएको हो।