Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

संसद् बैठक बोलाउन कांग्रेस–एमालेको आग्रह, सभामुखले दिए छिटो बोलाउने प्रतिबद्धता

Advertisement800×200-1

काठमाडौं । प्रतिपक्षी दल कांग्रेस र एमालेका नेताहरूले संसद् बैठक तत्काल आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन्। मंगलबार सिंहदरबारमा सभामुखसँग छुट्टाछुट्टै भेट गर्दै उनीहरूले पछिल्ला संवेदनशील घटनाक्रमबारे संसद्मा छलफल आवश्यक रहेको बताएका हुन्।

भेटमा सभामुख अर्यालले छिटो संसद् बोलाउने प्रतिबद्धता जनाएको नेताहरूले जानकारी दिएका छन्।

सभामुखसँगको भेटपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सार्वजनिक भएका गम्भीर विषयलाई लामो समयसम्म अनिर्णीत राख्न नहुने बताए। ती विषयमा संसद्भित्र व्यापक छलफल गरेर निकास खोज्नुपर्ने उनको भनाइ थियो।

आङ्देम्बेले संसद् छलेर अध्यादेशमार्फत विभिन्न क्षेत्रमा हस्तक्षेप गर्ने काम भइरहेको आरोप लगाए। लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र सरकारलाई जवाफदेही बनाउन संसद् बैठक चाँडो बोलाउनुपर्नेमा उनले जोड दिए।

कर्मचारीहरूलाई कार्यस्थलबाट नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालय वा अन्यत्र लैजाने गरिएको आरोपसमेत उनले लगाए। त्यस्ता घटनाले त्रासको वातावरण सिर्जना गरेको दाबी गर्दै उनले यसको समाधान पनि संसदीय छलफलबाट खोजिनुपर्ने बताए।

त्यस्तै, एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसद् बैठक नचलेको अवस्थामा विभिन्न समस्या र विकृति देखिएको भन्दै तत्काल बैठक आह्वान गर्नुपर्ने बताइन्।

सरकार, प्रशासन, न्यायपालिका र राजनीतिक दलभित्र बिचौलियाको प्रभाव बढेको उनको आरोप थियो। त्यस्ता गतिविधिको खोजी र नियन्त्रणका लागि राजनीतिक दलहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन्।

यसअघि सोमबार बसेको विपक्षी दलहरूको बैठकले संसद् बैठक आह्वानको माग गर्दै सभामुखको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार कांग्रेस र एमालेका नेताहरूले मंगलबार सभामुखसँग भेट गरेका हुन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर