
पूँजीवादले भरिएको समाजको पृष्ठभूमिमा दुई दशकपछि कुनै आमा–छोरीको भेट भयो। काठमाडौंको सुदूर सिमानामा छोरीको कोठामा पुरानो दराज छ, जहाँ फाटफुटेका कपडाको भीडमा उसका पर्स रहेका छन्। पर्समा एटीएम कार्ड, विद्यार्थी आईडी, पत्रकार, अधिवक्ता तथा डेन्टल कार्डहरू खचाखच छन्। र एक पोल्टामा छ १०० रुपैयाँ, जसमा कालो रङको मसीले लेखिएको छ “आमा”। छुट्टिने बेलामा आमाले दिएकी थिइन् १०० रुपैयाँ। भिजेका आँखा, चिसो मन र कामेका हातले छोरीले आमाको आशीर्वाद अंकमाल गरेकी थिइन्।
पर्समा आमाले दिएको १०० रुपैयाँ मात्र भए तापनि, उनले धेरै पटक मध्यरातसम्म, किलोमिटरपछि किलोमिटर पैदल हिँडेकी छ। उसलाई पानीको प्यास कहाँ लागेको थियो र! उसलाई चियाको सुवासले कहाँ तानेको थियो र! यसरी नै धेरै पटक खाली हात हिँड्नेछे र बच्नेछ। “नेपाल सरकारको जमानत प्राप्त, यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट पैसा १०० तुरुन्त पाइने” लेखिएको कागजको नोट। पूँजीवादको चमकधमकले भरिएको पृष्ठभूमिमा फेरि कुनै अबोध बाबु–छोराको भेट हुनेछ, र छुट्टिने बेलामा बुवाले दिएको १०० रुपैयाँको आशीर्वाद छोराले लिनेछ, र अनाम रहनेछ पृष्ठभूमिमा—यतै कतै हाम्रो माझ, यतै कतै हाम्रो माझ।






