Skip to main content

शिक्षक र कर्मचारी भर्नामा प्रक्रिया पूरा नगरेकाले रोक लगाइयो

सिरहाको जनता माध्यमिक विद्यालय चन्द्रालपुरले शिक्षक तथा कर्मचारी भर्नाको विज्ञापन नगरपालिकाको अनुमति बिना प्रकाशन गरेको पुष्टि भएपछि भर्ना प्रक्रिया स्थगित गरिएको छ। नगरपालिकाको शिक्षा शाखाले विज्ञापन अघि बढाउन अनुमति वा सहमति लिनुपर्ने प्रावधान उल्लङ्घन भएको भन्दै विद्यालयबाट स्पष्टीकरण मागेको छ। विद्यालयका प्रधानाध्यापक ब्रह्मदेव सिंहले भने आन्तरिक कार्यविधिअनुसार विज्ञापन गरिएको बताएका छन्। ५ वैशाख, सिरहा।

गोलबजार नगरपालिका–८ स्थित जनता माध्यमिक विद्यालय चन्द्रालपुरले ठूलो संख्यामा शिक्षक तथा कर्मचारी भर्ने उद्धेश्यले निकालेको विज्ञापन आवश्यक प्रक्रिया पूरा नगरी प्रकाशित गरेको भन्दै नगरपालिकाको शिक्षा शाखाले थप प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि स्थगित गरिएको थियो। शिक्षक भर्ना सम्बन्धी कामका लागि नगरपालिका तथा शिक्षा विकास तथा समन्वय इकाइसँग अनुमति वा सहमति लिनुपर्ने प्रावधान भएपनि विद्यालयले सो प्रक्रिया पूरा नगरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख अनन्त पौडेलले जानकारी दिएका छन्।

विद्यालयले गत चैत ३० गते एक साताको समयसीमा राखेर १५ जना शिक्षक र कार्यालय सहयोगी तथा बस चालकसहित कुल १७ जना कर्मचारीका लागि विज्ञापन प्रकाशन गरेको थियो। शिक्षा शाखाले स्पष्टीकरण सोध्दा, प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार विद्यालयले शिक्षक भर्ना सम्बन्धी कुनै समन्वय नगरेको पुष्टि भएपछि विज्ञापन स्थगित गरिएको र स्पष्टीकरण मागिएको हो। विद्यालयका प्रधानाध्यापक सिंहले नगरपालिकासँग छलफल गरी अगाडि बढिने बताएका छन्। उनले भने, “हामीले कार्यविधिअनुसार विज्ञापन निकालेका हौं।”