नेपालले आईसीसी महिला च्यालेन्ज ट्रफीको पहिलो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दै

नेपालले आईसीसी महिला च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत पहिलो खेलमा ५ वैशाखमा अमेरिकासँग रुवान्डाको किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा नेपाल, अमेरिका, इटली, रुवान्डा र भानुआतु सहभागी छन् र सबै टिमले डबल राउण्ड रोबिन प्रणालीमा दुईपटक खेल्नेछन्। नेपाल महिला क्रिकेट टोली पहिलो पटक रुवान्डामा खेल्न लागेको हो र टोलीमा इन्दु बर्मा कप्तान छन्।
५ वैशाख, काठमाडौं। आईसीसी महिला च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। खेल रुवान्डाको किगालीमा रहेको गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ पौने ५ बजेबाट सुरु हुनेछ। अप्रिल १८ देखि मे १ सम्म सञ्चालन हुने यो प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटली र भानुआतु सहभागिता जनाएका छन्।
सबै टिमले एकअर्कासँग दुईपटक खेल्ने (डबल राउण्ड रोबिन) प्रावधानअनुसार सबैभन्दा धेरै अंक आर्जन गर्ने टोलीले च्याम्पियन हुने छ। नेपाल महिला टोली पहिलो पटक रुवान्डामा खेल्न लागेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसोसिएट सदस्य देशहरूलाई अवसर दिन यो प्रतियोगिता पहिलोपटक आयोजना गरेको हो। नेपाल वरियतामा सहभागी पाँच टिममध्ये सबैभन्दा माथि (२१औं स्थान) छ।
नेपालले आफ्नो दोस्रो खेल आइतबार ६ वैशाखमा इटलीसँग खेल्नेछ। त्यसपछि तेस्रो खेल बुधबार (९ वैशाख) रुवान्डासँग, चौथो खेल बिहीबार (१० वैशाख) भानुआतुसँग प्रतिस्पर्धा हुनेछ। पाँचौं खेल आगामी शनिबार (१२ वैशाख) अमेरिकासँग हुनेछ। छैटौं खेल १४ वैशाखमा रुवान्डासँग, सातौं खेल १५ वैशाखमा भानुआतुसँग र आठौं खेल १६ वैशाखमा इटलीसँग हुनेछ। नेपालको टोली : इन्दु बर्मा (कप्तान), पूजा महतो, बिन्दु रावल, रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी, मनिषा उपाध्याय।






