
५ वैशाख, हेटौंडा । मकवानपुर जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालयसितको समन्वयमा सेवाग्राहीको निवासमा पुगेर राहदानी (पासपोर्ट) वितरण सुरु गरेको छ। यो सेवा हाल हेटौंडा बजार क्षेत्रमा मात्र सिमित छ। हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्ने कार्य थालिएको जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश लामिछानेले जानकारी दिएका छन्। उनका अनुसार २ वैशाखदेखि ४ गतेसम्म कार्यालयले ७६ वटा पासपोर्ट वितरण गरिसकेको छ। ‘केही सेवाग्राहीले कार्यालयमै आएर पासपोर्ट लिएका छन्, त्यस्तै हामीले घरसम्म पनि वितरण गरेका छौं,’ लामिछानेले भने।
हेटौंडा–१६ हटिया र २ नम्बर वडाका बजार क्षेत्रका दुई हुलाक काउन्टरबाट ६ जनाको टिमले राहदानी वितरणको कार्य गर्दैछ। जिल्ला हुलाक कार्यालयमा ४ जना र काउन्टरमा दुई जना गरी पत्र वितरण कार्यमा खटिएका छन् भनी प्रमुख लामिछानेले बताए। पहिलो चरणमा ५० वटा राहदानी हेटौंडाका विभिन्न वडा (२, ४, ५, ६, १२, १३, १६ र १७) का सेवाग्राहीको घरसम्म पुर्याइएको छ। मकवानपुरका अन्य ९ स्थानीय तहमा भने यो सेवा सुरु गर्न नसकेको पनि उनले उल्लेख गरे।
उपमहानगर क्षेत्रमा सेवा सहज भएसम्म, ग्रामीण क्षेत्रहरूमा भौगोलिक विकटता र सवारी साधनको अभाव मुख्य समस्या बनेको छ। थाहा नगरपालिका, बागमती, बकैया, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोबर, भीमफेदी र मकवानपुरगढी गाउँपालिकामा पनि पालिका तहको हुलाक कार्यालय छ। त्यहाँ खरिदारस्तरका कर्मचारी, हुलाकी तथा हल्कारा गरी चार जनाको टोली कार्यरत छ। प्रमुख लामिछानेका अनुसार, ‘हामीसँग स्रोत साधन कम र जनशक्ति थोरै छ। त्यसैले विकट क्षेत्रका घरसम्म पुग्न कठिनाइ छ। स्रोतसाधन र जनशक्ति व्यवस्थापन भएपछि गाउँ तहसम्म सेवा विस्तार गर्ने क्षमता विकास हुनेछ।’
हुलाकले अझै नागरिकता र सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण सेवा सुरु गर्न सकेको छैन। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार आगामी दिनमा यी सेवाहरूलाई पनि विस्तार गरिनेछ। ‘अहिले हामीले राहदानीबाट सेवा शुरू गरेका छौं। छिट्टै नागरिकता, राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमति पत्र समेत हुलाक मार्फत घरमै पुगाउने योजना बनाइरहेका छौं,’ प्रजिअ अधिकारीले बताए। हाल प्रशासनमा थन्किएका करिब ५०० राहदानीलाई पहिलो प्राथमिकतामा राखेर घरघरमा पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए।






