
५ वैशाख, काठमाडौं । नेकपा एमालेमा विशेष महाधिवेशनको पक्षमा वकालत गरिरहेका युवाहरूले पार्टीभित्र भइरहेको रूपान्तरण प्रयासलाई बेवास्ता गर्न कम्युनिस्ट एकताको बहसलाई सुरु गरिएको टिप्पणी गरेका छन्। केही समयदेखि एमाले विशेष महाधिवेशनका लागि आवाज उठाइरहेका १० जना युवा नेताहरूले शनिबार एक वक्तव्य जारी गर्दै पार्टीमा भइरहेको रूपान्तरण र पुनर्गठन अभियानलाई यस्तो बहसले ओझेल पार्न नदिने बताएका छन्।
“नेतृत्वले गरेका गल्तीहरूलाई ढाकछोप गर्न र मूल एजेन्डाबाट ध्यान हटाउन जुन प्रकारको असमयिक कम्युनिस्ट एकताको बहस चलाइएको छ,” वक्तव्यमा भनिएको छ, “त्यसले पार्टीलाई अझै रक्षात्मक बनाउने स्पष्ट छ। यस्तो प्रयासले पार्टी भित्रका मुख्य समस्या, कार्यशैली तथा संगठनात्मक कमजोरीहरूलाई समाधान गर्न सक्ने छैन।”
फागुन २१ को निर्वाचनमा पार्टीले भोगेको हार केवल प्राविधिक पराजय मात्र नभई पार्टीको नीति, कार्यशैली र नेतृत्वप्रति जनताको गम्भीर अविश्वास र प्रश्नसमेत रहेको उनीहरूले बताएका छन्।
“अहिले आम कार्यकर्ता र युवा पंक्तिले पार्टीको समग्र रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको अपेक्षा गरिरहेका छन्,” वक्तव्यमा भनिएको छ। “हामी कुनै पनि असमयिक र दुराशययुक्त पार्टी एकीकरण प्रयासप्रति असहमति जनाउँदै यस्ता गतिविधिहरूको कडा शब्दमा विरोध गर्दछौं।”
“हामी पार्टी नेतृत्वलाई रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको मागलाई गम्भीरतापूर्वक लिन र केन्द्रीय कमिटीमार्फत यथासिघ्र सम्बोधन गर्न आग्रह गर्दछौं।” पार्टीलाई समयसापेक्ष रूपान्तरण, पुनर्गठन र पुनर्जागरण गर्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता उनीहरूले जनाएका छन्।






