
रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
५ वैशाख, काठमाडौं । ‘वर्षा र सहकार्यका देवता’ मानिने रातो मच्छिन्द्रनाथलाई शनिबार रथारोहण गरिएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन शुभ साइत तोकी मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने परम्परा छ। यस वर्ष उक्त तिथि शनिबार परेको हुनाले रथारोहण सोही अनुरूप सम्पन्न गरिएको हो। मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको तः बहालबाट खटमा राखेर पुल्चोकमा निर्मित रथमा पुर्याएर विराजमान गराएपछि विधिवत रूपमा मच्छिन्द्रनाथको जात्रा सुरु हुने विश्वास छ।
मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तः बहाल र ६ महिना बुङ्मतीमा राखिने प्रथा रहेको छ। सोही अनुसार गत मङ्सिर महिनामा पाटनको तः बहाल मन्दिरमा मूर्ति राखिएको थियो। मच्छिन्द्रनाथको रथ ३२ हात लामो र ४८ फिट अग्लो छ। मूर्तिलाई रथमा राखेर तीन दिनसम्म रथ तानेर पुल्चोकमा स्थापना गरिन्छ। त्यसपछि अर्को दिन पुल्चोकबाट गा: बहालसम्म रथ तानिन्छ।
मच्छिन्द्रनाथको रथ गा: बहालबाट मंगलबजार, त्यसपछि सुन्धारा, लगनखेल हुँदै जावलाखेलसम्म जाने चलन छ। जावलाखेलमा पहिले राजा भोटो देखाएर जात्रा सम्पन्न गर्ने परम्परा रहिआएको थियो, अहिले उक्त कार्यक्रममा राष्ट्रपति पनि सहभागी हुन्छन्। भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा पुनः विराजमान गराइन्छ। उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्लपक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना सम्म चल्ने गर्दछ।