Skip to main content

गोरखाका सामुदायिक विद्यालयहरू भोलि (वैशाख ७) देखि सञ्चालन हुने

गोरखाका सामुदायिक विद्यालयहरूमा वैशाख ७ गतेबाट पठनपाठन सुरु हुने भएको छ। जिल्ला समन्वय समितिको बैठकले संघीय सरकारद्वारा जारी परिपत्र व्यवहारिक नभएको भन्दै कक्षाहरू सञ्चालन गर्ने निर्णय गरेको हो। पालिका प्रमुखहरूले नयाँ शिक्षा ऐन यथाशीघ्र निर्माण गर्न र बजेट रोक्का फुकुवा गर्न माग गरेका छन्।

जिल्लाका सामुदायिक विद्यालयहरूमा भोलि सोमबारदेखि पठनपाठन सुरु हुने तय भएको छ। संघीय सरकारले वैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको थियो तर यो व्यवहारिक नभएको भन्दै भोलि वैशाख ७ गतेबाटै कक्षा सञ्चालन गर्न लागिएको हो। शुक्रबार जिल्ला समन्वय समितिको अगुवाइमा बसेको पालिका प्रमुखहरूको बैठकले शिक्षा मन्त्रालयबाट विद्यालय सञ्चालन र भर्ना सम्बन्धी सार्वजनिक भएका परिपत्रहरूप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै वैशाख ७ गतेबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

संघीय सरकारले जारी गरेको परिपत्र र निर्देशनअनुसार पठनकार्य घण्टा नपुग्ने र शैक्षिक सत्र अस्तव्यस्त हुने भएपछि उक्त अन्यौलता हटाउन नयाँ शिक्षा ऐन यथाशीघ्र निर्माण गर्न उनीहरूले आग्रह गरेका छन्। अभिभावकहरूको मागलाई मध्यनजर गर्दै सोमबारदेखि भर्ना अभियान र पठनपाठन एकैसाथ सञ्चालन गर्न लागिएको उनले जानकारी दिएका छन्। चालु आर्थिक वर्षका लागि जिल्लाका विकास आयोजनाहरूमा संघ सरकारबाट विनियोजित बजेट रोक्का राखिएकोले त्यसको फुकुवा गर्न पनि उनीहरूले माग गरेका छन्।