
व्यवसाय सुरु गर्दा वित्तीय रोडम्याप बनाउनु आवश्यक छ जसले लगानी, खर्च र आम्दानीको स्पष्ट योजना दिन्छ। धेरैजना व्यक्ति कहिल्यै न कहिल्यै आफ्नै व्यवसाय सुरु गर्ने सपना देख्ने गर्छन्। तर, पैसाको अभाव, उचित योजना नहुनु र आवश्यक जानकारीको कमीले धेरैले त्यो सपना पूरा गर्न सक्दैनन्। सुरुवाती लगानी जुटाउनेदेखि त्यसको सदुपयोगको लागि आवश्यक सबै प्रक्रिया चुनौतीपूर्ण छन्। यद्यपि उद्यमी र वित्तीय विशेषज्ञहरूको अनुभवले देखाउँछ कि यो जति गाह्रो देखिए पनि त्यति गाह्रो छैन। केही दूरदर्शिता, तर्कसंगत सोच र राम्रो वित्तीय योजना बनाएर अघि बढ्न सकिन्छ।
वित्तीय रोडम्याप कुनै पनि व्यवसायको आधारशिला हो। यसले व्यवसाय सुरु गर्नेदेखि संचालन, विस्तार र आगामी आवश्यक रकमको स्पष्टता दिन्छ। लगानीकर्ता वा बैंकले पनि पूँजी दिनुअघि यो रोडम्याप हेर्न रुचाउँछन्। सबैभन्दा पहिले आफूलाई सोध्नुपर्छ– मलाई कति पैसा चाहिन्छ? यो कुरा व्यवसाय पूँजीप्रधान हो कि श्रमप्रधान हो वा कति छिटो आम्दानी सुरु गर्न सकिन्छ भन्ने कुरामा निर्भर गर्दछ। निश्चित खर्चजस्तै भाडा, तलब, बिजुली लगायतको र परिवर्तनीय खर्चहरू जस्तै कच्चा पदार्थ र मार्केटिङमा लाग्ने रकमको राम्ररी हिसाब-किताब गर्नु आवश्यक हुन्छ। आपतकालीन अवस्थाको लागि २० देखि ३० प्रतिशत अतिरिक्त बजेट राख्नु उपयुक्त हुन्छ।
कम्तिमा आगामी १२ महिनाको विस्तृत योजना तयार गर्नुपर्छ। कर्मचारी भर्ती, मार्केटिङ, सामाजिक सञ्जाल प्रचारप्रसार, प्रमोशन र सम्भावित आम्दानीको आंकलन गर्नुपर्छ। साना व्यवसायका सफलता को मुख्य आधार भनेको निश्चित खर्चलाई सकेसम्म कम र नियन्त्रणमा राख्नु हो। भविष्यका आम्दानीमा निर्भर हुनु हुँदैन। सदैव हातमा भएको पैसाअनुसार खर्चको योजना बनाउनु पर्छ। अर्को महत्वपूर्ण प्रश्न– मलाई पैसा कहाँबाट आउँछ? सबैभन्दा उत्तम विकल्प आफ्नै बचतबाट सुरु गर्नु हो। तर सबैका लागि त्यो सम्भव नहुन सक्छ। त्यसैले साथीभाइ र परिवारबाट सापटी लिन सकिन्छ। नगद प्रवाह राम्रो भएपछि त्यसलाई फिर्ता गर्न सकिन्छ। एन्जेल इन्भेष्टर अर्थात् व्यक्तिगत लगानीकर्ता वा क्राउडफन्डिङबाट पनि कोष जुटाउन सकिन्छ। नेपालमा बैंक तथा वित्तीय संस्थाहरूबाट पनि ऋण लिन सकिन्छ। विशेषगरी सरकारले सञ्चालन गरेको स्टार्टअप उद्यम कर्जा कार्यक्रममा ३ प्रतिशत ब्याजदरमा बिना धितो ऋण उपलब्ध छ।
नयाँ उद्यमीहरूलाई सहयोग गर्ने संस्थाबाट मेन्टोरशिप र विशेषज्ञ सल्लाह लिन सकिन्छ। नयाँ व्यवसाय सुरु गर्दा केही आर्थिक कठिनाइहरू आउन सक्छन्। सबैभन्दा ठूलो चुनौती भनेको लगानीकर्ता वा बैंकलाई आफ्नो पैसा सुरक्षित फिर्ता हुन्छ भन्ने विश्वास दिलाउनु हो। बैंकहरूले ब्रेक–इभन कहिले आउँछ भनेर विस्तृत रिपोर्ट माग्छन्। भेन्चर क्यापिटलिस्टहरूले व्यवसायको व्यावहारिकता मात्र जाँच्दैनन्, उनीहरूले जोखिमअनुसार ठूलो प्रतिफल पनि अपेक्षा गर्छन्। नेपालको प्रतिस्पर्धात्मक बजारमा आफ्ना उत्पादन वा सेवाको अलग पहिचान बनाउन पनि कठिनाइ हुन सक्छ।
असफलताको सम्भावनालाई पनि ध्यानमा राख्नुपर्छ। केही असफलता आउन सक्छ भनेर सुरुबाटै विकल्प योजना (प्लान बी) तयार राख्नुपर्छ। कुनै पनि आइडियालाई वास्तविकतामा बदल्न समय लाग्छ, त्यसैले धैर्य गर्न आवश्यक छ। सुरुमा मात्र नाफाको पछाडि लाग्नु हुँदैन, ग्राहक र लगानीकर्तालाई व्यवसायप्रति विश्वस्त पार्न र ग्राहक सन्तुष्टामा ध्यान दिन जरुरी हुन्छ। नेपालमा कृषि, पर्यटन, आईटी, हस्तकला, खाद्य प्रशोधनजस्ता क्षेत्रमा कम पूँजीमा पनि राम्रो व्यवसाय सुरु गर्न सकिन्छ। सानो स्तरबाट सुरु गरी सरकारी योजनाहरूको लाभ लिनुपर्छ र निरन्तर सिक्दै अघि बढ्नुपर्छ।
प्लान बी को बारेमा सोच्नुपर्छ यदि सुरुको योजना अनुसार व्यवसाय सफल भएन भने के गर्ने भन्ने वैकल्पिक योजना तयार राख्नु आवश्यक छ। जस्तै व्यवसायको आकार घटाउने, उत्पादन वा सेवा परिवर्तन गर्ने, अर्को सानो क्षेत्रमा ध्यान केन्द्रित गर्ने वा केही समयका लागि जागिर गरेर पैसा बचत गर्ने विकल्पहरू छन्। सतत क्यास फ्लो कायम राख्नुपर्छ ताकि अचानक समस्या आए पनि व्यवसाय बन्द नपरोस्। असफल भएमा त्यसबाट सिक्नुपर्छ र नयाँ ऊर्जा साथ अर्को प्रयास गर्न तयार रहनुपर्छ।






