
जिराफ अफ्रिकाको सवाना क्षेत्रमा बसोबास गर्छन् र नेपालमा प्राकृतिक रूपमा पाइँदैनन्। यो पृथ्वीको सबैभन्दा अग्लो जनावर हो, जसको घाँटी २ मिटर लामो हुन्छ। जिराफहरू पृथ्वीका सबैभन्दा अनौठा, सुन्दर र आकर्षक जनावरहरूमध्ये एक हुन्। तिनीहरूको लामो घाँटी, अग्लो शरीर र टर्वट धब्बा साथै शान्त स्वभावले सधैं मानिसहरूको ध्यान आकर्षित गरिरहेको छ। नेपालमा जिराफ प्राकृतिक रूपमा पाइँदैनन्। तिनीहरू मुख्यतया अफ्रिकाका सवाना क्षेत्रहरूमा मात्र पाइन्छन्। अफ्रिकाका खुला मैदानहरूमा जिराफहरूको वास्तविक सौन्दर्य अवलोकन गर्न सकिन्छ। जिराफहरू केवल सुन्दर मात्र नभई वातावरणीय सन्तुलन कायम राख्न पनि महत्वपूर्ण भूमिका खेल्छन्। तिनीहरूले अग्ला रूखका पातहरू खान र वनस्पतिको वृद्धि नियन्त्रण गर्न मद्दत गर्छन् र टाढाबाट कुनै खतरा देखेपछि अन्य जनावरहरूलाई पनि सचेत गराउँछन्।
१. अफ्रिकाको सवाना क्षेत्रमा बसोबास: जिराफहरू प्राय: अफ्रिकाका सुख्खा सवाना, खुला मैदान र हल्का जङ्गलमा बस्छन्। यी स्थानहरूमा एकेसिया रूख र झाडीहरू प्रशस्त पाइन्छन्, जुन तिनीहरूको मुख्य खाना र आश्रय हो। नेपाल वा अन्य एसियाली देशहरूमा जिराफहरू प्राकृतिक रूपमा पाइँदैनन्। तिनीहरू अफ्रिकाको पूर्वी र दक्षिणी भागहरू (जस्तै केन्या, टान्जानिया, बोत्स्वाना, दक्षिण अफ्रिका) मा बढी देखिन्छन्। खुला वातावरणले उनीहरूलाई टाढासम्म हेर्न र शिकारीबाट बच्न सजिलो बनाउँछ। मौसम अनुसार तिनीहरू आफ्नो वासस्थान परिवर्तन पनि गर्छन्।
२. संसारकै सबैभन्दा अग्लो जनावर: जिराफहरू पृथ्वीमा सबैभन्दा अग्ला जनावर हुन्। एक पुरूष जिराफको उचाइ ५.५ मिटर (१८ फिट) सम्म पुग्न सक्छ, जसमा घाँटी मात्र २ मिटर लामो हुन्छ। रोचक कुरा यो छ कि तिनीहरूको घाँटीमा हड्डीको संख्या मानिससँग मेल खाने गरी ७ वटा हुन्छ, तर प्रत्येक हड्डी अत्यन्त लामो र बलियो हुन्छ। यो उचाइले तिनीहरूलाई रूखको टुप्पोमा रहेका पातहरू सजिलै खान मद्दत गर्छ। जिराफको उचाइ नै उनीहरूको प्रमुख सुरक्षा प्रणाली हो। तिनीहरूले टाढाबाट सिंह, हाइना, वा अन्य शिकारी देख्न सक्छन्। दृष्टि क्षमता अत्यन्त तेज हुन्छ र खतरा देख्दा ५० किलोमिटर प्रति घण्टाको गतिमा दौडन सक्छन्। बलियो खुट्टाले शिकारीलाई चोट पुर्याउन सक्छ।
३. ठूलो मात्रामा भोजन गर्ने जनावर: जिराफहरू पूर्ण शाकाहारी हुन्। तिनीहरूको मुख्य आहार एकेसिया रूखका पात र कोपिला हुन्। ५० सेन्टिमिटर लामो जिब्रोलाई लामो घाँटीले अग्लो स्थानका पातहरू सजिलै टिप्न सक्छन्। जिराफहरू दिनको आधाभन्दा बढी समय भोजनमा बिताउँछन्। दैनिक तिनीहरूले ४५ किलोसम्म पात खान सक्छन्। धेरै मात्रामा भोजन गरे पनि विशेष पाचन प्रणालीले सजिलै पचाउँछ र यसले तिनीहरूलाई ठूलो शरीर राख्न आवश्यक ऊर्जा प्रदान गर्छ। जिराफको जिब्रोलाई गाढा कालो वा बैजनी रंगको देखिन्छ किनकि मेलानिन प्रचुर मात्रामा हुन्छ, जसले तेज घामको विकिरणबाट जिब्रोलाई जलेर नाश हुनबाट बचाउँछ।
४. कम पानीबाट बाँच्ने क्षमता: जिराफहरूलाई धेरै पानी पिउन आवश्यक पर्दैन। तिनीहरूले आवश्यक पानीको ठूलो भाग पातबाटै प्राप्त गर्छन्। केही दिन पानी नपिउँदा पनि सहजै बाँच्ने क्षमता राख्दछन्। यो सुक्खा सवाना क्षेत्रमा जीवित रहनका लागि महत्वपुर्ण छ।
५. सामाजिक र समूहमा बस्ने जनावर: जिराफहरू सामाजिक स्वभावका हुन्छन्। उनीहरूको समूहलाई ‘टावर’ भनिन्छ। प्रत्येक टावरमा प्राय: १० देखि २० सदस्य हुन्छन्, जहाँ पोथी र साना बच्चाहरू बढी हुन्छन्। समूहमा बस्दा उनीहरूले एकअर्कालाई खतरा बारे जानकारी गराउँछन्।
६. ‘नेकिङ’ नामक अनौठो लडाइँ: पुरुष जिराफहरू बीच शक्ति र प्रजनन अधिकारका लागि ‘नेकिङ’ नामक लडाइँ हुन्छ। तिनीहरूले आफ्नो लामो घाँटी र टाउको प्रयोग गरेर एकअर्कालाई जोडले हान्छन्। यस लडाइँले प्रायः घातक नहुने भए पनि हार्ने जिराफ पछि हट्छ। बलियो पुरुषले पोथीमा नियन्त्रण राख्दै आफ्नो जोडी बनाउँछ।
७. जोडी बनाउने र प्रजनन प्रक्रिया: जिराफहरूको प्रजनन प्रक्रिया अत्यन्त अनौठो र रोचक हुन्छ। प्रजनन मौसम निश्चित नहुन सक्छ र वर्षभरि जोडी बनाउन सक्छन्। पुरुषले पोथीको प्रजनन तयारी थाहा पाउन नजिक गएर घुँडा ठोकी पिसाब गराउँछ। पोथीले पिसाब गरेपछि पुरुषले जिब्रोले त्यसलाई चाख्छ र ‘फ्लेमेन रेस्पोन्स’ देखाउँछ, जुन टाउको उठाएर माथिल्लो ओठ घुमाउने व्यवहार हो। यसले पिसाबमा रहेका हर्मोन र रासायनिक संकेतहरूबाट पोथी प्रजननका लागि तयार छ कि छैन बुझ्छन्। यो जिराफको मेटिङ व्यवहारमा सबैभन्दा अनौठो कुरा हो। घोडा, सिंह, हात्ती जस्ता अन्य धेरै जनावरहरूमा पनि फ्लेमेन रेस्पोन्स देखिन्छ, तर जिराफमा पिसाब चाख्ने व्यवहार फरक हुन्छ।
८. जन्म प्रक्रिया पनि अनौठो: पोथी जिराफ उभिएर बच्चा जन्माउँछिन्। नवजात शिशुको उचाइ करिब १.५ देखि २ मिटर र तौल लगभग १०० किलो हुन्छ। जन्मिदा बच्चा करिब १.५ मिटर उचाइबाट खस्छ। केही घण्टाभित्रै बच्चा उठेर हिँड्न र आमाबाट दूध खान सक्षम हुन्छ, जसले शिकारीबाट छिट्टै बच्न मद्दत गर्छ।
९. जीवनकाल, दीर्घायु र संरक्षण: जंगली क्षेत्रमा जिराफको औसत आयु २५ वर्षसम्म हुन्छ, जबकि चिडियाघरमा ४० वर्षसम्म बाँच्न सक्छन्। पछिल्ला वर्षहरूमा वन विनाश, शिकार र जलवायु परिवर्तनले जिराफको संख्या घटाएको छ। विश्वमा हाल करिब १ लाख ४० हजार जिराफ बाँकी छन् र केही प्रजातिहरू संकटमा छन्। संरक्षण प्रयासले केही क्षेत्रहरूमा तिनीहरूको संख्या वृद्धि गरिरहेको छ।






