पहिलो हाफमा पोर्चुगलको तुलनामा कंगोले बढी आक्रमण गरेको थियो। कंगोले ६ पटक प्रहार गर्दा पोर्चुगलले २ पटक मात्रै प्रहार गरेको थियो। ३ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा डिआर कंगोले पोर्चुगलविरुद्ध पहिलो हाफमै बराबरी गोल फर्काएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको समूह के को खेलमा कंगोका योहान विसाले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल गरेका थिए। ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको डिआर कंगोले विश्वकपमा पहिलो गोल गरेको हो। सन् १९७४ मा जायर नाममा भएको विश्वकप खेल्दा समूह चरणमा तीन खेलमा पराजित भएको कंगोले कुनै गोल गर्न सकेन। पहिलो हाफ १-१ बराबरीमा सकिएको छ। पहिलो हाफमै कंगोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको छ। त्यसअघि पोर्चुगलका जोआओ नेभेसले छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। उनले पेड्रो नेटोको क्रस हेड मार्फत गोल गरेका थिए। पहिलो हाफमा पोर्चुगलको तुलनामा कंगोले बढी आक्रमण गरेको थियो। कंगोले ६ पटक प्रहार गर्दा पोर्चुगलले २ पटक मात्र प्रहार गरेको थियो। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार छैटौं विश्वकप खेलिरहेका छन्। उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीपछि लगातार छ विश्वकप खेल्ने दोस्रो खेलाडी बनेका छन्।

