
१० वैशाख, काठमाडौं । असम, केरल, पश्चिम बंगाल, तमिलनाडु र एक केन्द्र शासित प्रदेश पुडुचेरीमा विधानसभा निर्वाचन हुँदैछ । सबै राज्यहरूमा आज (अप्रिल २३) र अन्तिम चरण अप्रिल २९ मा मतदान हुनेछ । यी चार राज्यमध्ये सबैभन्दा बढी चासो यसपटक पश्चिम बंगालमा छ । विगतमा पश्चिम बंगालमा ६ देखि ८ चरणसम्म मतदान गराउने उदाहरणहरू छन् । त्यस आधारमा यसपटकको निर्वाचन तालिकालाई निकै छोटो मानिएको छ । पश्चिम बंगालमा कम्युनिस्ट गढ भत्काएर १५ वर्ष शासन गरेकी ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बीजेपी) बीच यसपटक कडा प्रतिस्पर्धा रहेकोले त्यहाँको निर्वाचन सबैभन्दा रोचक मानिएको छ । भारतीय पत्रपत्रिका, टेलिभिजनदेखि आमसञ्चार माध्यममा त्यही निर्वाचनको व्यापक कभर गरिरहेको छ ।
चुनावी माहौल पहिलो चरण बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म लगभग ९० प्रतिशत मत खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो चरणमा १६ जिल्लाका १५२ निर्वाचन क्षेत्रहरूमा ३.६ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । जसमा एक हजार ४७८ उम्मेदवारहरूमध्ये १६७ महिला उम्मेदवार छन् । निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन आयोगले व्यापक सुरक्षा व्यवस्था गरेको छ । दुई हजार ४५० कम्पनी केन्द्रीय अर्धसैनिक बल तैनाथ गरिएको छ । हिंसाका घटना मतदानका क्रममा केही स्थानमा भएका छन् । मुर्शिदावादको नाउदामा तनाव उत्पन्न भयो, जहाँ आम जनता उन्नयन पार्टीका नेता हुमायुन कबिरको आगमनपछि तृणमूल कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए ।
बीजेपी उम्मेदवार अग्निमित्रा पौलको गाडीमाथि आसनसोल दक्षिणमा ढुंगो हानिएको छ । कुमारगंजका बीजेपी उम्मेदवार सुभेन्दु सरकारले तृणमूल कार्यकर्ताबाट आक्रमण गरिएको दाबी गरेका छन् । यी घटनाले त्यहाँ चुनावी हिंसात्मक परम्पराको निरन्तरता देखाएका छन् । पश्चिम बंगालमा निर्वाचन अघि, क्रममा र पछि राजनीतिक हिंसा सामान्य दृश्य हुन् । तथ्याङ्कले पनि निर्वाचनका क्रममा हुने राजनीतिक आक्रमणमा सबैभन्दा बढी ज्यान पश्चिम बंगालमै जाने देखाउँछ । ग्रामीण क्षेत्रहरूमा हार्ने दलका समर्थक र कार्यकर्तालाई उनीहरूको घरबाट लखेटिनु र महिनौसम्म अर्को ठाउँमा बस्नुपर्ने हुनुलाई सामान्य मानिन्छ ।
यस निर्वाचनलाई भारतीय राजनीतिको निर्णायक मोडका रूपमा हेरिएको छ । राष्ट्रिय राजनीतिक दृष्टिकोणबाट, यो बीजेपीको ‘दक्षिण र पूर्व विस्तार’ गर्ने दीर्घकालीन रणनीतिको सबैभन्दा ठूलो परीक्षा बन्ने निश्चित छ । बीजेपीले लामो समयदेखि पश्चिम बंगाललाई आफ्नो मुख्य राजनीतिक आधार बनाउने प्रयास गरिरहेको छ । यसपटकको चुनावले त्यो लक्ष्य कति सफल भो भन्ने तथ्य तय गर्नेछ । यो निर्वाचन केवल हार-जीतको विषय नभएर क्षेत्रीय पार्टी र राष्ट्रिय पार्टीबीचको गहिरो संघर्ष पनि हो । ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसले आफूलाई बंगाली संस्कृति र क्षेत्रीय अस्मिताको एक मात्र रक्षकको रूपमा प्रस्तुत गरिरहेको छ । अर्कोतर्फ, बीजेपीले राष्ट्रिय एकता, हिन्दुत्व र विकासको एजेन्डा अघि सारेर ममताको क्षेत्रीय राजनीतिको किल्ला तोड्ने प्रयास गरिरहेको छ ।





