
चीनको सबैभन्दा ठूलो उत्पादन केन्द्रको पछिल्तिर एक हुल कामदारहरू रुखमुनि जम्मा भएर चुरोट पिउँदै छन्। अनि ती कारखानाका अग्रभागमा अस्थायी मजदुर चाहिएको विज्ञापन देखिन्छ। “हाम्रो जीवन कस्तो छ भनेर कसैले बुझ्दैन,” नाम बताउन नचाहेका एक पुरुषले बताए। “हामी कामैकाम, कामैकाम गरिरहन्छौँ। कुनै जीवन छैन। कृपया मद्दत गर्नुहोस्,” अर्काले भने। यो कुनै विदेशी पत्रकारसँग गरिएको दुर्लभ र जोखिमपूर्ण अनुरोध थियो। सस्ता र धेरै परिमाणमा वस्तु उत्पादनबाट अत्याधुनिक स्वचालित प्रविधितर्फ रूपान्तरित हुँदै गरेको चिनियाँ उत्पादन क्षेत्रका चुनौतीसँग झेल्दै घर पठाउन पर्याप्त रकम कमाउन नसक्दा उनीहरू अत्तालिएका सुनिन्छन्। अनि यो सबै इरानमाथि अमेरिका-इजरेल आक्रमणका कारण विश्व अर्थतन्त्र खलबलिनुअगाडिको स्थिति हो।
गत वर्ष डोनल्ड ट्रम्पले चर्को ट्यारिफ लगाएपछि नै चिनियाँ अर्थतन्त्रले वृद्धिदरमा कमी अनि बेरोजगारीजस्ता समस्या झेलेको थियो। तथापि ती चुनौतीलाई चीनले दृढतापूर्वक सामना गर्दै निर्यात वृद्धि गरायो र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५ प्रतिशतले विस्तार गर्यो। तर असन्तुष्टि निरन्तर थियो। अनि अब अहिले मध्यपूर्वको द्वन्द्वका कारण लागत, माग तथा रोजगारीमा थप चापसहित ताजा समस्या उत्पन्न भएका छन्। दक्षिणी औद्योगिक प्रान्त ग्वाङ्डङको फोशानमा चम्किला राता अक्षरमा प्लास्टिकको सामान बनाउने वा मोबाइल फोन जडान गर्नेजस्ता घण्टाको १८ देखि २० युआन (केही डलर) आम्दानी हुने गरी केही हप्ताको कामको विज्ञापन देखिन्छ। “म त अन्यत्रै कामका निम्ति प्रयास गर्छु,” ग्रामीण भेगबाट आएका अर्का मजदुरले भने। ती कामदार अधिकांश ४० वर्षभन्दा माथि उमेरका छन् र थप अनिश्चयका कारण दिक्क छन्।
बेइजिङले युद्ध अन्त्य गर्न आह्वान गर्नुका पछाडि यो एउटा कारण हो। चीनले जम्मा गरेर राखेको तेलको विशाल भण्डार अनि नविकरणीय ऊर्जा तथा विद्युतीय गाडीमा उसको अगुवाइका कारण इन्धन सङ्कटको सबैभन्दा खराब असरहरूबाट ऊ अहिलेसम्म जोगिएको छ। तापनि होर्मुज जलमार्गमा भइरहेको निरन्तर बाधाले उसै पनि न्यून वृद्धि बेहोरिरहेको निर्यात अधिक निर्भर चिनियाँ अर्थतन्त्रलाई थप पीडा दिएको छ। “लागत करिब २० प्रतिशतले बढिसक्यो,” मजदुरहरूलाई एउटा ट्रकबाट फ्याब्रिक झिकेर कार्टहरूमा ओसार्न निर्देशन दिँदै एक नाम बताउन नचाहेकी व्यापारीले भनिन्। ती कपडालाई स्थानीय कारखानामा लगेर जारा, शेन वा टेमु विश्वका चर्चित व्यवसायहरूका निम्ति पोसाक बनाइन्छ। यो विश्वकै ठूलो कपडा बजार हो।
फोशानबाट गाडीमा एक घण्टा पर रहेको ग्वाङ्जाउमा जताततै खाँदाखाँद कपडा बोकेका मोटरसाइकल अनि साना भ्यान र ट्रकहरूले सामान ओसारिरहेका देखिन्छन्। तर प्रत्येक व्यापारी र विक्रेताको कथा उस्तै सुनिन्छ। उनीहरूका निम्ति सस्तो र बेरोकतोक पेट्रोकेमिकलको आपूर्ति अपरिहार्य छ किनभने त्यो नभईकन फ्याब्रिक उत्पादन हुँदैन। तेलको उच्च मूल्यले तिनलाई समस्या पारिसकेको छ, माग कम हुने एक व्यवसायीले बताए। गोदाममा कपडाका थान थन्किन थालेको उनले बताए। बढेको मूल्य उपभोक्तालाई नथोप्ने हो भने आफैँले बेहोर्न पर्छ। थोरै स्तरको नाफा लिएर काम गर्नेहरूलाई यसो गर्नु कठिन हुन्छ।
एक वर्षअगाडि जब चीन र अमेरिका व्यापार युद्धमा होमिए, तब ग्वाङ्जाउको सडकमा प्रतिरोधको मानसिकता देखिन्थ्यो। अहिले चाहिँ उनीहरू दिक्क मान्ने अवस्थामा छन्। तर यसो भन्दै गर्दा अनिश्चयका माझ अवसर पनि बाँकी छन्। गाडीमा चढेर अलि पर जाँदा उत्पादकहरूले क्यान्टन मेलामा विश्वभरिका विक्रेताहरूलाई स्वागत गरिरहेको देखियो। मानवजस्ता देखिने रोबटहरू अभिवादन गर्दै विदेशी पाहुनासँग सेल्फी खिच्दै थिए। बेइजिङका नेताहरू चीनको यस्तै मुहार देखाउन चाहन्छन् – भविष्यप्रति आशावादी देश जसले मध्यपूर्वको युद्धमा अलमलिएको अमेरिकासँग प्रतिस्पर्धा गर्न सक्ने नयाँ प्रविधि बनाइरहेको छ।
विदेशी भाषा अनुवाद गर्न सक्ने एआई चस्मा तथा पहाड चढ्न सघाउने रोबटिक खुट्टाजस्ता सामग्री हेर्न लामो लाइन लागेको देखिन्छ। अनि दागलाई तत्काल मेटाउन सकिने भ्याक्यूम क्लीनरदेखि चम्किला एस्प्रेसो मशीनजस्ता दैनिक जीवनमा उपयोगी सामानहरू पनि त्यहाँ देखिन्छन्। व्यापारीहरू ती सबै सामग्रीको भाउ बढिरहेको सुनाउँछन्। एउटा कारण चाहिँ ती सबै प्लास्टिकबाट बन्छन् अनि प्लास्टिकको उत्पादनमा तेल आवश्यक पर्छ। तैपनि क्रेताहरूको भिड देखिन्छ – अनि युद्धले एउटा यस्तो क्षेत्रको महत्त्व थप उजागर भएको छ जुन क्षेत्रमा चीन अग्रणी छ : विद्युतीय गाडी। चीनको प्यासेन्जर कार असोसिएशनका अनुसार मार्च महिनामा मात्रै चिनियाँ कम्पनीहरूले साढे ३ लाख विद्युतीय गाडी निर्यात गरे, जुन अघिल्लो महिनाभन्दा ३० प्रतिशत बढी हो भने अघिल्लो वर्षको मार्चभन्दा १४० प्रतिशतले बढी हो।
मध्यपूर्वका देशहरू चिनियाँ विद्युतीय गाडी निर्यातका प्रमुख गन्तव्यहरू हुन् तर युद्धले अहिले ढुवानीमा बाधा भइरहेको छ। “गत वर्ष हाम्रो निर्यातको ९० प्रतिशत गाडी मध्यपूर्वमा भएका थिए तर यो वर्ष युद्धले त्यो रोकिएको छ,” व्यापारी जोएस लिउले भनिन्। उनी क्यान्टन मेलामा अफ्रिका वा दक्षिण अमेरिकाका नयाँ क्रेताहरू खोज्न आएकी हुन्। भारत, बाङ्ग्लादेश तथा टर्कीबाट पनि क्रेताहरू आएका छन्। कतिपय देशका निम्ति चिनियाँ विद्युतीय गाडी लिन प्रतीक्षा गर्नुपरेको छ किनभने पेट्रोल र डीजलको भाउ बढ्दो छ। चीनको द्विविधायुद्धले चीनको आत्मनिर्भरतातर्फको यात्रा थप सुदृढ हुने भए पनि यस्तो परिस्थितिमा चीनको जित भने नहुने लन्डनस्थित च्याटम हाउसकी यु जी बताउँछिन्। “विडम्बना के भने ह्रासोन्मुख अमेरिका चीनले देख्न चाहेकै परिस्थिति हो। तर के यस्तो अमेरिका चीनले चाहेको हो र? उसले त अलि बढी अनुमानयोग्य अमेरिका चाहन्छ, जसलाई बेइजिङले सायद सजिलोसँग व्यवस्थापन गर्न सक्छ।” यो सन्तुलनको खेलमा बेइजिङ ट्रम्पलाई चिढ्याउन चाहँदैन, उनले भनिन्। मे महिनामा हुने भनिएको चीन-अमेरिका शीर्ष बैठकले युद्धप्रति चीनको अडान अलि नरम हुन सक्ने उनको विश्वास छ। “जसरी पनि उक्त बैठक होस् भन्ने बेइजिङ चाहन्छ।” किनाराबाट बेइजिङले युद्धविरामको आह्वान गर्दै आएको छ र उसको मित्र देश इरानलाई वार्ताको टेबलमा जान भनिरहेको छ। ट्रम्प पनि यही चाहन्छन्। राष्ट्रपति सीले यूएई र साउदी अरेबियाका राजकुमारहरूसँग भेटघाट र फोनवार्ता गरिरहेका छन्। चीनले कूटनीतिक कसरत गरिरहेको यूनिभर्सिटी अफ ग्रोनिङ्गनका प्राध्यापक विलियम फिग्वेरोआले बताए। “अमेरिका र उसका क्षेत्रीय साझेदारहरूलाई आफ्नो सो क्षेत्रप्रतिको प्रतिबद्धता प्रति चीन साँच्चिकै गम्भीर छ भनेर चीन देखाउन चाहन्छ।” चीन अब केबल विश्व अर्थतन्त्रको मात्र होइन, विश्व शक्तिको पनि केन्द्रमा छ भनेर यसले फेरि स्मरण गराएको छ। तर जहाँको तहीँ रहेका ज्यालाबाट दिक्क भएका फोशानका मजदुरहरूका निम्ति यस्ता कुराको अर्थ कमै छ। एक जनाले क्यान्टन मेलाको पास देखाए। “मैले (त्यहाँ) शौचालय सफा गर्ने काम गरेँ,” उनले चुरोटको एक सर्को तानेर हाँस्दै भने। दिनको १४ घण्टा काम गरेर उनले १५० युआन वा करिब २० डलर मात्र कमाए।






