
नेपाली कांग्रेसले तीन मन्त्रीसहित सात प्रदेश सांसदलाई स्पष्टीकरण माग्यो
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले तीन प्रदेश सरकारका मन्त्रीसहित सात प्रदेश सांसदलाई स्पष्टीकरण मागेको छ । बुधबार बसेको अनुशासन समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लगाउँदै ती नेताहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
स्पष्टीकरण सोधिएका मन्त्रीहरूमा लुम्बिनी प्रदेशका वन मन्त्री देवकरणप्रसाद कलवार (महासमिति सदस्य), कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार (पूर्व केन्द्रीय सदस्य), र लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने रहेका छन् । अन्य प्रदेश सांसदहरूको सूचीमा लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश उपसभापति) राजु खनाल, मधेश प्रदेशका सांसदहरू जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर राय समावेश छन्, जसको जानकारी कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका छन् । उनीहरूलाई पाँच दिन भित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।