
पोखरामा सुकुको हत्या, जन्मकैद पाएपछि जेनजी आन्दोलनमा भागेर नवलपुरमा पुनः हत्या
तनहुँ भीमादकी सुकु विकको हत्या लगायतका अपराधमा संलग्न सञ्जय विक १८ वैशाख, पोखरा। पोखराको व्यस्त क्षेत्र नागढुंगामा रहेको एउटा होटलमा सुकुको हत्या भएको घटना प्रहरीले ठूलो चुनौतीका रूपमा लिएका थिए। हत्या आरोपी लामो समय फरार हुँदा प्रहरीले अनुसन्धान र सुरक्षा व्यवस्थाप्रति प्रश्न उठेका थिए। नागढुंगास्थित युनिक होटलमा ३८ वर्षीय सुकुको हत्या आरोपितसम्म प्रहरी पुग्न ८ महिनाभन्दा बढी समय लाग्यो र अन्ततः बाग्लुङको गल्कोट नगरपालिका–९ मल्मका २९ वर्षीय सञ्जय विकलाई २०८१ साल साउनको पहिलो हप्तामा पक्राउ गरिएको थियो। कास्की जिल्ला अदालतले २०८३ जेठ २७ गते उनलाई जन्मकैदको फैसला सुनायो। भीमादकी सुकुलाई सञ्जयले होटलमा लगेर यौन सम्पर्कको प्रस्ताव राखे पनि अस्वीकार गरेपछि घाँटी थिचेर हत्या गरी सुनका गरगहना लुटेर फरार भएको प्रहरी अनुसन्धानबाट पुष्टि भयो। यसै अनुसन्धानको आधारमा अदालतले उनलाई जन्मकैद र ७० हजार जरिवाना तोकेको थियो।
श्रृंखलाबद्ध अपराध, जेनजी आन्दोलनको समयमा फरार: जेनजी आन्दोलनका क्रममा भदौँ २४ गते पोखराको कारागारबाट कैदीबन्दीहरु भागेका थिए। त्यही क्रममा सञ्जय पनि फरार भई नवलपुरमा अर्को हत्या गरी लुटपाट गरेको पत्ता लागेको छ। भदौँमा कास्की कारागारबाट भागेका सञ्जय लुकिछिपी बस्दै प्रहरीलाई छल्न सफल थिए। २०८२ चैत २३ गते नवलपरासी देवचुली टाँगीकोट टोलमा ७५ वर्षीय श्रीमान् र ७१ वर्षीय श्रीमतीमाथि आक्रमण गरी सुनका गरगहना लुटिएको थियो। श्रीमान जिउनराम थनेत र उनकी श्रीमती गुलबसनिया थनेतलाई राति सुतिरहेको कोठामा टाउकोमा प्रहार गरी सुनका गरगहना समेत लुटिएको थियो। उनीहरु अचेत अवस्थामा आफन्तले भेटेर पुरानो मेडिकल कलेज भरतपुर चितवनमा पुर्याएपनि जिउनराम थनेतको तत्काल मृत्यु भएको थियो।
भदौँमा कारागारबाट भागेका सञ्जयले चैतमा नवलपुरमा अर्को हत्या गरेपछि प्रहरीले फेरि ठूलो चुनौती व्यहो¥यो। गम्भीर हत्या अपराधमा जन्मकैद सजाय प्राप्त सञ्जयलाई पक्राउ गर्न २०८२ असोजमै प्रहरी परिचालन गरिएको थियो, तर उनी पक्राउमा सफल हुन सकेनन्। कारागारबाट फरार भई ७ महिनापछि नवलपुरमा अर्को हत्या गरी फरार भएपछि उनी पुनः ठूलो चिन्ताको विषय बने। सञ्जयलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपाल प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को संयुक्त टोली तैनाथ गरिएको थियो। अन्ततः नवलपुरबाट फरार सञ्जयलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। केटी साथी बनाउँदै लुक्दै काठमाडौंमा केटी साथी बनाएर उनको आफन्तको घरमा लुकेका सञ्जयलाई प्रहरीले वैशाख १५ गते पक्राउ गरेको हो। सीआईबीसहितको टोलीले सञ्जयलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नवलपुरमा बुझाएको छ। प्रहरीले सञ्जयलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइरहेको छ। नवलपुर प्रहरी प्रमुख युवराज खड्काका अनुसार सञ्जयलाई अदालतमा पेश गरी फैसला अनुसार कास्की कारागार वा नवलपुर कारागारमै राख्ने निर्णय हुनेछ। प्रहरीको विशेष टोलीले सञ्जयलाई पक्राउ गर्न सफल भएको एसपी खड्काले बताए। सञ्जयलाई पक्राउ गर्न खटिएका प्रहरी स्रोतका अनुसार उनी बारम्बार केटी साथी बनाउने, यौन सम्बन्ध राख्ने तथा विभिन्न ठाउँमा डाँकाचोरी गर्ने गरेका थिए।
२०७२ असारमा पनि सञ्जयविरुद्ध चोरी मुद्दा दर्ता भएको थियो। २०८० साल मंसिर ५ गते तनहुँ भीमादकी सुकुलाई होटलमा लगेर हत्या गरेका थिए। २०८१ साल श्रावण २९ गते पुर्पक्षका लागि कारागार चलान भएका ती आरोपीलाई २०८२ जेठ २७ गते जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको थियो। जेनजी आन्दोलनमा फरार गम्भीर अपराधीहरुले फेरि देशभर हत्या, लागु औषध कारोबार र बलात्कारजस्ता गम्भीर घटनामा संलग्न हुँदै सुरक्षा संयन्त्रमाथि ठूलो चुनौती खडा गरेका छन्। जेनजी आन्दोलनका क्रममा भदौँ २४ गते कास्की कारागार तोडफोड गरी भागेका ७ सय ७३ जना कैदीबन्दीहरु मध्ये १ सय ३० जना अझै फरार रहेको तथ्य कास्की कारागारका निमित्त प्रशासक झंकनाथ पौडेलले दिएका छन्।