
नेपाल क्रिकेट संघले विभिन्न प्राविधिक र बाह्य कारणका कारण रोकिएको क्रिकेट प्रतियोगिता आगामी जेठ १० गतेदेखि संचालन गर्ने घोषणा गरेको छ। क्यानका सचिव पारस खड्काले प्रतियोगिताको नयाँ मिति तय भइसकेको र सबै खेलाडीहरू उपलब्ध हुने अपेक्षा गरिएको जानकारी दिनुभएको छ। प्रतियोगिता मे २३ गतेदेखि सुरु गर्ने निर्णय आयोजक टोली, जिल्ला तथा प्रादेशिक क्रिकेट संघ र क्यानबीच समन्वयमा गरिएको हो।
क्यानका सचिव खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न परिस्थितिका कारण निर्धारित समयमा प्रतियोगिता हुन नसकेको र नयाँ मिति तय गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “देशको असहज अवस्था, अन्तर्राष्ट्रिय संकट र आईसीसीको खेल तालिकामा परिवर्तनका कारण प्रतियोगिता सार्नुपर्ने भएका थिए।” साथै, कतिपय खेलहरू पहिल्यै सार्नुपर्ने र केही खेलहरू पछि धकेल्नुपर्ने बाध्यताले प्रतियोगितामा असर परेको थियो।
खड्काले खेलाडीहरूको उपलब्धता सुनिश्चित गरिएको र सम्बन्धित टिमहरूले आफ्ना खेलाडीहरूसँग सम्पर्क गरिसकेको जानकारी पनि प्रदान गर्नुभयो। उहाँले भन्नुभयो, “नेपाल क्रिकेट संघले विगत ६–७ महिनादेखि नै आयोजकसँग समन्वय गरी मिति तोक्ने प्रयास गर्दै आईरहेको थियो।”
आगामी मे २३ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरिएको छ। स्थानीय तहको लगानी, टिम मालिकहरूको आर्थिक समर्थन र प्रायोजकहरूको विश्वसनीयता मध्यनजर गर्दै प्रतियोगितालाई सफल बनाउन क्यान प्रतिबद्ध रहेको बताइएको छ। खड्काले लामो समयसम्म प्रतीक्षा र धैर्यताको लागि आयोजक, प्रायोजक र सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै यसपटकको प्रतियोगिता भव्य रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।






