
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको पहिलो बैठक बुधबार बसेको थियो, जसमा २४ जना सांसदहरू उपस्थित थिए। बैठक करिब सवा घण्टा चलेको थियो तर अन्त्यमा केवल ११ जना सांसदहरू उपस्थित थिए। सांसदहरूले बैठक प्रभावकारी बनाउन हाजिरी कायम राख्न र छलफलमा पूर्णरूपले भाग लिनुपर्ने विषयमा जोड दिएका छन्। २९ वैशाख, काठमाडौं। पछिल्ला वर्षहरूमा संघीय संसद्मा निरन्तर सुनिने शब्द हो– हाटा। सांसदहरूले हाजिरी गरेर टाप कस्ने (भाग्ने) प्रवृत्तिलाई ‘हाटा’ भनेर चिनिने चलन छ।
संसदीय समिति गठन भएपछि बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठक बस्यो। २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन भएपछि, २७ चैतमै संसदीय विषयगत समिति गठन भएका थिए। वैशाख ४ गते सबै समितिले सभापति पाए। कांग्रेसका भरतबहादुर खड्का सभापति चयन भएपछि सार्वजनिक लेखा समितिको बैठक मंगलबार पहिलो पटक बसेको हो। त्यहाँ केही सांसदहरू उपस्थित भएझैँ गरी बैठकमा केहीबेर बसेर हिँडेको देखियो। केहीले आफ्ना कुरा राखे भने केही सांसदहरूले अरूका विचार सुन्न धैर्यता देखाएनन्।
बैठक बिहान १० बजेका लागि तय गरिएको थियो, तर करिब २५ मिनेट ढिलो गरी सुरु भयो। समिति सभापति खड्काले समितिसम्बन्धी प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको जानकारी दिए। उनले लेखा समिति आगामी दिनमा के–कस्ता विषयमा कसरी अगाडि बढ्न सक्छ भनेर प्रारम्भिक छलफल गर्ने कार्यसूची रहेको बताए। त्यसपछि समितिका सचिव एकराम गिरीले सार्वजनिक लेखा समितिको महत्व र कार्यक्षेत्रबारे प्रस्तुतीकरण गरे।
सार्वजनिक लेखा, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरूको निगरानी गर्ने लगायत समितिका क्षेत्राधिकारबारे बृत्तान्त दिए। सचिवको प्रस्तुतीकरण चलिरहँदा सांसदहरूको हाजिरी समेत हुँदै थियो। प्रस्तुतीकरण सकिएपछि सांसदहरू एक एक गर्दै बाहिरिन थाले। केहीले आफ्ना कुरा राखे र केही यसै बाहिरिए। भौतिक पूर्वाधार मन्त्रालयमा छलफल, पार्टीको संसदीय दल कार्यालयमा छलफल आदि कारण देखाउँदै सांसदहरूले सभापति खड्कासँग विदा मागेका थिए।
लेखा समितिको बैठक करिब सवा घण्टा चल्यो। हाजिरीअनुसार २४ जना सांसद बैठकमा थिए। काठमाडौं बाहिर भएकाले नेपाली कांग्रेसका सांसद मोहन आचार्य अनुपस्थित थिए। तर, २४ जना सांसद उपस्थित रहेको बैठकको अन्त्यमा सभापति खड्काको सम्बोधन हुँदै गर्दा केवल ११ जना सांसदहरू उपस्थित थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्य, रमेशकुमार सापकोटा, नेपाली कांग्रेसका योगेश गौचन थकाली, नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाही, नेकपा एमालेका गणेशसिंह ठगुन्ना, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओली, श्रम संस्कृति पार्टीका आर्यन राईलगायत ११ जना सांसदहरू बैठकको अन्तिमसम्म बसे।
बाँकी सांसदहरू भने बैठकबाट बाहिरिएका थिए। संसदहरू बाहिरिएपछि बैठकमै एक सांसदले भने, ‘पहिलो बैठकमै यस्तो हुनुले बाँकी दिनहरूमा अवस्था कस्तो होला?’ कतिपय सांसदहरूले लेखा समितिको बैठकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै आफ्ना विचार राखेका छन्। सांसदहरूले बैठकको सुरुवातमा हाजिरी कायम राख्न, र महत्वपूर्ण छलफल वा निर्णय प्रक्रियामा भाग नलिई बाहिरिनेहरूको नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्।
रास्वपा सांसद विपिन आचार्यले संसदीय समितिको कामका लागि क्यालेन्डर अत्यावश्यक रहेको भन्दै प्रस्ताव राखे। ‘हतार नगरी आवश्यक परेमा लामो छलफल गरी अगाडि बढौं,’ उनले भने। कति महिनामा कति काम भए भनेर अभिलेख राख्ने प्रस्ताव पनि उनले प्रस्तुत गरेका छन्। श्रम संस्कृति पार्टीका सांसद निश्कल राईले लेखा समितिले गम्भीर हुनुपर्ने तथ्यांकमाथि जोड दिए। ‘७ खर्ब रुपैयाँ पहिलेदेखि नै बेरुजु छ। नयाँ पनि नियन्त्रण गर्न जरूरी छ,’ उनले समितिको कामको गम्भीरता औंल्याए।
सांसद राईले पनि समितिको बैठक प्रभावकारी बनाउन सांसदहरूले लगानी गर्ने समय पर्याप्त हुनुपर्ने बताए। नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले लेखा समिति ‘कार्य केन्द्रित’ भएर अघि बढ्नुपर्ने बताए। विगतमा लेखा समिति प्रभावकारी नभएको टिप्पणी नआओस् भनेर काम गर्ने उनले जोड दिए।






