Skip to main content

बालेन सम्झाउँदै क्षितिज थेबेले ताप्लेजुङको समस्या उठाए

३० वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले प्रतिनिधिसभामा ताप्लेजुङ डायरी प्रस्तुत गर्दै समस्याहरू उजागर गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा उनले ताप्लेजुङका जनताप्रति हार्दिक सम्मान र कृतज्ञता व्यक्त गर्दै त्यहाँका कठिन परिस्थितिबारे चर्चा गरे। उनले भने, “के गर्ने, के नगर्ने कुरामा उकुसमुकुस परेका छौं।”

उनले हावाहुरीले स्कुलका छाना र घरहरू उडाएर लगेको र असिनाले बालीनाली चर्को नोक्सान पुर्‍याएको उल्लेख गर्दै जनताका समस्याहरूमा गम्भीर ध्यानाकर्षण गराए। “जनता आघात र संकटमा छन्। आजसम्म राहत प्राप्त भएको छैन,” उनले बताए।

खानेपानी र सिँचाइका समस्याहरूका साथै कृषक र श्रमिकका विषय, युवाको बेरोजगारी र जनताको गरिबीको अवस्थाबारे पनि उनले जानकारी गराए। “महंगी र मूल्यवृद्धि अझै कायम छ। विकास निर्माणका विषयहरू असंख्य छन्,” उनले थपे।

“अब रुखमा बाँधेर होस् कि, बाटोमा सुताएर होस् कि, खोरमा राखेर होस्, बाटो निर्माण गर्नै पर्ने हुन्छ,” उनले जोड दिए। प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भने, “पाथीभरा सडक, चुनावअगाडि तपाईंको यात्रा भएको सडक भएको छ। १० वर्ष बितिसक्यो तर अलपत्र छ। तमर कोरिडोर हुँदै ओलाङचुङगोला तिप्तोला नाका सडक, याम्भुजिन हुँदै कञ्चनजंगाबेस क्याप्प सडक, मदन भण्डारी सडक, गुफापोखरी सडक, चुवाभञ्ज्याङ तिम्बुङ पोखरी जाने सडक, जसरी पनि यी सडकहरू निर्माण हुनुपर्छ।”