Skip to main content

नेपाल उद्योग वाणिज्य महासंघको धरपकडप्रति चिन्ता व्यक्त

३१ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायीमाथि भएका धरपकड घटनाले व्यावसायिक वातावरणमा त्रास सिर्जना गरेको भन्दै चिन्ता प्रकट गरेको छ। बिहीबार महासंघले ध्यानाकर्षण पत्र जारी गर्दै आर्थिक मुद्दाको अनुसन्धानका नाममा भइरहेका धरपकड घटनाले लगानीकर्तामाझ नकारात्मक सन्देश गएको बताएको छ।

‘पछिल्ला केही दिनयता सरकारले विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायी, निर्माण व्यवसायी र बैंककर्मीहरूलाई पक्राउ गरेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ।

‘अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्र तथा बैंकिङ क्षेत्रका नेतृत्वदायी उच्च पदस्थ व्यक्तिहरूलाई फौजदारी कसुरको शैलीमा धरपकड गरिने प्रवृत्तिले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना भई लगानीकर्ता र व्यवसायिक जगतमा नकारात्मक सन्देश प्रवाह गरेको छ।’

महासंघले त्यस्तै आम सर्वसाधारणको निक्षेप संकलन गरी जनविश्वासमा आधारित बैंकको कर्जा असुली गराउने कार्यका कारण बैंकका कार्यकारी अधिकृत पक्राउ परेकोले बैंकिङ क्षेत्रको साखमा नकारात्मक असर पर्ने सम्भावना रहेको स्पष्ट पारेको छ।

‘यसका साथै बैंकिङ्ग क्षेत्रबाट कर्जा प्रवाहसम्बन्धी निर्णय क्षमतामा पनि प्रभाव पर्ने र लगानीमा संकुचन आऊँदा देशको समग्र आर्थिक प्रणालीमा समेत नकारात्मक प्रभाव पर्ने देखिन्छ,’ ध्यानाकर्षणपत्रमा उल्लेख छ।

सरकारले प्रारम्भिक अनुसन्धान गर्नु अघि उद्योगी व्यवसायीलाई पक्राउ गर्ने र मिडिया ट्रायल गर्ने जस्ता कदमले सम्बन्धित व्यवसायीहरूको मान–प्रतिष्ठामा समेत असर पुग्ने महासंघले जनाएको छ।

‘यस्ता अनुसन्धान गोप्य रूपमा गर्न र उद्योगी व्यवसायीमाथि देवानी दायित्व सिर्जना हुने मुद्दाको छानविन तथा अभियोजन सोही अनुरूप गर्न महासंघ आग्रह गर्दछ,’ पत्रमा थप भनिएको छ।

नेपालको संविधानले दिएको सम्मानपूर्वक जीवन विताउने अधिकार तथा अभियोग प्रमाणित नभएसम्म कसुर लाग्ने नहुने व्यवस्था स्मरण गराउँदै महासंघले सरकारले यस विषयमा गम्भीर भएर काम गर्न आग्रह गरेको छ।