Skip to main content

इतिहास, संस्कृति र पर्यटनको मेलमिलापको स्थल

२ जेठ, तेह्रथुम । प्रकृतिलाई पूजा गर्ने र ढुंगालाई ऐतिहासिक प्रतीक मानेर स्थापित लिम्बु सभ्यता। यहाँको मौलिकता, संस्कृति र इतिहासलाई नयाँ पुस्तासम्म संरक्षण गर्ने उदेश्यले तेह्रथुमको लालीगुराँस नगरपालिकाले निर्माण गरेको ‘चो?लुङ पार्क’ अहिले पूर्वी नेपालको एक चर्चित सांस्कृतिक र पर्यटकीय गन्तव्य बनेको छ। ढुंगादेखि बनाइएको यो पार्क अहिले केवल घुम्ने स्थान मात्रै नभई लिम्बु समुदायको इतिहास, जीवनशैली र सभ्यताको जीवित संग्रहालयको रूपमा स्थापित हुँदै गएको छ। सामाजिक सञ्जालमा पार्कका तस्बिर र भिडियोहरू भाइरल भएपछि यहाँ दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरू आउन थालेका छन्। पार्कमा आउने पर्यटक संख्या बढेका कारण यो नगरपालिकाको महत्वपूर्ण आम्दानीको स्रोत समेत बनेको छ।

लिम्बु समुदाय प्रकृति पूजक संस्कृतिका मानिसका रूपमा परिचित छन्। जंगल, नदी, माटो र ढुंगासँग उनीहरूको जीवन घनिष्ट रूपमा जोडिएको छ। विशेषगरी ‘लुङ’ अर्थात् ढुंगा लिम्बु सभ्यताको महत्वपूर्ण प्रतीक मानिन्छ। जन्मदेखि मृत्यु सम्मका संस्कारमा ढुंगा गाड्ने परम्परा लिम्बु समाजमा प्राचीनकालदेखि विद्यमान छ। नवजात शिशुको जन्म, विवाह, कुलपूजा, न्याय–न्यायालय तथा अन्त्यसंस्कारमा ढुंगाको प्रयोग हुन्छ। यही मौलिक सभ्यतालाई संरक्षण गर्दै नयाँ पुस्तालाई परिचित गराउने उदेश्यले चो?लुङ पार्क निर्माण गरिएको हो। ‘चो?लुङ’ लिम्बुभाषाको शब्द हो; ‘चो’ को अर्थ लक्ष्य र ‘लुङ’ को अर्थ ढुंगा हो। यसको अर्थ ‘चो?लुङ’ भनेको लक्ष्य प्राप्तिको प्रतीकात्मक ढुंगा हो।

पार्कमा प्रवेश गर्ने बित्तिकै विभिन्न आकारका अग्ला–अग्ला ढुंगाका स्तम्भहरूले आगन्तुकहरूलाई स्वागत गर्छन्। ती ढुंगाहरू केवल सजावटका सामग्री मात्र नभई लिम्बु सभ्यताको मौन इतिहास हुन्। पार्कका विभिन्न भागमा गाडिएका ढुंगाका स्तम्भहरूले प्राचीन लिम्बु समाजको सामाजिक संरचना, न्याय प्रणाली र सांस्कृतिक अभ्यासहरू प्रकट गर्दछन्। कुनै समयमा गाउँमा विवाद समाधान, सामाजिक निर्णय वा सम्झौता हुँदा ढुंगा गाड्ने परम्परा रहेको स्थानीय बुढापाकाहरूले बताएका छन्। अर्जुन माबोहाङका अनुसार, लिम्बु समुदायको ऐतिहासिक पहिचान हराउँदै गएपछि पार्क निर्माण गर्ने अवधारणा अघि अन्तर्गत आएको हो। उनले भने, ‘अहिलेको जीवन पद्धति, न्याय–न्यायालय र सामाजिक संरचनालाई ढुंगामार्फत अभिव्यक्त गर्ने परम्परा हराउँदै गयो। त्यसलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने उदेश्यले पार्क निर्माण गरिएको हो। अहिले यो पार्क नगरपालिकाको आम्दानीको उत्कृष्ट स्रोत बनेको छ।’

नगरपालिकाका अनुसार, पार्क अवलोकनका लागि आउने पर्यटकले तिरेको टिकट शुल्कबाट सरकारले आम्दानी शुरू गरेको छ। यसले पार्कलाई सांस्कृतिक केन्द्र मात्र होइन, स्थानीय अर्थतन्त्रसँग जोडिएको परियोजनाका रूपमा समेत स्थापित गरेको छ। पछिल्लो समय तेह्रथुम, धनकुटा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी लगायत जिल्लाहरूका साथै भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट पनि पर्यटकहरू आउने गरेका छन्। मिक्लाजुङ गाउँपालिका बाट भ्रमणका लागि आएका उपाध्यक्ष सन्तोष सेर्मा लिम्बुले सामाजिक सञ्जालमा मात्र देखेको पार्क प्रत्यक्ष हेर्दा फरक अनुभव भएको बताए। उनले भने, ‘यहाँ आएपछि बुझियो यो केवल पार्क मात्रै नभई एउटा जीवित इतिहास रहेछ। लिम्बु सभ्यता बुझ्न चाहनेहरूका लागि यो उत्कृष्ट स्थल भएको छ।’