Skip to main content

पूर्वी क्षेत्रमा राउटे समुदायको पहिलो प्रदर्शनी, हेर्न २०० रुपैयाँ शुल्क लाग्ने

मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित निसेलुङ पार्कमा राउटे समुदायका १९ सदस्यलाई टहरा बनाइ राखिएको छ। याक्थुङ भिलेजले राउटे समुदायलाई हेर्न प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकेको छ, जुन व्यवस्थापन खर्चमा प्रयोग हुने बताइएको छ। राउटे समुदायको गोपनीयता हनन र मानवीय संवेदनामा खेलवाड भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। ४ जेठ, विराटनगर।

मिक्लाजुङमा राउटेका लागि बनाइएको टहरासम्म पुगेर व्यक्तिगत गोपनीयताको प्रश्न पनि सोधिरहेको देखिन्छ। कर्णाली प्रदेशका जंगलमा फिरन्ते जीवन बिताइरहेका राउटेहरू यसअघि चितवनसम्म पुगेका थिए। राउटे समुदायलाई याक्थुङ भिलेजले राउटेको क्षेत्रमा काम गर्दै आएको संस्था सोसेक नेपालको सहकार्यमा पूर्वी भागमा ल्याइएको हो। त्यहाँ ८ महिला र ११ पुरुष छन्। उनीहरूलाई बस्नका लागि टहरा बनाइएको छ।

पूर्वी क्षेत्र ल्याइएका राउटे समुदायलाई हेर्नका लागि याक्थुङ भिलेजले प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकेको छ। यसअघि सो स्थान प्रवेशका लागि १०० रुपैयाँ शुल्क तोकिएको थियो। राउटे ल्याइएपछि १०० रुपैयाँ थप गरिएको याक्थुङ भिलेजका सञ्चालक अशोक चेम्जोङले बताए। सो शुल्क राउटेहरूको व्यवस्थापन, आवतजावत र बसोबास खर्चका लागि प्रयोग गरिने उनले बताए।

राउटेहरूको आगमनले मिक्लाजुङको पहाडी क्षेत्रमा आर्थिक चहलपहल बढाएको छ। आयोजकका अनुसार दैनिक ४ देखि ५ हजार मानिस मेला हेर्न पुग्ने गरेका छन्। मिक्लाजुङको रमिते र धोबेनी क्षेत्रका होटल र पसलहरूमा दैनिक लाखौँको कारोबार भइरहेको छ। राउटेहरूले आफूले बनाएका काठका सामग्रीहरू बिक्री गरी पनि अतिरिक्त आम्दानी गरिरहेका छन्।