
यो अलि ‘झ्यारझ्यार’ सुनिन्छ। तर मेरब अब्दुल्लाहजादेको आवाज स्पष्ट छ र जुन परिस्थितिमा उनले बोलेका छन्, त्यस हिसाबमा अचम्म गरी धीर छ। उनी पश्चिमी इरानमा मृत्युदण्डको पर्खाइमा छन्। उनी छिटोछिटो बोल्छन्, लाग्छ अब उनीसँग धेरै समय छैन। अनि उनले अति आवश्यक सन्देश दिन खोजेका छन्।”तपाईँले मेरो आवाज अरोमिये केन्द्रीय कारागारबाट सुनिरहनुभएको छ र यो मेरो आवाज सुन्ने अन्तिम पटक पनि हुन सक्छ,” कुर्दिस मानव अधिकार सञ्जालले प्राप्त गरेको भ्वाइस नोटमा उनले बताएका छन्।”मेरो पक्राउको पहिलो दिनदेखि नै उनीहरूले मलाई यातना र धम्की दिएका थिए र झुटा आरोपहरू स्वीकार गर्न बाध्य बनाए। म माथि लगाइएका कुनै पनि आरोप सत्य होइनन्। यो कुरा उनीहरूलाई र ईश्वरलाई थाहा छ। म निर्दोष छु।”मेरब सन् २०२२ मा पक्राउ परेका थिए। राम्रोसँग हिजाब नलगाएको आरोपमा पक्राउ परेकी युवती महसा अमिनीको प्रहरीले हिरासतमा मृत्यु भएपछि सुरु भएको राष्ट्रव्यापी प्रदर्शनका क्रममा मेरब पक्राउ परेका थिए। उनीमाथि इरानको बासिज मिलिशिया फौजका एक सदस्यको हत्यामा संलग्न भएको आरोप लगाइएको छ। ४२ हप्तासम्म त्रासपूर्ण रातहरू बिताएपछि यसै महिनाको शुरुमा उनलाई मृत्युदण्ड दिइएको हो। इरानमा बढ्दो राजनीतिक र सुरक्षासम्बन्धी अभियोगमा मानिसहरूलाई मृत्युदण्ड दिने क्रममा उनी पनि थपिएका छन्।
व्यापक वृद्धिगएको फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण सुरु गरेयता मात्र ३२ जना राजनीतिक बन्दीलाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा मृत्युदण्डमा व्यापक वृद्धि भएको देखाउँछ। एम्नेस्टी इन्टरनेशनलका अनुसार सन् २०२५ मा राजनीतिक अभियोगमा ४५ जनालाई मृत्युदण्ड दिइएको थियो। संयुक्त राष्ट्रसंघीय मानवाधिकार कार्यालयले मानिसहरूको राजनीतिक आवाज दबाउन मृत्युदण्डको प्रयोग बढ्दो रहेको चेतावनी दिएको छ। यस वर्ष मारिएकामध्ये धेरैलाई इजरायली वा अमेरिकी गुप्तचर निकाय सीआईएको लागि सुराकी गरेको आरोप थियो। बाँकी केही विपक्षी समूहमा आबद्ध भएको आरोपमा पक्राउ परेका थिए। त्यसमध्ये १४ जना गत जनवरीमा भएको विरोध प्रदर्शनमा सहभागी भएकाले पक्राउ परेका थिए। उक्त प्रदर्शन दबाउने प्रयासमा राज्यले चरम बल प्रयोग गर्दा हजारौंले ज्यान गुमाएका थिए।”इरानमा प्रशासनले झुन्ड्याएर मृत्युदण्ड लागू गर्छ। उनीहरूले त्यो काम बिहानै पुरा गर्न सक्छन्,” एम्नेस्टी इन्टरनेशनलकी नशीम पापायानी भन्छिन्। “इरानमा मानिसहरू प्रत्येक दिन मृत्युदण्डको समाचार सुन्न बाध्य छन्।”

