Skip to main content

क्यान्सरको जीवनरक्षक औषधिको अभावले बिरामीहरूको अवस्था जटिल हुँदै

देशभरका अस्पतालहरूमा क्यान्सर उपचारका लागि अनिवार्य औषधि कार्बोप्लाटिन र सिस्प्लाटिनको अभावले उपचार सेवा प्रभावित भएको छ। औषधि आयातमा सरकारी मूल्य नियन्त्रण नीति र कच्चा पदार्थको मूल्य वृद्धिका कारण समस्या देखिएको औषधि आयातकर्ताले बताएका छन्। स्वास्थ्य मन्त्रालयमा औषधि अभाव समाधानका लागि छलफल भइरहेको र मूल्य समायोजनका लागि पहल भइरहेको विभागले जानकारी दिएको छ। ८ वैशाख, काठमाडौं।

क्यान्सर उपचारमा आवश्यक पर्ने जीवनरक्षक औषधिको अभावले देशभरका अस्पतालहरूमा उपचार सेवा प्रभावित भएको छ। किमोथेरापीमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ औषधिको अभाव हुँदा बिरामीहरूले गम्भीर समस्याहरू भोग्नुपरेको चिकित्सकहरूले बताएका छन्। वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्धा चापागाईंले यी औषधिको अभावले क्यान्सरका बिरामीहरूको जीवन संकटमा परेको बताएकी छन्।

सिस्प्लाटिन र कार्बोप्लाटिन अधिकांश क्यान्सरका प्रकारमा अनिवार्य रूपमा प्रयोग हुने किमोथेरापी औषधि हुन्। यी औषधि नेपालमा उत्पादन नहुँदा पूर्ण रूपमा विदेशबाट आयात गरिन्छ। डा. चापागाईंले भनिन्, ‘यी औषधि सबै प्रकारका क्यान्सर उपचारमा आवश्यक छन् र यसको कुनै विकल्प छैन। क्यान्सर निको पार्न गरिने उपचारमा यी औषधि जीवनरक्षक हुन्।’ वीर अस्पतालमा दैनिक ४५ जना बिरामीलाई यी औषधि आवश्यक पर्छ, तर नियमित उपलब्ध नहुँदा क्यान्सर रोग तीव्र रूपमा फैलिने खतरा बढेको चिकित्सकहरूले जनाएका छन्।

अवस्थाको जटिलता बढ्दै गएको भन्दै पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले पनि किमोथेरापीमा अत्यधिक प्रयोग हुने यी औषधिको आपूर्तिमा समस्या हुँदा बिरामीहरूको अवस्था जटिल बन्दै गएको बताएका छन्। डा. शाही भन्छन्, ‘क्यान्सरका करिब ६० प्रतिशतभन्दा बढी बिरामीलाई यी औषधि आवश्यक पर्छ। अस्पतालमा दुई सातादेखि कार्बोप्लाटिन र सिस्प्लाटिनको अभाव छ।’