Skip to main content
Advertisement1200×100-inside-1
नगद बोक्नु नपर्ने स्मार्ट सार्वजनिक यातायात – Online Khabar

नेपालमा डिजिटल युगको सुरुवातः नगद बोक्न नपर्ने स्मार्ट सार्वजनिक यातायात प्रणालीको आवश्यकता

नेपालको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, सुरक्षित र पारदर्शी बनाउन डिजिटल प्रणाली अपनाउनु अनिवार्य हुँदै गएको छ। स्मार्ट कार्ड, क्युआर कोड, जीपीएस ट्र्याकिङ र एटीएम मेसिनले यातायात व्यवस्थापन प्रविधिमैत्री बनाउनेछन्। यसले व्यवसायीलाई आम्दानीको स्पष्ट तथ्याङ्क उपलब्ध गराउने र यात्रु तथा श्रमिकलाई सुविधा र सम्मान प्रदान गर्नेछ। नेपालको सार्वजनिक यातायात केवल यात्रु ओसारपसारको माध्यम मात्र नभई देशको आर्थिक, सामाजिक, शैक्षिक र राष्ट्रिय विकासको मेरुदण्ड हो।

तर दशकौँदेखि सार्वजनिक यातायात प्रणाली विभिन्न समस्यामा फसेको छ। नगदमा आधारित भाडा प्रणाली, टिकटिङ व्यवस्थामा कमजोरी, सहचालक र यात्रुबीच दैनिक विवाद, आम्दानीमा अस्पष्टता, व्यवसायीहरूको आर्थिक असुरक्षा, चालक तथा सहचालकको अस्थिर श्रम वातावरण, यात्रु सुरक्षाको अभाव र प्रविधिमैत्री व्यवस्थापनको अभावले सार्वजनिक यातायातलाई आधुनिक युगमा पनि परम्परागत संरचनाभित्र सीमित बनाएको छ।

Advertisement1200×100-inside-1

डिजिटल सार्वजनिक यातायात प्रणाली प्रभावकारी विकल्पको रूपमा अगाडि आएको छ। स्मार्ट कार्ड, नगद रहित भुक्तानी, क्युआर कोड, जीपीएस ट्र्याकिङ, एटीएम (इलेक्ट्रोनिक टिकट मेसिन) र रियल टाइम डेटा व्यवस्थापन प्रणालीले नेपाली यातायातलाई नयाँ युगमा लैजान सक्छ। यात्रुले स्मार्ट कार्ड वा मोबाइल वालेटबाट केही सेकेन्डमै भाडा तिर्न सक्नेछन् जसले यात्रु र सहचालकबीच विवाद घटाउने मात्र होइन, भाडा प्रणालीलाई पूर्ण पारदर्शी बनाउँछ।

डिजिटल प्रणाली लागू भएपछि पारदर्शी आम्दानीकै आधारमा व्यवस्थित तलब प्रणाली पनि लागू गर्न सकिन्छ। श्रमिकको सामाजिक सुरक्षा, बीमा र बैंकिङ पहुँच सहज हुनेछ। यात्रुको लागि डिजिटल सार्वजनिक यातायत अझ प्रभावकारी बन्नेछ। छिटो भाडा भुक्तानी, सुरक्षित टिकटिङ, पारदर्शी भाडा दर र डिजिटल सुविधा नै यात्रुको मुख्य लाभ हो। सरकार, निजी क्षेत्र, बैंकिङ संस्था, प्रविधि कम्पनी र यातायात व्यवसायीबीच सहकार्यले नेपाल छिट्टै सुरक्षित, पारदर्शी र पूर्ण डिजिटल सार्वजनिक यातायात प्रणाली स्थापना गर्न सक्नेछ।