
एनभिडियाको दबदबा केवल व्यापारिक सफलता मात्र नभई सम्पूर्ण प्रणालीको एकाधिकार (इकोसिस्टम मोनोपोली) हो, जसबाट गुगल र मेटा जस्ता विशाल कम्पनीहरू समेत जटिल जालबाट बाहिर निस्कन संघर्ष गरिरहेका छन्। प्रविधि बजारमा एउटा रहस्यमय भनाइ छ- एनभिडिया वस्तुतः कुनै चिप निर्माण कम्पनी नभएर सफ्टवेयर कम्पनी हो जसले संसारलाई आफ्नो जालमा फसाउन हार्डवेयरको भ्रम फैलाइरहेको छ। अबको मुख्य प्रश्न तपाईँको सामु छ: के हामी यस खेलका मात्र दर्शक रहन्छौं या खेलाडी? खेल भर्खरै सुरु भएको छ!
स्पेसएक्सका एलन मस्क, एप्पलका टिम कुक र एनभिडियाका जेन्सेन ह्वाङ जस्ता सिलिकन भ्यालीका प्रमुखहरूलाई विशेष ‘एअरफोर्स वान’ विमानमा राखेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा ‘हाई-स्टेक’ वार्ता गरेका थिए, जसले विश्वका कूटनीतिज्ञहरूलाई स्तब्ध बनायो। सतहमा यो व्यवसायिक भ्रमण जस्तो देखिए पनि भित्री रूपमा यो विश्वका शक्तिशाली नेताहरूको प्रतिस्पर्धा थियो। यसले एक कुरा स्पष्ट पार्यो- अहिलेको विश्वव्यापी प्रमुख चासो ट्याङ्कर वा ब्यालेस्टिक मिसाइल होइन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र त्यसलाई चलाउने सानो सिलिकन टुक्रा, अर्थात् ‘माइक्रोचिप’ हो। यी साना चिपहरूले हरेक देशको घरदेखि बैंकिङ प्रणालीसम्म नियन्त्रण गर्दछन्।
हामीले चलाउने च्याटजीपीटी, गुगलको जेमिनीजस्ता एआईका लागि विश्वकै सबैभन्दा ठूला प्रविधि कम्पनीहरू (गुगल, माइक्रोसफ्ट, मेटा, अमेजन आदि) एउटै कम्पनी एनभिडियाको ढोकामा लाइन लागेका छन्। एनभिडिया विश्वबजारमा अत्याधुनिक एआई चिप्सको लगभग ९०% हिस्सा एक्लै नियन्त्रण गर्छ। हार्डवेयर निर्माणमा एनभिडियासँग प्रतिस्पर्धा गर्न सक्ने एएमडी र इन्टेल जस्ता पुराना कम्पनीहरू हुँदाहुँदै पनि किन विश्वका धनाढ्यहरू एनभिडियाका चिप खरीद गर्न आतुर छन्? किन अन्य कम्पनीहरूले एनभिडियाको विकल्प विकास गर्न सकेका छैनन्? यस लेखमा हामीले हाम्रो रोजगारीतर्फका उदाहरणहरूसहित विश्वव्यापी प्रविधि बजारको यो जटिल खेल स्पष्ट पार्ने प्रयास गरेका छौं।

