Skip to main content

गाजा पुनर्निर्माणका लागि अमेरिकाद्वारा २ अर्ब ४५ करोड डलरको योजना सार्वजनिक

संयुक्त राष्ट्रसङ्घको महासभा सत्रको साइडलाइनमा बसेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को बैठकले गाजाको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड अमेरिकी डलरको अल्पकालीन योजना घोषणा गरेको छ। यो रकम आगामी छ महिनाभित्र आवास, डिजेल, बिजुली उत्पादन र फोहोर व्यवस्थापनसहित ६६ वटा विभिन्न कार्यक्रमहरूमा खर्च गरिने जनाइएको छ। यद्यपि, गाजाको पूर्ण पुनर्निर्माण र दिगो सुधारका लागि आगामी एक दशकमा करिब ७१ अर्ब ४० करोड डलर आवश्यक पर्ने बोर्डको आकलन छ। हालसम्म १८ अर्ब डलर सहयोगको प्रतिबद्धता आए पनि मात्र २८ करोड डलर मात्र हस्तान्तरण भएकोले ठूलो रकमको अभाव रहेको बोर्डले स्वीकार गरेको छ।
गाजा कार्यकारी बोर्डका सदस्य ज्यारेड कुस्नरले विविध कारणले आयोजनामा केही ढिलाइ भएको स्वीकार्दै भने, ‘आजको मुख्य उद्देश्य हामी यो काममा पूर्ण रूपमा प्रतिबद्ध छौँ भनेर देखाउनु हो।’ बैठकमा सहभागी अमेरिकी दूत स्टिभ विट्कफले गत वर्षको तुलनामा उल्लेख्य प्रगति भएको दाबी गरे। उनले भने, ‘सबै बन्धकहरू घर फर्किसकेका छन्। युद्धविराम अपूर्ण भए पनि अझै कायम छ। मानवीय सहायता प्रयासहरूले ऐतिहासिक नतिजा हासिल गरेका छन्।’
सुरक्षा, बम निष्क्रियकरण र सुरुङ ध्वस्त पार्ने चुनौती पुनर्निर्माण योजनाका अगाडि सहायता रकम जुटाउनुका साथै गाजामा खटिने कर्मचारीहरूको सुरक्षा, आन्तरिक शासन प्रणालीमा सुधार र इजरायली तथा प्यालेस्टाइनी अधिकारीहरूबीच सहमति जुटाउने ठूला चुनौतीहरू अझै कायम छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार आयोजित छुट्टै पत्रकार सम्मेलनमा धेरै देशहरूले वित्तीय सहयोग प्रतिबद्धता जनाएको र थप देशहरूलाई यसमा सहभागी गराउने प्रयास भइरहेको बताए। यस्तै, बोर्ड अफ पिसका इजरायली–अमेरिकी सदस्य माइकल आइजनबर्गले पुनर्निर्माण अघिका चरणबारे स्पष्ट पारे। ‘गाजा अझै युद्ध क्षेत्र भएकाले पहिले विष्फोट नभएका बमहरू हटाउनु आवश्यक छ,’ उनले भने, ‘गाजामुनि रहेका सयौँ किलोमिटर लामा सुरुङहरू ध्वस्त पार्नुपर्छ। त्यसपछि मात्र गाजावासीहरूले आवास, सरसफाई र अन्य संरचनाको पुनर्निर्माण सुरु गर्न सक्नेछन्.’
बैठकमा बेलायतका पूर्वप्रधानमन्त्री तथा बोर्ड सदस्य टोनी ब्लेयरले भने, ‘हामीमाथि रहेको जिम्मेवारी अत्यन्तै ठूलो छ।’ युद्धविराम र राजनीतिक खिचातानी गत वर्षको सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सार्वजनिक गरेको २० बुँदे गाजा शान्ति योजनाअन्तर्गत ‘बोर्ड अफ पिस’ गठन गरिएको थियो। यस सम्झौताअन्तर्गत हमासले बाँकी रहेका सबै ४८ जना बन्धकहरूलाई मुक्त गर्न र गाजाको शासन प्यालेस्टिनी टेक्नोक्र्याटहरूलाई हस्तान्तरण गर्न सहमति जनाएको थियो। गत जुलाईमा हमासले इजरायलले सबै प्रकारका आक्रमण बन्द गरेर आफ्ना सेना फिर्ता बोलाएमा हतियार बिसाउने (निसस्त्रीकरण) योजना स्वीकार गरेको थियो। तर इजरायली प्रधानमन्त्री नेतान्याहुले हमास पूर्ण रूपमा निसस्त्र नभएसम्म इजरायली सेना गाजामै रहने भन्दै सो प्रस्ताव अस्वीकार गरेका थिए। अमेरिकी मध्यस्थतामा आएको युद्धविराम लागू भएयता पनि इजरायली आक्रमणमा एक हजार बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा ३०० जना बालबालिका रहेका छन्। इजराइली सेनाका अनुसार सोही अवधिमा उनका ५ जना सैनिक र १ जना ठेकेदारको ज्यान गएको छ। गत अगस्टमा बोर्ड अफ पिसका वरिष्ठ अधिकारी निकोले म्लादेनोभले इजरायलको निरन्तर हवाई आक्रमण र हमासका गतिविधिको आलोचना गर्दै युद्धविराम भत्किनुलाई यो क्षेत्रका लागि ‘फर्कन नसकिने बिन्दु’ हुने चेतावनी दिएका थिए। सुरुमा गाजामा शान्ति कायम गर्ने उद्देश्यले गठन गरिएको ‘बोर्ड अफ पिस’ले पछि आफ्नो कार्यक्षेत्र विस्तार गर्दै विश्वका अन्य द्वन्द्वहरूमा पनि काम गर्न थालेको छ।