Skip to main content

घातक ढुसी र परजीवीका कारण र्याटल स्नेक संकटमा

अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रका जङ्गली सर्पहरू कडा किसिमको ढुसी (फङ्गस) र परजीवी सङ्क्रमणको कारण गम्भीर संकटमा परिरहेका छन्। ‘फ्रन्टियर्स इन भेटेरिनरी साइन्स’ जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार त्यहाँका रैथाने सर्पहरू एकै पटक धेरै रोगबाट सङ्क्रमित भइरहेका छन्। विशेषत: ‘ओफिडिओमाइकोसिस’ नामक घातक ढुसी जन्य रोग सर्पहरूको लागि ठूलो चुनौती बनेको छ।

वैज्ञानिकहरूले दक्षिण–पूर्वी अमेरिकाका विविध आरक्षण क्षेत्रहरूबाट २९ प्रजातिका ५०० भन्दा बढी जङ्गली सर्पहरूको नमुना सङ्कलन गरी परीक्षण गरेका थिए। युनिभर्सिटी अफ जर्जियाकी अनुसन्धानकर्ता डा. कोरिना मिसिनका अनुसार परीक्षण गरिएका सर्पमध्ये ८० प्रतिशतभन्दा बढीमा रोगको सङ्क्रमण पुष्टि भएको छ। यस क्षेत्रमा ‘पिग्मी र्याटलस्नेक’ प्रजाति सबैभन्दा बढी प्रभावित देखिएको छ।

पिग्मी र्याटलस्नेकमा घातक ढुसी र फोक्सोमा लाग्ने ‘स्नेक लङवोर्म’ नामक परजीवी दुवै पाइएका छन्। अनुसन्धानमा ४४ प्रतिशत सर्पहरू एकै पटक दुई वा सोभन्दा बढी रोगजनक कीटाणुबाट सङ्क्रामित देखिएका छन्। ६३ प्रतिशतमा ‘साल्मोनेला’ ब्याक्टेरिया र ५३ प्रतिशतमा सङ्क्रामक परजीवी भेटिएको छ। साथै, १८ प्रतिशत सर्पमा एन्टिबायोटिक औषधिले समेत उपचार नहुने ‘माइकोप्लाज्मा’ नामक ब्याक्टेरियाको सङ्क्रमण देखिएको छ, जसले सर्पको श्वासप्रश्वास प्रणालीमा प्रभाव पार्दछ।

अमेरिकाका जङ्गली सर्पहरूमा यस्तो ब्याक्टेरिया भेटिनु यो पहिलो पटक हो। वैज्ञानिकहरूले एक रोगले गर्दा सर्पको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु र त्यसपछि अन्य रोगहरूले सजिलै आक्रमण गर्नु स्वाभाविक भएको बताएका छन्। पिग्मी र्याटलस्नेक मुख्यतया छेपारो र भ्यागुता आहारमा लिन्छ, जसले फोक्सोमा परजीवी सङ्क्रमण बढाउने जोखिम उत्पन्न गरेको हो। अमेरिकामा रैथाने सर्पहरूको वासस्थल विनाश भइरहेका बेला फैलिएको यो आन्तरिक स्वास्थ्य संकटले उनीहरूलाई लोप हुने अवस्थामा पुर्‍याउन सक्ने भन्दै वन्यजन्तु संरक्षणकर्ता चिन्तित छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ