Skip to main content

रवि लामिछानेको भारत भ्रमणमा बालेन शाह नेतृत्वको सरकारका नीतिहरूमा उठ्न सक्ने प्रश्नहरू

अर्को साता भारत भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्वागत गर्न दिल्लीले कुनै कसर बाँकी नराख्ने भारतीय विश्लेषकहरूले बताएका छन्। उनीहरूले भनेका छन् कि वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले अङ्गीकार गरेका कतिपय नीतिबारे भारतले लामिछानेलाई सोधपुछ गर्नसक्नेछ। शाह नेतृत्वको सरकार गठन भएयता नयाँ दिल्लीबाट निम्तो पाउने सत्ताधारी दलका पहिलो उच्चस्तरीय नेता लामिछाने नै हुन्। गएको वर्षको भदौमा भएको जेन जी आन्दोलनपछि सम्पन्न चुनावमा रास्वपाले प्रतिनिधिसभाको झन्डै दुईतिहाइ बहुमत हासिल गरेको छ।

प्रधानमन्त्री शाहले कूटनीतिक भेटवार्तालाई सीमित बनाउनुभएको र विदेश सम्बन्धमा खासै स्पष्ट धारणा सार्वजनिक नगरेकाले नयाँ दिल्लीले सत्ताधारी दलका नेताबाट नयाँ सरकारको नीतिबारे थप स्पष्टता खोज्ने एक भारतीय विश्लेषकले बताएका छन्। एक नेपाली विज्ञले पनि नयाँ दिल्लीमा उच्चस्तरको भेटवार्ता हुने देखिएपनि रवि लामिछानेले ‘सावधानीपूर्वक’ ढङ्गले भारतीय पक्षसँग कुरा राख्ने अपेक्षा व्यक्त गरेका छन्।

भारतको सत्ताधारी दल बीजेपीको निम्तोमा यो भ्रमण हुन लागेको हो। दिल्ली पुगेपछि पार्टी सभापति लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशङ्करसहितका अधिकारीसँग छलफल गर्ने जनाइएको छ। रास्वपाका नेताहरूले सभापति लामिछानेको भ्रमण दलमा उनीनिकट दुई नेताहरू—सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपकराज बोहरा रहने उल्लेख गरेका छन्।

भारतीय सेनाका अवकाशप्राप्त जर्नेल अशोक मेहता रास्वपा नेताले नयाँ दिल्लीमा न्यानो स्वागत पाउने विश्वास राख्छन् र भारतको सत्ताधारी दल तथा उच्चपदस्थ अधिकारीहरू उनीसँग सबै विषयमा छलफल गर्न तयार हुने ठान्छन्। उनले भने, “उनले चाहेको खण्डमा लिपुलेकको विषयमा समेत भ्रमणमा छलफल हुन सक्छ। तर त्यसबारे बाहिर विवरण सार्वजनिक नहुन सक्ने सम्भावना छ। लामिछाने नयाँ सरकारलाई भारतको पूर्ण सहयोग रहने सन्देश लिएर फर्कने छन्।”