Skip to main content

अध्यादेशमार्फत कांग्रेस र एमालेबीच हिस्साबन्दी पूरा

१४ जेठ, विराटनगर। कोशी प्रदेश सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरी ८ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीहरू नियुक्त गरेको छ। ऐन संशोधन गर्दै सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीचको भागबन्डाका आधारमा बोर्डका पदाधिकारी तथा सदस्यहरू तोकिएका हुन्। तत्कालीन सदस्यसचिव पर्शुराम बस्नेतको पदावधि सकिएपछि बोर्ड नेतृत्वविहीन हुँदा प्रदेशका खेलकुद गतिविधिहरू सुस्त बनेका थिए।
बुधबार राति सामाजिक विकास मन्त्री रामप्रसाद महतोले बोर्डमा दुई उपाध्यक्ष र सदस्यसचिवसहित ११ जना सदस्य नियुक्त गरे। नियुक्तिमा एक जना उपाध्यक्ष, सदस्यसचिव र पाँच जना सदस्य एमालेबाट नियुक्त भएका छन्। कांग्रेसबाट उपाध्यक्षसहित ६ जना नियुक्त भएका छन्।
दुई दलबीच हिस्साबन्दीका लागि ३० वैशाखमा प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश–२०८१ जारी गरिएको थियो। ऐनमा उपाध्यक्ष र सदस्यसचिवसहित सदस्य संख्या १५ जनाको व्यवस्था थियो। अध्यादेशमार्फत संशोधन गरी एक जना उपाध्यक्ष थपिएको र सदस्य संख्या २५ पु¥याइएको थियो। बोर्ड सदस्य सचिवमा एमालेको कोटाबाट इनरुवाका विप्लव घोष नियुक्त भएका छन्। महिला उपाध्यक्षमा एमाले नेतृ विराटनगरकी सन्तोषी श्रेष्ठ नियुक्त भएकी छिन्। पुरुष उपाध्यक्ष भने नेपाली कांग्रेसको हिस्सामा परेको छ। कांग्रेसबाट पूर्वखेलाडी वसन्त अर्याल उपाध्यक्ष बनेका छन्। बोर्ड सदस्यमा विराटनगरकी बीना बस्नेत, केशव भट्टराई, किशोरविक्रम साह, टीकाराम पुरी, दुर्गा कठायत र बालजित राई नियुक्त भएका छन्। पदाधिकारी तथा सदस्यहरूको कार्यकाल ४ वर्षको हुनेछ।